खोजखबर

ब्रोइलरका चल्लालाई रङ दलेर ‘लोकल’ बनाउने भारतीय नागरिक

सौर्य अनलाइन २०७७ असोज १३ गते १५:३९ मा प्रकाशित

काठमाडौं । कलंकीस्थति एक पोल्टी फर्ममा छापा मारेर प्रहरीले ब्रोइलर कुखुराका चल्लालाई रङ दली ‘लोकल’ बनाउने लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार यसरी रङ दलेर ब्रोइलरलाई लोकल भन्दै बेच्‍न लागेको अवस्थामा चारजना भारतीय नागरिक पक्राउ गरेका हुन्।

कलंकीस्थित जैसवाल पोल्ट्री फर्ममा छापा मारेर प्रहरीले ४५ वर्षीया चन्दा साह, ४२ वर्षीया प्रेमशिलादेवी जैसवाल, वकिल खान र सुनिता जैसवाललाई पक्राउ गरेको हो।

उनीहरुले चलाएको पोल्ट्री फर्मबाट २८ सय ब्रोइलर कुखुराका चल्ला पनि बरामद गरिएको छ। ‘उनीहरुले चितवनका दुई पोल्ट्री फर्मबाट लेयर्सको भन्दै चल्ला ल्याएको बताएका छन’, प्रवक्ता राठौरले भने, ‘तर हाम्रो टोलीले बरामद गरेका सबैजसो चल्ला ब्रोइलरका भेटिएका छन्।’

राठौरले सुरुवाती अनुसन्धानबाट ती चल्ला उनीहरुले चितवनबाट नभइ भारतबाट लुकिछिपी छिराएको खुलेको बताए। भारतबाट नेपालमा पशुपंक्षी आयात निषेध गरिएको छ।

पक्राउ परेकाविरुद्ध प्रहरीले ठगी र कालोबजारीमध्ये एक मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयसँग परामर्श गरिरहेको जनाएको छ। ‘बरामद भएका चल्लालाई पोल्ट्री फर्ममै राखिएको छ’, उनले भने, ‘यो ठगीमा संलग्‍न अन्यबारे पनि अनुसन्धान गरिरहेका छौं।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय