बागलुङको मनकामना मन्दिरबाट तीन लाखको सामग्री चोरी

बलेवा । बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए ।

मन्दिरको ढोका अगाडि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताए । उनका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ ।

पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ । आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिए ।

शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ । चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ । चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया