नेपोलीको आधा दर्जन गोल

इटाली । इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपोलीले जिनोआमाथि ६–० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा नेपोलीको जितमा हर्भिङ लोजानोले दुई तथा पियोटर जिलिन्स्की, ड्रिएस मेर्टिन्स, इलजिफ इल्मास र माटियो पोलिटानोले गोल गरे । गोलको वर्षा भएको खेलमा पहिलो हाफमा एक गोल सम्भव हुँदा दोस्रो हाफमा ५ गोल निस्किएको थियो ।

स्टेडियो सान पाउलोमा घरेलु टोलीले खेलको १०औं मिनेटमा हिर्भिङ लोजानोको गोलबाट अग्रता लिएको थियो । उनले ड्रिएस मेर्टिन्सको पासमा गोल गर्न सफल भएका थिए । नेपोलीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४६औं मिनेटमा पियोटर जिलिन्स्कीले भिक्टर ओसिमहेनको पासमा गोल गर्दै नेपोलीलाई २–० ले अघि बढाए ।

दोस्रो हाफमा आक्रमक फुटबल खेलेको नेपोलीले ५६औं मिनेटमा ३–० को अग्रता लिन सफल भयो । पियोटर जिलिन्स्कीको पासमा ड्रिएस मेर्टिन्सले नेपोलीका लागि तेस्रो गोल गरेका थिए । ६४औं मिनेटमा मेर्टिन्सको पासमा हिर्भिङ लोजानोले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपोली फराकिलो जिततर्फ अग्रसर बन्यो ।

६८औं मिनेटमा इलजिफ इल्मासले इलसिड हेसाजको पासमा गोल गरेपछि नेपोलीले खेलमा ५–० को आरामदायी अग्रता बनायो । ७१औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीलाई ६–० को फराकिलो जित दिलाए । जिनोआले कुनै पनि समय नेपोलीको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

जितसँगै नेपोली दुई खेलबाट ६ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा रहेको छ । एसी मिलान र हेलास भेरोनासँग समान अंक भएपनि गोल अन्तरमा नेपोली शीर्षमा रहेको हो । पराजित जिनोआ २ खेलबाट ३ अंक जोडेर ११औ स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा एसी मिलानले क्रोटोनलाई उसकै मैदानमा २–० ले पराजित गर्दै सिरी ‘ए’ मा लगातार दोस्रो जित दर्ता गरेको छ । मिलानको जितमा फ्रान्क केस्सी र ब्राहिम डियाजले गोल गरे । केस्सीले पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा तथा ब्राहिमले ५०औं मिनेटमा गोल गरेका थिए । जितसँगै मिलान २ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलबाटै क्रोटोन अंकविहीन हुदै पुछारमा छ ।

प्रतिक्रिया