खोजखबर

‘अदालतलाई नधम्क्याउ’

सौर्य अनलाइन २०७७ माघ १० गते ६:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समुहलाई अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् । न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने भन्दै धम्काउने काम गर्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहालले शुक्रबार गरेको सम्बोधनलाई लक्षित गरी भाषण गरेका थिए । ‘अदालतले हाम्रा पक्षमा फैसला गर्छ भन्ने विश्वास छ, तर, गरेन भने…कसैलाई अराजकता मच्चाउने इच्छा छैन, तर…, केपी ओलीको तानाशाहीको पक्षमा फैसला भएछ भने’, दाहालको भाषणालाई उदृत गरेका ओलीले अगाडी भने, ‘त्यो भनेको के ? अदालतलाई तस्र्याएको कि ? जनतालाई तस्र्याएको कि ? अदालतको स्वतन्त्र न्याय क्षमतामाथी अविश्वास गरेको कि अदालतलाई धम्काएको कि के गरेको ? नेपाली जनताले यस्तो कुरा आफै बुझ्छन् ।’

उनले माघ २३ गते आफुहरुले राजधानीमा आमसभा गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताए । नेकपा अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने उद्घोष समेत गरे । उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गरे । उनले आफूहरुले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला काँगे्रेसले विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको स्मरण गराए ।

पहिलो संविधानसभालाई आफूहरुले नभई अरुले विघटन गराएको र बल्लबल्ल पुनः निर्वाचन गरी अनेक शक्तिले रोक्न खोज्दा पनि संविधान जारी गराएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको आरोप लगाए । पार्टी र कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उनले कार्यकर्तासँग प्रश्न समेत गरे, ‘आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला ? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ ?’

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नाको औचित्य नभएको बताए । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री रायमाझीले शान्ति प्रक्रियामा आइसकेपछि अब युद्धको धङ्धङीको काम नभएको पनि जनाए । पेशागत कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले नयाँ स्थितिमा पेशागत क्षेत्रका कार्यकर्तालाई एकताबद्ध र सक्रिय हुन आग्रह गरे ।
००००००

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय