सीमा सुरक्षाको मुख्य कडी

दार्चुलाको छाङ्रु गाउँका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न विदेशी भूमी प्रयोग गर्नुपर्ने वाध्यता समाप्त भएको छ । तीन वर्षअघि पहिरोले करिब पा“च सय मिटर गोरेटो बाटो बगाएपछि छाङरुका बासिन्दा सदरमुकाम आवतजावतका लागि भारतीय भूमि प्रयोग गर्न वाध्य थिए । यो वाध्यता अन्त्यका लागि नेपाली सेनाले गत २६ जेठदेखि घाँटीघाट –छाङ्रु गोरोटो बाटो निर्माण आरम्भ गरेको थियो । करिब ५ दशमलव ५० किलोमिटर बाटो खन्ने काम नेपाली सेनाले तीन महिनामा सम्पन्न गरेको हो । कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी १ करोड ८ लाख ३६ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त गोरेटो दुई मिटर चौडा छ । मज्जाले घोडा कुदाउन सकिने गरी बाटो निर्माण भए पछि स्थानीय बासिन्दा खुसी छन् । बाटो सञ्चालनमा आएसगैँ छाङ्रु क्षेत्रका १ सय ८४ घरधुरीका १ हजार २ सय ५० जनालाई हिँड्न र पशुचौपाय ल्याउन पुर्याउन सहज भएको जनाइएको छ । तर, यो बाटोको महत्व यतिमा मात्रै सीमित छैन । छाङ्रुभन्दा पश्चिम–उत्तरका गुञ्जी, नावी, कुटी लगायतका करिब आधा दर्जन गाउँहरू अहिले पनि भारतको नियन्त्रणमा छन् ।

केही महीनाअघि नेपाल सरकारले नक्सामा समावेश गरेको लिम्पियाधुरा क्षेत्रमा पर्छन्, गुञ्जी, नावी कुटी लगायतका आधादर्जन गाउँहरू । आफ्नो देशको सदरमुकामसम्म आउने जाने बाटोसमेत नभएका कारण यी गाउँहरूको नेपालसँगको सम्बन्ध लामो समयदेखि विच्छेद छ । यही वाध्यताको फाइदा उठाउँदै भारतले महाकाली पश्चिमबाट सडक पु¥याएको मात्रै छैन ठूलो संख्यामा सेना तैनाथ गरेको छ । भूमी भारतले मिचेपछि त्यस क्षेत्रका बसिन्दाले आफूलाई नेपालीका रूपमा परिचित गराउने वातावरणसमेत बनेको छैन । नेपाली भनेर परिचय गराउनासाथ भोलि आवतजावतमै समस्या पर्ने र भोकभोकै बस्नुपर्ने वाध्यताका कारण उनीहरूले आफूहरूलाई भारतीय नागरिकका रूपमा परिचय दिन थालेका छन् । छाङ्रु क्षेत्र पनि झन्डैझन्डै त्यही चपेटामा पर्न लागेको थियो ।

आफ्नो भूमीबाट जिल्ला सदरमुकाम जान बाटोको अभाव थियो भने भारतीय बाटो प्रयोग गर्दा धेरै झमेला थियो । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भन्नासाथ लुट्ने, पिट्ने गरेका कारण उनीहरू जिल्ला सदरमुकाम आउन जान छाडेका थिए भने अत्यावश्यक सामान भारतीय बजारबाट सहुलियत मूल्यमा लिन थालेका थिए । यो अवस्थाबाट छाङ्रु क्षेत्रले धेरै हदसम्म राहत पाएको छ । तर, यतिमा मात्रै समस्या समाधान हुने अवस्था छैन । भारततर्फ सडक बनिसकेका कारण नेपालतर्फको गोरेटो बाटोले मात्रै अतिक्रमित क्षेत्रका बासिन्दालाई नेपालप्रति अपनत्व जगाउन सकिने अवस्था छैन ।

दुर्गम क्षेत्रमा सडक निर्माण गर्दा तत्कालीन आर्थिक प्रतिफललाई मात्रै ध्यान दिइनु हुँदो रहेनछ भन्ने पाठ लिम्पियाधुरा प्रकरणले सिकाएको छ । नेपालले त्यस क्षेत्रका जनतालाई समयमै सडकको माध्यमबाट जिल्ला सदरमुकामसम्म जोडेको भए भारतले त्यसरी हडप्ने सहास गर्दैनथ्यो । उदाहरणका लागि दक्षिणतर्फको सिमाना एक फिट मिचिनासाथ स्थानीय जनता लाठी लिएर भिड्न तयार भएका घटना धेरै छन् । तर, लिम्पियाधुरा क्षेत्रका स्थानीयमा त्यो आँट त देखिएन नै, आफूलाई नेपाली हौँ भन्नसमेत छाडिसके ।

यो समस्या भारतसँग सिमाना जोडिएको दार्चुलामा मात्रै होइन भोलि चीनसँग सीमा जोडिएका गाउँमा पनि आउन सक्छ । चीनले सीमा क्षेत्रका सबैजसो गाउँसम्म सुविधासम्पन्न सडक निर्माण गरिसकेको छ । नेपालतर्फ भने अनकण्टार छ । नेपालतर्फका गाउँका जनता पाँच मिनेट हिँडेर चिनियाँ बजारमा पुग्छन् तर नेपाल तर्फको बजारमा आउन चार÷पाँच दिन हिँड्नु पर्छ । वर्षायाममा त त्यो पनि सम्भव छैन । यस्तो पाराले कसरी हुन्छ मुलुकको सीमा सुरक्षा ?

प्रतिक्रिया