निजामती कर्मचारी विरोधमा

बारा । बाराको फेटा गाउँपालिकामा निजामती कर्मचारीले सम्पूर्ण कामकाज ठप्प गरी विरोधमा उत्रिएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा स्थानीय तहका कर्मचारीहरूलाई मतदान नहुने घोषणा गरिएको छ । सोही घोषणाको विरोध गर्दै गाउँपालिकाका कर्मचारीहरूले हातमा कालोपट्टी बाँधी सम्पूर्ण कामकाज ठप्प गरी विरोध प्रदर्शन गरेका छन् ।

नेपाल मधेसी निजामती कर्मचारी मञ्चले यो निर्वाचन तत्काल स्थगन गर्न माग गरेको छ । थ्रेसहोल्डका कारण निर्वाचनमा सहभागी हुन नपाउने भएपछि मञ्च विरोधमा उत्रिएको हो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ । यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन् ।

निर्वाचन स्थगनको माग गर्दै मञ्चले पर्सा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी र नवलपरासीमा ज्ञापनपत्र बुझाएको छ । १० प्रतिशत थ्रेसहोल्डलाई तीन प्रतिशतमा झार्नुपर्ने र कोरोना संक्रमणका कारण प्रचारप्रसार गर्न अप्ठ्यारो भएकाले चुनावको मिति सार्नुपर्ने मञ्चका पदाधिकारीको माग छ ।

प्रतिक्रिया