क्रिकेट खेलाडीको पुनः छनोट र वर्गीकरण हुने

काठमाडौं । चौतर्फी आलोचनापछि नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय खेलाडी सम्झौताको खेलाडी छनोट र वर्गीकरण पुनः गर्ने भएको छ ।
असोज ६ मा चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय १८ पुरुष र १९ महिला टोलाई केन्द्रिय सम्झौतामा राख्दै वर्गीकरण गरेको थियो । तर क्यानको उक्त खेलाडी वर्गिकरण र खेलाडी सम्झौतालाई लिएर चौतफी आलोचना भएपछि खेलाडी बर्गीकरण निर्धारण समितिलाई पुन सुझाब सहितको वर्गीकरण आगामी बोर्ड बैठकमा पेश गर्न बिहिबार अध्यक्ष चतुरबहादर चन्दले एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।

कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केद्रिय सदस्य अमितबिर पान्डे र दुर्गाराज पाठकलाई समेट्दै क्यानले खेलाडी वर्गीकरण समिति बनाएको थियो । क्यानले खेलाडी वर्गीकरणमा केहि महत्वपूर्ण खेलाडीहरुको नाम छुट्न गएको वर्गीकरणमा न्यायोचित नभएको जनाउँदै खेलाडीहरुले गुनासो गर्दै संघमा आएको निवेदनमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्यानले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गर्दै सुझाव सहितको वर्गिकरण प्रतिबेदन आगमी बोर्डमा पेश गर्न अनुरोध गरेको छ ।

क्यानले सार्वजनिक गरेको केन्द्रिय खेलाडी सम्झौताको वर्गीकरणमा गम्भीर लापरवाही गरेको थियो । सन् २०१९ मा नियमित अन्तर्राष्ट्रिय खेले खेलेका स्पिनर ललितनारायण राजवंशीलाई ग्रेडमा नराखेपछि क्यानको आलोचन भइरहेको छ । २०१९ मा कुनै अन्तर्राष्ट्रिय खेल नखलेका सुवास खकुरेल र कमलसिंह ऐरी क्यानको ग्रेड ‘सी’ मा समेटिएका छन् । टोलीमा प्रमुख खेलाडी सोमपाल कामी ग्रेड ‘बी’ मा घटुवा भएका थिए ।

यसपटक पारिश्रमिकमा भने हरेक तहमा १५ हजार रुपैयाँको बृद्धि भएको छ । ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् । एमा ८, बीमा ४ र सीमा ६ खेलाडी छन् । महिला टोलीको ग्रेडमा पनि क्यानले त्यस्तै कमजोरी गरेको भन्दै आलोचना हुँदै आएको छ । अहिले सम्म राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई पनि ग्रेडमा समावेश गरिएको छ । फेरि राष्ट्रिय टोलीमा रहेका केहि खेलाडी भने ग्रेडमा परेका छैनन् ।

प्रतिक्रिया