तहसनहस कृषि क्षेत्र

गोविन्द महत

राजनीतिक, आर्थिक, धार्मिक, शैक्षिक क्रान्ति निरन्तर छन् । अब कृषि क्रान्तिको सुरुआत गर्नुपर्दछ । धेरै क्रान्तिको धेरै ठूलो क्रान्तिको जिम्मा युवा पुस्तामा छ । सायद नेपालको क्रान्तिको इतिहासमा यति महत्वपूर्ण गुण कहिल्यै पनि आएको थिएन, जुन अहिलेको युवा माझ आएको छ ।

यति वेला गाउँघरमा कामको चटारो छ । गाउँमा गोरेटाहरू खचाखच अनि साँघुरा भएका छन् । बाटोमा परालको भारी बोक्ने र धानको थैलो बोक्नेको ताँती लागेको छ । केटाकेटीहरू रमाइरहेका छन् । खुसी देखिन्छन् किनकी स्कुल जानुपरेको छैन ।

गाउँका पाखाहरूमा कोदोको बालाले किसानको बाटो कुरिरहेको छ । फाँटमा असोजे मास उखेलिएको छ भने कात्तिके मासको कोसाले किसानसँग आँखा जुदाइरहेको छ र भनिरहेको छ चाँडो तिम्रो हत्केलाका स्पर्श पाउँ । यता बँेसीमा धानको बाला लहलह झुलिरहेका छन् । कतै धानको पाँजा फिजाइएका छन् त कतै कुहिनयो अनि दाइको मेसोमेलो चलिरहेको छ । दमेराहरू खलोको धानको अड्कल बाजी गरिरहेका छन् । घरधनी ती माइली आमालाई बिहानको खाजा खाना र पराल बोक्ने खेतला खोज्ने अनि भरेका लागि दुई/चार बोतल घरपालुवा अनि सिकार बनाउनका लागि जुटिरहेकी छन् । वर्षभरि खान पुग्ने अन्न भित्र्याउन पाउँदा दंग छिन् ।

यता यो कोरोनाको कहरमा नेकपाको अध्यक्षद्वयबीच टकराव केन्द्रीय कमिटी बैठक मंसिरका स¥यो, सिटौला पक्षले रामचन्द्रलाई असमर्थन ग¥यो, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार यति संक्रमण र यतिको मृत्यु भयो, यस्तै यस्तै खबर आइरहेका छन् । के यही हो प्रमुख समाचार अनि अखबार, कि कसो हो सिंहदरबार ? उत्पादन र आम्दानीमा वृद्धि हुने गरी लक्षित कार्यक्रम तर्जुमा गरी स्थानीय तहसम्म पुग्नुपर्छ कि पर्दैन ?

पत्रकार, लेखक, बुद्धिजीवी एनजिओ, आइएनजिओका अफिसहरू, कार्यालयका हाकिमहरू, प्राध्यापक अनि राजनीतिकर्मी सबै बौद्धिक वर्गको बसाइँ सहरमा हुन्छ । सम्पूर्ण बौद्धिक वर्गमा कम्तिमा पनि गाउँगाउँका अवस्था अनि कृषक किसानको मर्मसँग जोडिएर हेर्नुहोस् भन्ने मेरो अनुरोध छ । यसरी लेखियोस्, बोलियोस् अनि गरियोस् कि जसले उत्पादन र आम्दानीमा जोडिनु पर्छ भन्ने कुरा युवा युवाको मथिंगलमा हुटहुटी चलाओस्, भोक जागोस्, काम गर्दै गरेकाहरू प्रति आत्मसन्तुष्टी मिलोस् ।

झन्डै १८ प्रतिशत कृषि भूमिमा ६६ प्रतिशत कृषि भएको छ र देशमा करिब दुईतिहाइ जनसंख्या रोजगारी तथा जीविकाका लागि कृषि क्षेत्रमा निर्भर रहेको भन्ने तथ्यांक भेटिएता पनि कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एकतिहाइ मात्र छ । एउटा किसान कृषि गर्छ र पनि आफ्नो गुजारा मात्र चलेको हुन्छ । निर्वाहमुखी भनौँ भने पनि परिवारको निर्वाह चल्दैन । कहिले सडकमा दुध पोख्नु त कहिल गोलभेँडा । ब्रोइलर कुखुराको किसानले बेहोर्नु परेको घाटा नोक्सानी त्यसको मर्म एउटा कुखुरा पालकलाई मात्र थाहा हुन्छ । अहिले गाउँघरका सयपत्रीसमेत त्यसै सुकेर जाने अवस्था छ, गाउँका किसानको आलुले भाउ पाउँदैन । यी यावद कृषि तथा पशुपालन उत्पादनमा वास्तविक किसान मारमा परेको र विचौलिया मोटाउने काम मात्र भएको छ । के तीनै तहको सरकारबाट यो विचौलियाको अन्त्य हुने गरी कार्ययोजना अगाडि बढाउनु असम्भव छ ?

