म्यानमारकी महिलावादी नेपालीभाषी नन्दार

बर्मेली परिवारमा जन्मिएकी नेपाली भाषी नन्दारको नेपाली नाम नन्दु ज्ञवाली हो । नेपालमा नन्दारका आफन्तहरू छन् । एक वर्षअघि उनी नेपाल आएर आफन्तलाई मात्र भेटिनन् महिला अधिकार बारेका बहसमा समेत भाग लिइन् । बहसका क्रममा उनले म्यानमारका महिलाका बारेमा बोलिन् पनि । म्यानमारमा महिलाले भोगेका अनेक प्रकारका हिंसाका बारेमा उनले नेपालमा पनि आवाज उठाइन् ।

नन्दारले स्थापना गरेको पर्पल फेमिनिस्ट ग्रुप नामको संस्थामार्फत् म्यानमारमा महिला सशक्तीकरणका विभिन्न कार्यक्रम गर्दै आएकी छन् । उनले नारीवादसँग सम्बन्धित केही पुस्तक बर्मेली भाषामा लेखेकी र उल्था गरेकी पनि छन् । लैंगिक र जातीय भेदभाव आफैँले भोगेपछि महिलावादी अधिकारकर्मी बनेको नन्दारले बताएकी छन् ।

‘म १५ वर्षकी हुँदा रजश्वला सुरू भयो । हाम्रो गोर्खाली परिवारको विश्वास र अभ्यास अनुसार रजस्वलाको पहिलोपटक महिलालाई आफ्नो घरमा बस्न दिइएन । आफन्त वा छिमेकीको घरमा जानुपर्छ । कुनै पुरुषलाई हेर्नु, देख्नु हुँदैन । धेरै कुरा छुने अनुमति पनि हुँदैन । सूर्यको पनि दर्शन गर्न नहुने भनी किशोरीहरूलाई एउटा कोठामा थुनिराख्छन्, जुन मैले पनि भोगेँ । मैले भोगे पनि आफन्त, छरछिमेक कोही पनि किशोरीले त्यस्तो गर्न आवश्यक छैन भन्ने मलाई लाग्यो र त्यसको विरोध गर्न थालेँ । त्यसैबाट ममा विद्रोहको चेत पस्यो,’ नन्दारको महिलावादी आन्दोलनको सुरुआत रजश्वलाका बेला बार्नुपर्ने सामाजिक कुरीति विरुद्धबाट सुरु भएको हो ।

म्यानमारका सहरभन्दा धेरै टाढाको दुर्गम बस्तीमा जन्मिएकी नन्दारको जीवनमा रजश्वलाले ठूलो दुर्घटना निम्त्याएको पनि छ । एक्कासि अचेत भएका बुबालाई आमाले रजश्वला भएकै कारण छोइनन् । नन्दार, उनका दिदी र भाइ सानै थिए । उनकी आमा छिमेकीकोमा पुगेर आफन्तलाई बोलाएर अचेत बुबालाई अस्पताल पु¥याउँदा धेरै समय घर्कियो । त्यसैकारण उनका बुबाको पछि मृत्यु भयो ।

नन्दार म्यानमारकी चर्चित नारीवादी हुन् । उनले महिलाविरुद्ध हुनै सबै प्रकारका विभेदको विरोध गर्दै आएकी छन् । ‘म्यानमारमा गोर्खाली मात्र होइन, अन्य समुदायका महिला पनि बोल्ने हिम्मत गर्दैनन् । बोले पनि तिनको आवाज नसुनिने सामाजिक संरचना छ । त्यसलाई चिर्नु नै मेरो काम हो,’ नन्दारले भनिन् ।

उनको लडाइँको सुरुआत भने परिवारबाटै भएको हो । रजश्वला सामान्य शारीरिक प्रक्रिया हो र योसँग पापधर्म जोडिएको हुँदैन भनेर आमालाई सम्झाउनै वर्षौं लाग्यो उनलाई । त्यसपछि आफन्त र अरूलाई पनि । अहिलेसम्म पनि कतिले यो कुरा बुझिसकेका छैनन् ।

‘अहिले महिला पुरुष वा अन्य लिंग सबै मानिस समान हो र एकअर्कालाई समान रूपमा हेरे र व्यवहार गरे मात्र संसार बाँच्नका लागि थप योग्य हुन्छ भनेर बुझाउँदै हिँड्छु,’ नन्दारको मन्त्र यति नै हो । ‘जबदेखि मैले आफूलाई नारीवादी घोषित गरेँ, मेरो परिवार, मेरा पुरुष साथी सबैले केही न केही छेडछाड, व्यंग्य र प्रहार त भोगिरहेकै छन् । म आफू त सबै पचाउँछु । तर मेरै कारण उनीहरूले भोग्नुपर्ने विभेदले चाहिँ नरमाइलो लाग्छ । यो परिवर्तन गर्नका लागि अझै धेरै काम बाँकी छ,’ उनले भनिन् ।

