अभिभावकविहीन बनाएर जर्साब …

काठमाडौंको सामाखुसीमा रहेको निजी आवासीय माध्यमिक विद्यालय श्वेत सदन माध्यमिक विद्यालयमा यो पंक्तिको लेख कवि ०६३ सालदेखि व्यवस्थापकीय हिसाबले संलग्न हुन थालेको हो । यदाकदा विद्यालयले आयोजना गर्ने विशेष कार्यक्रमहरू तथा नियमित भेटघाटका क्रममा अशधनीहरूको सूचीमा कुलबहादुर खड्काको नाम पनि देखिन्थ्यो । तर, त्यो नामको वास्तविक परिचय थाहा हुन सकेको थिएन । त्यो नामको वास्तविक परिचय हामी अशधनीहरूले मात्र होइन् सारा नेपालर विश्वकै सञ्चार क्षेत्रले ०६६ सालमा घटेको रुक्मांगद कटुवाल प्रकरणले छताछुल्ल पारिदियो ।

कटुवाल प्रकरणको उठान र अवतरण पश्चात् नेपाली सेनाको जिम्मेवारीबाट अवकाश पाएपछि जर्साव कुलबहादुर खड्काको विद्यालयका स–सानादेखि विशेष कार्यक्रमहरूमा नियमित रूपमा संलग्नता हुन थालेको हो । आफूभन्दा निकै कनिष्ट अर्थात् छोराछोरीको उमेरका सहकर्मीहरूसित पनि मित्रवत् सम्बन्ध राख्न खप्पिस खड्कामा पेसाका हिसाबले आममान्छेले सोच्ने गरेको सेनाको उच्च पदवाट अवकाश पाएको सैन्य अधिकृतको जस्तो फौजी शैली पटक्कै थिएन ।

विद्यालयका कार्यक्रमहरूमा उनले दिने मन्तव्यहरूमा शिक्षालाई सैद्धान्तिक र रुढताका रूपमा मात्र ग्रहण नगरी व्यावसायिक र जीवनोपयोगी कर्मका रूपमा ग्रहण गर्नुपर्ने र त्यसै अर्थमा त्यसलाई आत्मसात गर्नुपर्ने मान्यताका पक्षमा वकालत गरिएको हुन्थ्यो । आफूभन्दा निकै कनिष्ठ सहकर्मीसित घनिष्टता राख्ने सोचले गर्दा यी पक्तिका लेखकको लगभग १२ वर्षको सहयात्रामा जर्साबको व्यावहारिक समाजशास्त्रको सार्थक परिचय प्राप्त भएको हो ।

यदाकदा अशधनीहरूका बीचमा हुने सानाठूला विवादहरूलाई फौजी शैली तर रोमाञ्चक वातावरणमा दुवैपक्षलाई हसाउँदै फकाउँदै सहमतिमा ल्याउने जर्साबको शैली बढो रहरलाग्दो थियो । एकपटक विद्यालय व्यवस्थापन र विद्यालयका एक सञ्चालकले सञ्चालन गरेको सहकारीका बीचको लामो समयदखि कचल्टिइरहेको आर्थिक विवादले विद्यालय परिवारलाई पिरोलिरहेको अवस्था थियो ।

समस्या समाधानका लागि गठन गरिएको हिसाबमिलान समितिलाई समेत समस्या सल्टाउन मुस्किल परेको स्थितिमा जर्साबले विद्यालय सञ्चालक समिति र हिसाब मिलान समितिको संयुक्त बैठकमा दुवै द्वन्द्वरत पक्षलाई हसाउँदै हसाउँदै मायालु तर फौजी शैलीमा मध्यमार्गको बिन्दुमा सहमति गराई संस्थाको लामो समयदेखि बल्झिरहने पिलोलाई निचोरेर समस्याको निप्टारा लगाइदिएका थिए । यसरी कुनै समस्यालाई अद्भूत किसिमले समाधान गर्ने बढो अचम्मको शैली थियो जर्साबको ।

कटुवाल प्रकरणको कुरा चल्दा कटुवालले आफ्नो आत्म संस्मरणबाट तपाईंका बारेमा यदि जेजति गलत कुराहरू आएका छन् भने तिनको जवाफमा तपाईंले पनि आफ्नो आत्मकथाको प्रकाशन गर्नुपर्छ जर्साब भनेर उनलाई उक्केरा लगाइरहनेमा म नै अगाडि थिएँ । हजुरले घटना र कथा मात्र भनिदिनुहोस् त्यसलाई सम्पादन गरेर पुस्तकका रूप दिनहामी पूर्ण सहयोग गर्छाैं भन्नेमा म र विद्यालय सम्बद्ध लेखक शारदारमण नेपाल सधैँ झक्झक्कयाउथ्यौँ र निक्कै जोडबल गरेपछि उनले आफू यो कार्य सुरु गर्छु भनेर आश्वासन पनि दिएका थिए ।

त्यो कार्य यदि सुरु भएको छ भने आज कहाँ पुग्यो थाहा छैन । उहाँको १३आँै पूण्यतिथिपछि उहाँका सुपुत्र मेजर प्रवीणसित यसबारेमा जानकारी लिने मनस्थिति यी पंक्तिकारको रहेको छ र अब झन् त्यसको आवश्यकता टड्कारो रहेको छ । यसका लागि उनको परिवारको पहल अब निक्कै महत्वपूर्ण हुनेछ ।

