चोरी तथा डकैतिका फरार प्रतिवादी पक्राउ

विदुर । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा चारपाँच जनाको समूहले जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेकोमा नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा मोबाइल फोन प्रयोगकर्ता शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादी उमेशसहित दुप्चेश्वर गाउँपालिका–५ का ३५ वर्षीय सानोकान्छा तामाङलाई काठमाडौंको सिआइबीसमेतको संयुक्त टोलीले खोजी गरिरहेको थियो ।

प्रहरी निरीक्षक फुयाँलका अनुसार पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–५ का ३५ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका– २ का ३६ वर्षीय भूपेश घलेलाई आज जबर्जस्ती करणी तथा डाँकासम्बन्धी कसुर मुद्दा अन्तर्गत अनुसन्धानपश्चात् जिल्ला अदालतमा थप अनुसन्धानको लागि पठाइएको छ । उक्त घटनामा संलग्न पाँच फरार प्रतिवादीमध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानका दायरामा ल्याएको छ ।

प्रतिक्रिया