‘२ नम्बरी’ को छायांकन फागुनमा

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरसको सन्त्रासले अहिले मानिसलाई बन्दी जीवन जिउन बाध्य पारेको छ । यसको प्रभाव नेपालमा पनि तिब्रतर गतिमा बढिरहेको छ । यसले नेपाली चलचित्र क्षेत्रमा नराम्ररी प्रमावसमेत पारेको छ । कोरोनाका कारण लगाइएको बन्दाबन्दीअघि करिब ३० प्रतिशत छायांकन सकिएको चलचित्र ‘२ नम्बरी’ को टिमले अरु काम अगाडि बढाउन सकेको छैन ।

चलचित्रको छायांकन भइरहेका बेला सरकारले बन्दाबन्दी लगाएपछि काम रोकिएको थियो । कोरोना कहरका कारण ४ महिना बितिसक्दा यस चलचित्रको छायांकन अघि बढ्न सकेको छैन । यसैबीच चलचित्र निर्माण पक्षले फागुनअघि काम सुरु नगर्ने जनाएको छ । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुन अगाडि नपाइने भएकाले छायांकन अघि नबढाउने निर्माण पक्षले बताएको छ ।

चलचित्रमा अभिनेता दयाहाङ राई, पल शाह, अभिनेत्री वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । यो चलचित्रको काम रोकिएपछि निर्माता नेपाली नयाँ चलचित्रको कथामा व्यस्त रहेका छन् । उनले, ‘२ नम्बरी’ को बाँकी छायांकनअघि नै नयाँ चलचित्रको काम सक्ने तयारी गरिरहेको बताए । उनका अनुसार चलचित्रको टिम केही दिनमा नै तय गरिनेछ ।

प्रतिक्रिया