सम्पादकीय

प्राकृतिक प्रकोप नियन्त्रणको प्रश्न

सौर्य अनलाइन २०७७ असोज २७ गते ७:१३ मा प्रकाशित

सिंगो विश्वले यतिबेला कोरोनारूपी भयंकर प्राकृतिक प्रकोपको सामना गरेको छ । एउटै प्राकृतिक प्रकोपको सामना यति लामो समयसम्म सिंगो विश्वले गर्नुपरेको सायद पहिलो घटना हुनुपर्छ । अहिलेसम्म रेकर्डमा आए अनुसार पहिलो घटना हो । चीनको वुहानमा सुरु भएको यो महामारीले एक वर्ष पार गरिसकेको छ । उपचार पद्धती तथा औषधि त परै जाओस् कोरोनाको पूरै भेउसमेत वैज्ञानिकहरूले पत्ता लगाउन सकेका छैनन् । यसै कहरका बीच आज विश्व समुदायले प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउँदै छ । सन् १९८९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि हरेक वर्षको अक्टोवर १३ तारिदका दिन यो दिवस मनाउने निर्णय गरेको हो । आज ३१औँ प्रकृतिक प्रकोप नियन्त्रण दिवस मनाइरहँदा मानिसहरू भेला भएर छलफल गर्न सक्नेसमेत स्थिति छैन । प्राकृतिक प्रकोप नियन्त्रण दिवस केवल कर्मकाण्डमै सीमित भएको प्रमाण हो यो ।

प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् । भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपहरू अकस्मात आइपर्ने भएकोले पूर्वजानकारी हुँदैन । तर आइहाल्यो भने कसरी बच्न सकिन्छ ? भन्ने सावधानीका उपायहरू निस्केका छन् । कमजोर संरचना निर्माण नगर्ने, कमजोर भूधरातलमा नबस्ने हो भने भूकम्पको प्रकोपबाट जोगिन सकिन्छ । बाढी, पहिरो, आँधी जस्ता प्रकोपहरू हिजोका दिनमा आकास्मिक थिए, तर आज विज्ञान तथा प्रविधिको विकासका कारण पूर्वानुमान गर्न सजिलो भएको छ । अग्रिम जानकारी पाइसकेपछि सुरक्षाका उपाय अवलम्वन गर्न सजिलो हुन्छ । तेपनि बाढीपहिरो तथा आँधीका कारण बर्सेनि लाखौँ मानिसको ज्यान जाने गरेको छ । सावधानी अपनाउन नसेकेकै परिणाम हो यो । यसैगरी अर्को खतरनाक प्राकृतिक प्रकोप हो रोगको महामारी । रोगको महामारी नियन्त्रणका लागि पनि पछिल्लो समयमा विज्ञान तथा प्रविधिले ठूलो फड्को मारेको छ । हिजोका दिनमा ज्यानमारा भनिने कतिपय रोगहरू अहिले सामान्य बनेका छन्, तर झन् खतरनाक नयाँनयाँ रोगहरू आइरहेका छन् । कोभिड–१९ त्यसको ज्वलन्त उदाहरण हो ।

प्राकृतिक प्रकोपबाट बच्नका लागि ज्ञान, सीप र प्रविधिको विकास जुन अनुपातमा भइरहेको छ , त्यही अनुपातमा प्राकृतिक प्रकोपद्वारा हुने क्षतिका घटना बढाउने काम पनि हामी मान्छेबाट नै भइरहेको छ । उदाहरणका लागि भूकम्पले धनजनको क्षति गर्ने होइन, भूकम्पका कारण ढल्ने संरचनाले धनजनको क्षति पु¥याउने हो, तर कमजोर संरचना मानिसले नै बनाइरहेका छन् । धनजनको क्षतिका लागि आकाशबाट पानी पर्ने होइन, आकाशबाट पानी पर्नु, खोला, खोल्सा, तथा नदी हुँदै समुन्द्रसम्म पुग्नु प्राकृतिको रुटिन हो । तर, भिराला जमिन खोतलिदिने, खोला, खोल्सा तथा नदीको क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना बनाउने, पानीको प्राकृतिक बहावलाई नै रोकिदिने काम हामी मान्छेबाट भइरहेको छ । यसैगरी मान्छेहरूले नै प्राकृतिक सन्तुलनलाई बिथोलिरहेका छन् । प्राकृतिक सन्तुलन बिथोलिनासाथ नयाँनयाँ रोग आउँछन् भन्ने कुरा वैज्ञानिकहरूद्वारा पुष्टि भइसकेकै छ । मानिसहरू कतिसम्म लापरवाह छन् भन्ने कुरा कोरोना संक्रमणको द्रुत फैलावटले नै पुष्टि गएको छ । वैज्ञानिकहरूले भनिरहेका छन्, ‘संक्रमित व्यक्तिको थुक अर्को व्यक्तिको शरीरभित्र प्रवेश ग¥यो भने मात्रै कोरोना सर्छ ।’ अर्को व्यक्तिको थुक ग्रहण नगर्ने हो भने कोरोना नसर्ने रहेछ । तर, मानिसहरूले यति पनि सावधानी अपनाउन सकेनन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय