खोजखबर

कालीमार्सीमा रोग लागेर किसान चिन्तित

विजय रावत २०७७ असोज ११ गते २१:१२ मा प्रकाशित

जुम्लाका आठ वटै स्थानीय तहमा रहेका खेतका फाँटहरूमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको हो । स्थानीयवासी मायादेवी बुढा भन्छिन् । यहाँका खेतका फाँटहरूमा कालीमार्सी धानका बाला झुलेसँगै स्थानीयवासीमा पनि खुसीयाली छाएको छ ।  गाउँपालिकाको आर्थिक सहयोग र कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहजीकरणमा यस वर्ष यो धान रोपिएको थियो । गाउँपालिका अध्यक्ष लछिमान बोहोराले भने, ‘गत वर्ष सो स्थानमा दुई हजार वर्गमिटर क्षेत्रफल जग्गामा धान रोपिएकोमा यो वर्ष पाँच हजार वर्गमिटर क्षेत्रफलमा रोपिएको छ ।’ उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्नका लागि कालीमार्सी धान रोपिएको अध्यक्ष बोहोराले बताए ।

सो स्थानमा फलेको कालीमार्सी धानको चामल देशका विभिन्न सहरमा राम्रो मूल्यमा बिक्री वितरण हुने गरेको छ । देशका विभिन्न भागबाट यो चामलको माग आउने गरेको छ । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले भने, ‘पछिल्ला वर्षहरूमा मानिसमा स्वास्थ्यसम्बन्धी चेतनाका कारण हो या मिठो खाने चाहनाले हो यो धानको माग निकै नै बढ्न थालेको महसुस हामीले गरेका छौँ ।’
उनले भने, ‘कालीमार्सी धानको संरक्षणको कार्य स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले धान खेती गर्ने किसानलाई विभिन्न प्रकारका राहतका कार्यक्रम ल्याउनु आवश्यक छ ।’ यो धानको बिउ संरक्षण मात्र होइन कि यसको थप व्यावसायिक खेतीका लागि पनि यहाँका किसानलाई अझ उत्प्रेरित गर्नुपर्ने उनी बताउछन् ।

नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । नेपालमा राणा शासनको समयमा समेत केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौंसम्म पु¥याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरू बताउँछन् ।
करिब सात सय वर्षअघि जुम्लीहरूका इष्टदेवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बिउ भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बिउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर झुल्न थालेको किसान बताउँछन् । उनीहरू गत वर्षभन्दा यसवर्ष धान राम्रो फलेको बताउँछन् ।

यतिखेर पाक्न थालेको कालीमार्सी धान कात्तिकको पहिलो हप्तातिर काट्ने तयारी हुन्छ । ज्योतिष हेराएर, शुभ साइतमा धान काट्ने यहाँको स्थानीय चलन छ । यसरी रोपिएको यो धान स्याहार्न भने निकै दुःख हुने गरेको छ यहाँका किसानलाई । खेतमा धानसँग झार निकै बाक्लो आउँछ । कम्तीमा पनि दुईदेखि तीनपटक झार गोडेर फाल्नुपर्छ । दसैँको घटस्थापनाका दिन वा यसको भोलिपल्ट प्रतिपदाका दिन स्वाती नक्षत्र पर्छ र यस दिन एक अँगालो नयाँ धान ल्याएर त्यसको चिउरा बनाइन्छ । सुरुमै तयार पारेको त्यो चिउरा चन्दननाथ बाबा र कनकासुन्दरीलाई चढाइन्छ र घरका सबैजनासँगै बसेर बराबर बाँडेर खाने गरिन्छ । त्यो चिउरा एकले अर्कोलाई क्रमशः दिँदै तथा छिमेकीमा समेत बाँडेर खाने खुवाउने परम्परागत रहेकोे संस्कृतिसम्बन्धी जानकार रमानन्द आर्यालले बताए ।

जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताए । कृषि विज्ञहरूका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रंगकोे हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् यो चामलको माग सहरबाट बर्सेनि बढेर आएको छ ।