नन्दारको सक्रियतामा हरेक वर्ष म्यानमारमा ‘योनीका कथा’ नाटक मञ्चन हुने गरेको छ । जहाँ म्यानमारमा महिलामाथि हुने विभेदका बारेमा प्रस्तुत गरिन्छ । त्यसले जनमानसमा जागरण ल्याउन सहयोगी भएको उनले बताइन् । ‘महिला सधैँ आफ्ना शरीरको बारेमा लाज मान्दै हुर्केका हुन्छन् । तिनको शरीरबारे पुरुषले लेखेको र बनाएको मानकमा विश्वास गर्नुपरेको छ । जुन म भत्काउन चाहन्छु । हाम्रा नितम्ब हुन् कि स्तन वा अन्य अंग हाम्रा अंंगको बारेमा हामी महिलाले नै पुनः परिभाषित गर्नुपर्छ भनेर म लागेकी छु । यसमा लाज मान्ने होइन, स्वस्थ बहस गरौँ,’ नन्दारले भनिन् ।

यसबाहेक नन्दारले प्रसिद्ध महिलावादी लेखिका दिची चीमामान्ता ङोजीको ‘वी सुड अल बी फेमिनिस्ट’ (हामी सबै नारीवादी हुनुपर्छ) किताबलाई बर्मेली भाषामा उल्था गरेकी छन् । उनको दोस्रो बर्मेली पुस्तकले छोराछोरीलाई कसरी समान बनाएर हुर्काउने भनेर सिकाउँछ । पर्पल फेमिनिस्ट ग्रुपबाट महिलाका क्षेत्रमा काम गरिरहेकी नन्दारले पडकास्टमार्फत् महिला अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन पनि गर्छिन् । नन्दारको विचारमा म्यानमारजस्ता देशमा महिला अगाडि आएर हिँड्न सजिलो छैन, यहाँ अहिले पनि धेरै कुरा धार्मिक परम्पराले ओगटेको छ । जसले गर्दा महिलालाई ढुक्कसँग बाहिर निस्कन कठिन छ ।

बौद्ध धर्ममा महिलालाई धेरै स्थान त दिइएको छ । तैपनि हरेक गुम्बामै जहाँ पुरुष गएर पूजा गर्न पाउँछन् । त्यहाँसम्म महिलालाई जान दिइँदैन । त्यो नै विभेदको सुरुआत भएको र महिलाले आफूले आफँैलाई कमजोर सोच्ने ठाउँ भएको उनको धारणा छ । नन्दारको महिला हिंसा विरुद्धको म्यानमारको कानुन थप कडाइ गर्नुपर्ने माग छ । खासगरी घरेलु हिंसालाई व्यक्तिगत मामिलाको रूपमा हेर्न हुँदैन ‘यो समाज विरोधी हिंसा हो,’ उनी भन्छिन् । त्यस्तै गर्भपतन महिलाको अधिकार हुनुपर्ने सुधार उनी म्यानमारको कानुनमा ल्याउन चाहन्छिन् ।

म्यानमार बौद्ध देश भएको कारण गर्भपतनलाई अपराध मानिएको छ । जसलाई नन्दार स्वीकार गर्न तयार छैनन् । ‘बौद्ध मान्यताका कारण गर्भपतन अपराध ठहरिनु हुँदैन । अन्य बौद्ध मुलुकमा पनि गर्भपतनलाई स्वीकार गरिसकेको छ । हामी महिलावादीले यसलाई महिलामाथि नियन्त्रण गर्ने प्रणालीमा आधारित विचारधारा ठान्छौँ,’ उनले भनिन् ।

त्यस्ता प्रतिबन्धले गर्भपतन घटाउने छैन बरू असुरक्षित गर्भपतनको संख्या बढाउँछ भन्ने उनको मान्यता छ । ‘यदि हामीले लैंगिक समानताको संसार बनायौँ भने सबैजना खुसी हुन्छौँ, समान अधिकार, समान रोजगार र समान सम्मान पाएपछि समाज शान्तिमय र परिवार अहिंस्रक हुन्छ,’ उनले भनिन् ।

नन्दारको विश्वास छ कि उनलाई जस्तोसुकै चुनौती आए पनि उनी लैंगिक समानता र महिलाको अधिकारका लागि काम गरिरहेकी छिन् । मौन महिलाहरूको आवाज उनले खोजिरहने छिन् र त्यसलाई ठूलो स्वरमा कराइ रहनेछिन् । (बिबिसी)

प्रतिक्रिया