देउवाको उदासिनता रहस्यमय छ : पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता रहस्यमय भएको टिप्पणी गरेका छन् । पोखरामा मंगलवार प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले अहिलेको राजनीतिक अवस्थामा कांग्रेस नेतृत्व अनिर्णय र ढुलमुले अवस्थामा रहन नहुने समेत बताए ।

‘अब कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्छ,’ उनले भने । नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई खेलमैदानको रूपमा प्रयोग गर्न खोजिएको दाबी गरे ।

लोकतन्त्र र संविधानको रक्षाका लागि अधिनायकवादसँग लड्नुपरेको उनले बताए । उनले केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ धकेलेर नेपालको राजनीतिक अनिर्णयको बन्दी बनेको समेत बताए ।

लोकतन्त्र अभावमा म्यानमारमा मानवताविरुद्ध भएको सैनिक दमन भएको र सोको क्रियाकलापको सर्वत्र विरोध गर्नुपर्ने नेता पौडेलले बताए ।

कार्यक्रममा प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसादरमायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको छ । पुरस्कार राशि २५ हजार ५५५ र सम्मानपत्र छ ।

प्रतिक्रिया