जुम्ली मार्सी धानबालीमा ब्राउन स्पोट रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएका कारण यहाँका किसान पनि हर्षित भएका थिए । तर, अहिले भने रोग देखिन थालेपछि किसानहरू चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले जिल्लाको तातोपानी गाउँपालिका–४ र ५ का मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोगको प्रकोप पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आचार्यका अनुसार अनुगमनको क्रममा फाटफुट रूपमा ब्लाष्ट रोग देखिएको छ । मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको उनले बताए ।

पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरे पनि यो रोगका कारण मार्सी धानको उत्पादनमा कुनै गिरावट नआउने कृषि संयोजक आचार्यले बताए । मार्सी धान भित्र्याउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।

ब्राउन रोगका कारण उत्पादन नघटे पनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । यहाँ साउनमा भारी मात्रामा वर्षा भएको थियो । यसका कारण यहाँका कतिपय खेतभरि बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएको छ । धान फल्ने बेला बालुवाले खेत भरिँदा कतिपय किसानको उत्पादन सोचेजस्तो नहुने तातोपानीका–४ का स्थानीयबासी सत्यदेवी पाण्डेले बताइन् ।

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ गौरसरकारी संस्था लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा विगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बिउ बैंक’को रूपमा काम गर्दै आए पनि बर्सेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षौंपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै निकाल्न सकेको छैन । गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको लिबर्ड जुम्लाले जनाएको छ ।

मार्सी धान समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्छ । यो धानको खेती नेपालको उच्च हिमाली जिल्ला जुम्लामा मात्र राम्रो हुने गरेको पाइन्छ । यो धानको चामल रातो र भात पकाउँदा हल्का गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने गरेको बताइन्छ । मार्सी चामलको भात खाँदा चाँडो भोक नलाग्ने र आडियो हुने गरेको धानबाली विशेषज्ञहरू बताउँछन् ।

जुम्लामा मार्सी धानको बिउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकको पहिलो हप्तासम्ममा काटिन्छ । स्थानीय मानिसहरूमा मार्सी धान रोप्ने बेला युवाहरू घरमा भएनन् या आएनन् भने उनीहरूको मृत्यु भएसरह मान्ने पम्परागत चलन पनि रही आएको छ । मार्सी धानको खेतीलाई यसरी स्थानीय परम्पराअुनसार महत्व दिने गरिएको छ । तर हिजोआज यो प्रचलन त्यति नरहेको यहाँको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।

निकै पोषिलो र अत्यधिक कार्बोहाइड्रेट भएको मानिने काली मार्सी धानलाई स्थानीयहरूले पनि स्वास्थ्यवर्धक खानाका रूपमा नै लिने गर्दछन् । त्यसैले पनि अहिले मार्सी चामलको भात चाख्न खोज्नेहरूको जमात जुम्लामा पनि बढिरहेको छ । चामलको माग बढेकाले जुम्लादेखि कालीमार्सी धान लगेर काठमाडौंमा व्यावसाय गर्नेहरू पनि बर्सेनि बढ्दै छन् । लामो समयदेखि कालीमार्सी चामलको व्यापार गर्दै आएका जुम्लाका प्रकाश कार्कीलाई नेपालमा केही समयदेखि जारी कोरोना भाइरसको प्रकोप र यसका कारण जारी बन्दाबन्दीले व्यावसाय नै प्रभावित पारेको बताउछन् ।

हाल कालीमार्सीमा विभिन्न रोग लाग्ने तथा जलवायु परिवर्तनको प्रभावले गर्दा पनि धान उत्पादन घट्दै गएकाले जुम्लाका स्थानीयबासी बताउँछन् । त्यसैले पनि उनीहरू हालैका वर्षहरूमा आयातित सेतो चामलको भात खान बाध्य भएको बताउँछन् । हिमा गाउँपालिका–४ का जयबहादुर रोकायाले भने, ‘हाम्रो बाल्यअवस्थामा यस्तो चामल नै थिएन । तर, अहिले गाउँसम्म नै गाडी आएदेखि सेतो चामल भित्रिएको हो ।’ सेतो चामलमा स्वाद राम्रो नरहेको उनको अनुभव छ । यहाँका अरू स्थानीयको भनाइ पनि एकै प्रकारको छ । तैपनि यही सेतो चामल खान बाध्य भएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय