भाषिक औपनिवेशिकताले राष्ट्रियता कमजोर

                                     गोपाल सुवेदी

दिउँसोको समय थियो । काम सकेर घर फर्किंदैै थिएँ । पानी पर्न थाल्यो । झोलामा छाता त थियो तर ठूलै पानी परिरहेकोले छाताले जोगाउन सक्ने अवस्था थिएन । नजिकैको चिया पसलमा छिरेँ । पसलमा भिडभाड राम्रै थियो । एक कप चिया पाउँ न साहुजी भन्दै मुढामा बसेँ । चार जनाको एउटा टोली गफमा व्यस्त थियो । अरु सबै चुपचाप कुरा सुनेर बसिरहेका थिए । म पनि राम्रो स्रोता भएर गफ सुन्न थालेँ । साहुजी पनि आफ्नो काम गर्दै छलफलमा सक्रिय रुपले सहभागिता जनाइरहेका थिए । अत्यन्त गहन विषयमा छलफल केन्द्रित थियो । छलफलको विषय थियो ‘राष्ट्रियता’ ।

एक जना भन्दै थिए, ‘राष्ट्रियता समान जाति, समान धर्म, समान भाषा, समान इतिहास भएका अनि निश्चित भूभागमा बसोबास गर्ने मानिसहरुको बीचमा विकसित हुने आत्मिक भावना हो ।’ अर्कोले थपे, ‘राष्ट्रियता समान इतिहास बोकेका समान संस्कृति भएका र समान भविष्यको परिकल्पना गर्ने मानिसहरुको बीचको साझा मानसिक अवधारणा हो ।’ बीचमै अर्काले फेरी बोले, ‘राष्ट्रियता भनेको मानिसहरुको साझा पहिचानको आधारमा विकसित हुने एउटा साझा मनोवैज्ञानिक अवधारणा र विषयगत विचार हो ।’

चौथोले थपे, ‘हो, राष्ट्रियता एउटा साझा विचार हो जुन साझा पहिचानमा आधारित हुन्छ र साझा पहिचान भन्नाले आफ्नो भाषा, भेषभूषा, रीतिरिवाज, परम्परा, खानपान, रहनसहन, मूल्य मान्यता आदि भन्ने बुझिन्छ । आफ्नो पहिचान हामीले छोडनु हुंदैन । राष्ट्रियताको सवालमा हामी एक जुट हुनुपर्छ ।’ छलफल अत्यन्त रोचक थियो । सबैले व्यक्त गरेका विचारहरुमा केही भिन्नता देखिए पनि धेरै हदसम्म समानता नै थियो । यिनै विचारहरुमा केन्द्रित भई छलफल चलिरहेको थियो । पानी पर्न बन्द भइसके पनि उठेर हिँडी हाल्न मन लागेन । कुरा सुनेर बसिरहेँ ।

यत्तिकैमा छेवैमा रहेको विद्यालयमा छुट्टीको घण्टी बज्यो । एक जना नानी विद्यालयबाट आफ्नी आमासँग पसलमै आइपुगिन । नानीले ‘हाइ डैडी’ भनिन् ती चार जनामध्येका चौथो वक्ताले तिनलाई काखमा लिँदै ‘हाइ माइ लिटिल एन्जेल’ भने, म झसँग भएँ । तिनले अघि भर्खरै राष्ट्रियताको अर्थ बुझाउँदा भाषालाइ पनि त्यसको अभिन्न अंगको रुपमा चित्रित गरेका थिए । तर छोरीलाई बा, बाबा, बुवा भन्न नसिकाई डैडी भन्न सिकाएका रहेछन् । आफूले पनि छोरीलाई एन्जेल भनेर बोलाउँदा रहेछन् ।

छोरीको गलामा विद्यालयको परिचय–पत्र झुण्डिइरहेको थियो । विद्यालयको नाम पढन सकिन तर त्यसबाट थाहा भयो छोरीको नामचाहिँ एञ्जेलिना राखेका रहेछन् । अब मलाई त्यहाँ बसेर कुरा सुनिरहन इच्छा भएन । उठेर घरतिर लम्किएँ । हिँडदाहिँडदै सोच्न थालेँ । नेपालमा संविधान सभाले प्रदेश विभाजनको मापदण्ड निर्धारण गर्दा पहिचान र सामाथ्र्यलाई आधार बनाएको थियो । पहिचानभित्र पर्ने धेरै तत्वहरुमध्ये भाषालाई पनि सायद एउटा तत्वको रुपमा समेटिएको थियो होला । हाम्रो देश सांस्कृतिक विविधताको धनी देश हो ।

जहाँ १२३ वटा भाषा बोलिन्छ । त्यही भएर सबै मातृभाषाहरुलाई राष्ट्रभाषा र नेपाली भाषालाई सरकारी कामकाजको भाषा मानिएको छ । अन्य मातृभाषाहरुलाई पनि प्रदेश तथा स्थानीय तहभित्र सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन सकिने प्रावधान पनि राखिएको छ । त्यस्तै मातृभाषामा शिक्षा पाउने कुरालाई पनि मौलिक हकको रुपमा राखिएको छ । हाम्रो संविधानले हाम्रा मातृभाषालाई यति धेरै महत्व दिएको अवस्थामा शिक्षित वर्गले नै हाम्रा मातृभाषालाई उपेक्षा गरेको देख्दा मन खिन्न हुनु स्वाभाविक थियो ।

म गन्तव्यतर्फ हिँडिरहेको थिएँ । हिँडाई सामान्य गतिको थियो, तर मनभित्र खेलिरहेका मेरा विचारको हिँडाईको गति धेरै तीव्र थियो । ती चार जनाले राष्ट्रियताको बारेमा व्यक्त गरेका धारणाबारे म असहमत थिइन् तर राष्ट्रियतालाई पहिचानसँग र पहिचानलाई आफ्नो संस्कृति, भेषभूषा, खानपान, रहनसहन, मूल्य मान्यता अनि भाषासँग जोडनुपर्छ भनी वकालत गर्ने तिनको अंग्रेजी प्रेमले मलाई झस्काएको थियो । राष्ट्रियताबारे तिनको भनाई र बुझाई अनि व्यवहार परस्पर अन्तरविरोधी थियो ।

यस्तो लाग्थ्यो राष्ट्रियताको परिभाषालाई तिनले पढाईको प्रमाणपत्र लिनको लागि मात्र दिमागको एक छेउमा बास दिएका हुन् त्यसको मर्म र भावनाले उनको हृदयलाई किञ्चित पनि स्पर्श गरेको छैन । मन अशान्त थियो र अनेकौं कुराहरु मनभित्र खेलिहेका थिए । यसै सन्दर्भमा अर्को एउटा घटना पनि सम्झिन पुगेँ । सार्वजनिक सवारीमा लामो दूरीको यात्रामा थिएँ । एक जना खाइलाग्दा मानिस पनि सपरिवार मेरो सिटको अगाडि थिए । श्रीमान, श्रीमती मेरो सिटको अगाडि र दुई जना छोरीहरु उनीहरुको सिट अगाडि थिए ।

उनीहरु नेपाली भाषामै कुरा गरिरहेका थिए तर भाषामा नेपालीपन थिएन । करिब करिब ७५ प्रतिशत अंग्रेजी मिसिएको त्यसैमाथि अंग्रेजी लवजमा बोलिएको नेपाली भाषा सुन्नलाई नै अप्ठयारो लागिरहेको थियो । छोरी भन्दै थिइन्, ‘डैड क्यारोलिनाको बर्थडे सेलेब्रेसन एकदम जोयफुल र मेमोरेबल गणुपर्छ ।’ डैड भन्दै थिए । ‘डोन्ट वोरी सोफिया तिमीहरुको इन्टरेस्ट अनुसार नै इभेन्ट मैनेज हुन्छ ।’ कुराकानी नेपालीमा भइरहेको थियो तर नेपाली शब्द आक्कलझुक्कल मात्र सुनिन्थे ।

तिनीहरु यही शैलीमा कुरा गरिरहेका थिए । उदेकलाग्दो कुराकानी सुन्दासुन्दा थाहा भयो ठूली छोरीको नाम सोफिया र कान्छी छोरीको नाम क्यारोलिना रहेछ र कान्छी छोरीको जन्मदिन मनाउने सन्दर्भमा कुराकानी भइरहेको रहेछ । उनीहरुका यस्तै यस्तै कुरा सुन्दासुन्दै म निदाएछु । आँखा त्यतिबेला खुल्यो जब बस खाजा खानको लागि रोकियो । मलाई तिनी नेपाली भाषाका शल्यचिकित्सकसँग चिनजान गर्न मन लाग्यो । चिनजानपछि थाहा भयो तिनी सरकारी कर्मचारी रहेछन् र काठमाडौंमै बस्दा रहेछन् । छोरीहरु कलेज पढ्दा रहेछन् ।

सानैदेखि अंग्रेजी माध्यममा पढाइ हुने ठाउँमा पढेका रहेछन् । जहाँ नेपाली भाषाको कक्षाभन्दा बाहेक अरु बेला नेपाली भाषा नबोलिने रहेछ । नेपालमै जन्मेहुर्केका र नेपालमै पढिरहेका छोरीहरुलाई नेपाली बोल्न अप्ठयारो लाग्नुलाई उनले सामान्य रुपमा लिएका रहेछन् । तर मलाई चित्त बुझेन र तिनलाई केही भन्न पनि मन लागेन किनभने उनले बोल्ने नेपाली भाषा बुझ्न सक्छु जस्तो मलाई लागेन । यो घटनाले रनभुल्ल परेको मेरो मन पछिल्लो घटनाले विक्षिप्त अवस्थामै पुगे जस्तो लाग्यो ।