जब ठुल्ठूला हलहरूमा पार्टीका कार्यक्रम हुन्छन् अनि भनिन्छ प्रतिदिन १५ सय नेपाली वैदेशिक रोजगारका निम्ति जहाज चढ्छन् । यो क्रम रोक्नुपर्छ र स्वदेशमै उत्पादनमा जोडिनुपर्छ र देशलाई आत्मनिर्भर बनाउनुपर्छ लगायतका कुरा आउँछ । एउटा साना व्यवसायिक कृषि तथा पशुपालन गरेको किसान आत्मनिर्भर हुन नसकेको खण्डमा कसरी देश आत्मनिर्भर हुन्छ । नेपाल कृषिप्रधान देश हो भन्दै गर्दा गैरकिसानले ओगटेको ठूलो जमिनको हिस्सा बाँभैm पल्टेर घडेरी बनेर बस्दा हामी कसरी आत्मनिर्भर हुन सक्छौँ । वास्तविक किसान जो हातमा ठेला उठाएर, औँलामा काँडा बिझाएर, नङमा माटो गाडेर, धाँजा परेका पैताला लिएर, शिरदेखी पाउसम्म पसिनामा डुबेर काम गर्छ र उत्पादन गर्छ, तिनीहरूलाइै अझै कृषियोग्य जमिनको खाँचो छ । त्यसकारण वास्तविक किसानको हातमा जमिन नहुने र गैरकिसानको हातमा असीमित घडेरी एवं खाली तारबार गरिने अवस्थाले कृषि क्षेत्रकै समुचित विकासको बाधक बनेको प्रष्ट छ ।

भलै कृषि सामग्रीको कमी, यातायातको असुविधा, सिँचाइ सुविधाको कमी, परम्परागत खेती प्रणाली, आवश्यक तालिमको अभावका बावजुद पनि पछिल्लो अवस्थामा विदेशिएका युवाहरू ज्ञान, सीप, पुँजी, नयाँ जोश, जाँगर, उत्साहकासाथ उन्नत प्रविधिसहित भविष्य खोज्दै छन् । उनीहरू कृषि क्षेत्रमा आकर्षित हुँदै जानु, कृषि र उत्पादन क्षेत्रकै अवसरहरू हुन् । स्वदेशमै रहेर विभिन्न विषयमा आफ्नो अध्ययन पूरा गरी कृषि पेसालाई अँगाल्नु एक सकारात्मक पक्ष हो ।

गाउँगाउँका भिरपाखा अनि बाँझो जमिनमा उचित खेती गरे कृषि ज्ञान केन्द्रले अनुदान दिनु खुसीको कुरा हो । कृषि तथा पशुपालनमा सरकारले दिने धेरथोर अनुदानले कहीँ कतै कृषकलाई प्राथमिक उपचारको रूपमा काम गरिरहको छ । अनुदानमा पनि राजनीतिक कार्यकर्ता, कर्मचारीको आसेपासे भनसुन चल्दोरहेछ भन्ने वास्तविक किसानलाई थाहा हुन्छ । जुन वास्तविक किसान मरिमेटी उत्पादनप्रति समर्पित छ, उसलाई थप न्यास्रो बनाउँछ । अर्को कुरा अनुदान भनेको कृषकले दीर्घकालीन समस्याको अल्पकालीन समाधान हो । यदि किसानको हितमा सरकार छ भने अनुदान होइन उत्पादनको बजार व्यवस्थापन हुनुपर्दछ । सहुलियत कर्जा कृषि पेसालाई यहाँभन्दा ठूलो अर्को सम्मान हुन सक्दैन ।

राजनीतिक, आर्थिक, धार्मिक, शैक्षिक क्रान्ति निरन्तर छन् । अब कृषि क्रान्तिको सुरुआत गर्नुपर्दछ । धेरै क्रान्तिको धेरै ठूलो क्रान्तिको जिम्मा युवा पुस्तामा छ । सायद नेपालको क्रान्तिको इतिहासमा यति महत्वपूर्ण गुण कहिल्यै पनि आएको थिएन, जुन अहिलेको युवामाझ आएको छ । उत्पादन र आम्दानीमा जागौँ, लागौँ अबको क्रान्ति कृषि क्रान्ति !!!

(लेखक विद्यार्थी नेता एवं विश्वलक्ष्मी एग्रो फर्मका सञ्चालक हुन्)

प्रतिक्रिया