सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आउँदै

दोलखा । पर्यटकीय जिल्ला दोलखामा जिल्लाकै पहिलो सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय स्तर उत्पादन गरिएका खाद्यान्न सामग्रीको व्यापार बढाउने उद्देश्यले भीमेश्वर नगरपालिका–१ कुथलीमा कुथली रिसोर्ट सञ्चालनमा आउने भएको हो ।

करिब तीन करोड लगानीमा लक डाउनको सदुपयोग गर्दै रिसोर्टको काम अगाडि बढाएको रिसोर्ट सञ्चालक अमृतबहादुर बुढाथोकीले बताए । रिसोर्टको भौतिक निर्माणको काम अन्तिममा पुगेको र केही दिनमा नै सञ्चालनमा आउने बुढाथोकीले बताए । स्वदेशमा नै रोजगार सिर्जना गर्ने र स्थानीय स्तरका उत्पादित खाद्यान्न कोदो, फापर, मकै, गहुँको ढिडो, मार्सीे चामल पकाएर खुवाउने प्रबन्ध सहितको व्यवस्था गरिएको सञ्चालक बुढाथोकीले बताए ।

रिसोर्टको खाली रहेको जग्गामा लोकल कुखुरा, कालिज फार्म र ट्राउट माछासमेत पाल्न थालिएको छ । स्विमिङ पुल सहितको सुविधा भएको रिसोर्टमा पार्टी हल सुविधासम्पन्न रूमहरूको व्यस्थापन गरिएको छ । प्रकृतिको मनोरम दृष्यको अवलोकन गर्दै मीठामीठा परिकारहरूसमेत रिसोर्टमा उपलब्ध हुनेछ । खोलाको छेउमा रहेकोले रिसोर्टलाई नजिकै रहेका झरनाहरूले झनै मनमोहक बनाएको देख्न सकिन्छ ।

सदरमुकाम चरिकोटबाट करिब १० किलोमिटरमा कुथली रिसोर्ट पुग्न सकिन्छ । चरिकोट सिंगटी सडकको छेउमा नै रहेको कुथली रिसोर्ट करिब ३० रोपनी जग्गामा सञ्चालनमा ल्याउन लागिएको हो । सय जना अट्ने रिसोर्ट सञ्चालनमा आएसँगै पर्यटकको संख्यामा पनि वृद्धि हुने व्यवसायीको विश्वास रहेको छ ।

प्रतिक्रिया