यही पाराले हामी अगाडि बढ्दै गयौं भने भोलिका दिनमा नेपाली भाषा पढनको लागि हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालय पो जानुपर्ने हो कि भन्ने चिन्ताले सताउन थाल्यो । मनभित्र प्रश्न तेर्सियो हामी नेपाली हौं भन्ने चिनिने र चिनाउने केले ? हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पोशाक, हाम्रो इतिहास, हाम्रो खानपान, हाम्रो रहनसहन यिनै हैनन् हाम्रा चिनारी । हाम्रा धेरै चिनारीहरुमध्ये भाषा पनि त एउटा मुख्य चिनारी हो । तर, किन हामी आफ्ना सन्तानलाई नेपाली भाषाबाट टाढा बनाउँदैछौं ।

नेपाली भाषाप्रति किन उसमा घृणाभाव जगाउँदैछौं । अंग्रेजी हाम्रो आफ्नो भाषा होइन यो केवल सम्पर्क भाषामात्र हो तर किन आफ्नो सन्तानलाई अंग्रेजीपे्रमी बनाउनतिर हाम्रा सारा प्रयासहरु केन्द्रित गरिरहेका छौं । एउटा बच्चाले आफ्नो मातृभाषामै पहिलो शब्द सुनेको हुन्छ र त्यही भाषामा बोल्ने प्रयास गर्न थाल्छ । छरछिमेक साथीभाईसँग सम्पर्क भाषाको रुपमा नेपाली भाषामा बोल्न थाल्छ । तर उ कलिलै उमेरको हुँदा अभिभावकको अंग्रेजीपे्रमले गर्दा अंग्रेजी स्कुलमा पढन बाध्य हुन्छ ।

स्कुलको नामदेखि पठनपाठन र अतिरिक्त गतिविधिको अंग्रेजीकरणले बिस्तारै बिस्तारै नेपाली भाषाप्रतिको उसको लगाव घट्दै जान्छ । ‘चि मुसी चि’ भन्दा ‘जोनी जोनी यस पापा’ तिर झुकाव बढ्दै जान्छ । नमस्तेभन्दा गुड मर्निङमा आफ्नो बुद्धिमत्ता र स्तरीयता देख्छ । बुवाआमाको मुख हेर्ने दिनको अत्तोपत्तो हुँदैन ‘भ्यालेन्टाइन डे’ को तयारी एक महिना अगाडिदेखि शुरु हुन्छ ।

बैशाख १ गते नयाँ वर्षभन्दा भ्रमित हुन्छ न्यु इयर त जनवरी १ तारिखमा मनाउने भन्ने बुझाइले जरा गाड्न थाल्छ । दशैंमा घर सरसफाइ, लिपपोतको महत्व देख्दैन मेरी क्रिसमसमा घरमात्र हैन टोल नै झिलिमिली बनाउनुपर्छ भन्नेतिर लाग्छ । सैंतीसभन्दा बुझ्दैन थर्टी सेभेन भनेर बुझाउनुपर्ने हुन्छ । यसप्रकार बिस्तारै आफ्नो भाषा, संस्कृतिदेखि टाढिँदै अंग्रेजी भाषा अनि अंग्रेजी संस्कृतिसँग नजिकिंदै जान थाल्छ । विद्यालय भनेको ज्ञान आर्जन गर्ने ठाउँ हो ।

तर, अंग्रेजी भनेको नै ज्ञान हो भन्ने भ्रमले यो एउटा भाषामात्र हो भन्ने वास्तविकता ढाकिन पुगेको अवस्था छ । आफ्नो भाषामा पढनु जति प्रभावकारी अरुको भाषामा पढेर हुँदैन । सोही कुरालाई आत्मसात गरेर हामीले संविधानमा पनि यो वास्तविकतालाई स्थान दियौंं । तर सरकारी स्कुलभन्दा स्तरीय देखिने एउटा औजारको रुपमा निजी स्कुलहरुको पढाइको माध्यम नै अंग्रेजी भाषा भइदियो ।

अंग्रेजीलाई भाषाको रुपमा मात्र लिँदै निजी स्कुलहरुले पनि सरकारले निर्धारण गरेकै अंग्रेजीबाहेकका अन्य पाठयक्रम नेपाली माध्यममै पढाउँदा त्यसको चौतर्फी प्रभावकारिता अवश्य पनि बढी हुन्थ्यो । यदि बेलैमा यो विषयलाई गम्भीरतापूर्वक लिइएन र अंग्रेजीकरणरुपी भाषिक औपनिवेशिकताबाट मुक्त हुन खोजिएन र सकिएन भने नेपालमा जन्मेर अनि नेपालमै पढेर पनि हाम्रो भावी पिँढी अंगे्रजी भाषा र अंग्रेजी संस्कृतिप्रति आकषर््िात हुन गई हाम्रो भाषा, हाम्रो संस्कृति अनि समग्रमा हाम्रो पहिचान नै मेटिने अवस्था नआउँला भन्न सकिँदैन ।

प्रतिक्रिया