‘विधि र पद्दतिअनुसार पार्टी सञ्चालन गर्नु मुख्य चुनौती’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विधि र पद्दतिअनुसार पार्टी सञ्चालन गर्नु आफूहरुको मुख्य चुनौती भएको बताएका छन् । पार्टी निर्माण र परिचालनमा सुरुदेखि नै पद्दतिसम्मत ढंगले अघि बढ्न ध्यान दिनुपर्ने उनले बताएका हुन् । विधि–पद्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा सुरुदेखि नै ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

शनिबार राति फेसबुक स्टाटस लेख्दै उनले पार्टी विधिसम्मत् रुपमा चल्नुपर्नेमा जोड दिएका हुन् । ‘केपी ओलीजीसँगको सुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पद्दतिको पालनामा हो । अब हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्दतिसम्मत ढंगले अघि बढ्न ध्यान दिनुपर्दछ,’ उनले लेखेका छन्, ‘त्यसको निम्ति संघर्ष गर्नुपर्दछ । तब मात्र हामी आफ्नो प्रतिबद्धताप्रति इमानदार हुन सक्दछौँ र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौँ ।’

उनले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेकपाद्वारा शुक्रबार राजधानीमा आयोजित विरोध प्रदर्शन सफल भएको भन्दै छिट्टै अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया