खोजखबर

चन्दले दावी गरेको ‘क्रान्ति’ आवश्यकता होइन : गोकुल बास्कोटा

सौर्य अनलाइन २०७७ मंसिर १३ गते १८:४३ मा प्रकाशित

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका ६ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुपर्यो’, उनले भने ।

प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बास्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए । ‘चन्द कमरेड तपाईँका नेता कार्यकर्तालाई तपाईँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाईँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,’ उनले दोहोर्याए ।

बास्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण संघर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । ‘बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ’, उनले थपे, ‘जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।’ नेकपामा कोही दास र कोही मालिक नभएको उहाँको धारणा थियो ।

बास्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताए । उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए । ‘नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।’

उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए । विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उनले आवश्यकता औँल्याए ।

बास्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रीता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय