कांग्रेसद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध फेरि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय भन्दा पनि कांग्रेसले निर्वाचन क्षेत्रलाई लक्षित गर्दै कार्यक्रम घोषणा गरेको हो । यसअघि संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म चरणबद्ध प्रर्दशन गरेको काँग्रेसले फेरि तीन चरणको विरोधसभा आयोजना गर्ने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृसंस्थाले ७७ वटै जिल्लामा प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको छ । त्यस्तै माघ २४ गते शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम गर्ने भएको छ भने ३० गते सबै जिल्ला कार्यसमितिले आआफ्नो जिल्लामा विरोधसभा गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पुस ५ गते संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आएको छ । मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन केही ढिलाई भएको थियो । सभापति शेरबहादुर देउवा बैठकबाट लिने निर्णयका विषयमा साझा धारणा बनाएर मात्रै बैठक सुरु गर्न चाहन्थे । बैठकअघि देउवाले आफ्ना निकटस्थसंग छलफल गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छुट्टै छलफलमा जुट्यो । दुवै पक्षको छलफलपछि सभापति देउवाको चेम्बरमा भएको छलफलमा आन्दोलनका कार्यक्रम निरन्तर राख्ने र महाधिवेशनको तयारीलाई पनि तीव्रता दिने सहमति बन्यो ।

सहमतिपछि सुरु भएको केन्द्रीय समितिको बैठकको प्रारम्भमै सभापति देउवाले पार्टीको बैठकबाट लिनुपर्ने निर्णयहरु प्रस्तुत गर्न महामन्त्री पूर्णबहादुर खड्कालाई समय दिए । खड्काले माघ १९ , २४ र ३० गते संसद विघटनविरुद्ध प्रदर्शन गर्ने, म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद थप्ने, समायोजनसम्बन्धि विवाद मिलाउने जिम्मा पुनः निर्वाचन समितिलाई नै दिने लगायतका प्रस्ताव पेश गरे । ती सबै प्रस्ताव केन्द्रीय समितिले सर्वसहमत रुपमा पारित ग¥यो ।

प्रतिक्रिया