कटुवाल प्रकरणप्रति हामी विद्यालय परिवारको जे चासो उनीमाथि भएको प्रकरणको आसपासमा राखिन्थ्यो उनको जवाफ एउटै हुन्थ्यो र त्यो थियो­भारतको खेल । राजनीतिक किसिमले यसका सकारात्मक र नकारात्मक दुवै कोणबाट चर्चा परिचर्चा थुप्रै चले र चल्दै पनि जालान् तर एउटा सार्वभौम मुलुकको जननिर्वाचित कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिसलाई आलंकारिक राष्ट्रपतिले रातारात सर्लक्कै उल्टाइदिएको यो परिघटना नेपालको इतिहासको अत्यन्त सघन र क्रूर यथार्थ थियो ।

माओवादीले तपाइलाई नेपाली सेनाको सेनापति बनाउन खोजेको हो तर …, भनेर यदि कुनै व्यक्ति तथा मिडियाकर्मीले सोध्यो भने जर्साब सर्वप्रथम तिनको झाँको झारिदिन्थे र भन्थे त्यो समयमा मलाई माओवादीले प्रधानसेनापति बनाएको होइन तत्कालीन नेपाल सरकारले बनाएको हो । हुन पनि हो माओवादी नेतृत्वको नेपाल सरकारले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । तर, राष्ट्रपति प्रकरणका कारण सो निर्णय उल्टियो ।

२००८ साल असार ६ गते लमजुङको भलायखर्क भन्ने ठाउँमा पिता शुभबहादुर र माता भक्तिमाया खड्काको कोखबाट जन्मेका कुलबहादुर खड्काको बुढ्यौली अवस्थामा पनि अजंगको शरीर थियो देख्दै हात्ती पनि पछार्लान् जस्तो । प्रारम्भिक शिक्षा लमजुङकै ज्ञानोदय प्राथमिक विद्यालयबाट लिएका उनले काठमाडौंको जुद्धोदय पब्लिक स्कुलबाट एसएलसी पास गरेका थिए । काठमाडौंको अमृत क्याम्पसबाट आइएससी उत्तीर्ण गरी ०२८ सालमा सेकेन्ड लेफ्टिनेन्टको पदबाट सैन्य जीवन सुरु गरेका थिए उनले । स्नातक र स्नातकोत्तरको उपाधि खड्काले प्राइभेट परीक्षार्थीका रूपमा प्राप्त गरेका हुन् ।

अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दा उनी एमाले नेता झलनाथ खनालका सहपाठी थिए र कतिपय पत्रकारहरूले कटुवाल प्रकरणको प्रसंगमा खनाल चीन जानुअघि कटुवाललाई हटाउने पक्षमा सहमति दिनुलाई यसै प्रसंगसित जोड्ने पनि गरेका छन् । विश्वका थुप्रै देशहरूमा सैन्य जीवनका सिलसिलामा भ्रमण गर्ने खड्का जीवनको उत्तरार्धमा काठमाडौंको महाराजगञ्जमा रहेको आफ्नै निवासमा थिए ।

तर, आफ्नो जन्मभूमि लमजुङको भलायखर्कमा नै शेष जीवन विताउने ध्येयले त्यहाँ पनि आधुनिक शैलीको घर बनाइसकेका थिए । बाँकी जीवनलाई जन्मभूमिको काखमै समर्पण गर्ने चाहना भएका उनको जीवनमा गत १३ साउन मंगलबार भीषण बज्रपात भयो, साधारण बिरामी अवस्थामा छँदै उनको अजंगको शरीर जसले हात्ती पछार्ने क्षमता राख्थ्यो कालसँग भने सजिलै हा¥यो, उनको जीवनले भौतिक रूपमा हामीबाट विश्राम लियो । हाम्रो विद्यालय परिवारलाई अभिभावकविहीन बनाउँदै महाप्रस्थान गरे जर्साबले ।

उनका बारेका यी पंक्तिहरू कम्प्युटरमा टाइप गर्दा म मेरो पारिवारिक जमघटमा राजनीतिज्ञ बाचस्पति देवकोटासहित जर्साबसित बसेर फोटो खिचेको, उनी हाम्रो पसलमा आएर पुस्तकहरू खरिद गरेको स्मृति दृश्यलाई सिनेमाको पूर्वदीप्तिका रूपमा संझिरहेको छु । राजनीति, कानुन, आयुर्वेदशास्त्र तथा इतिहास आदि विषयक पुस्तकहरूसित गम्भीर रूपले एकाकार हुन चाहने जर्साबको हँसिलो चेहरा आज हामीबाट सदाका लागि गुमेको छ ।

नेपाली सेनाको मेजर पदमा कार्यरत उनका एक मात्र सुपुत्र प्रवीण खड्कालाई उहाँको शोकमा हामी पनि बराबर संवेदित छौँ भन्दै भेटघाट गरेर आएपछि त अझ जर्साबको प्रतिच्छाया कम्प्युटरको स्क्रिनमा घुमिरहेको पाउँदै छु । गएको पुस महिनाको कुनै शनिबार हुनुपर्दछ विद्यालयको साधारणसभाको अवसरमा भएको भेटघाट, गफगाफ र कार्यक्रमको समाप्तिपश्चात एउटै टेबुलमा बसेर गरिएको भोजन जर्साबसितको अन्तिम सशरीर भेटघाट रहेछ । थुप्रै सहभागीहरू त्यहाँ रहे पनि भोजनकार्य उनकै समीपमा हुनु र यो संयोगपछि उनीसित सशरीर भेट नहुनुले निबन्धकार शंकर लामिछानेले आफ्नो कृति बिम्बप्रतिबिम्बमा उतारेका अबिच्युरी नायकहरूको सम्झना गराएको छ । अलबिदा जर्साब हामी तपाईंलाई सधैँ सझिरहनेछौँ ।

प्रतिक्रिया