कला दस्तावेजको अभाव

काठमाडौं । नेपालमा प्राचीनकालदेखिका कलाको दस्तावेजको कमी रहेको सरोकारवालाले बताएका छन् । उनीहरुले दस्तावेजीकरणमा राज्य तथा सरोकारी संस्थाले निकै काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । बौद्धस्थित तारागाउँ म्युजियमले गरेको कला पत्रकारिता, लेखन तथा समीक्षा विषयक बहसमा वक्ताहरुले कलाको संस्थागत विकासविना अगाडि बढ्न नसकिने तर्क गरेका हुन् ।

भर्चुअल माध्यमबाट गरिएको बहसमा कलाकार तथा लेखक सरोज बज्राचार्य, कलाकार, लेखक तथा सञ्चारकर्मी देवेन्द्र थुम्केली र सञ्चारकर्मी संगीता श्रेष्ठ सहभागी भएका थिए । सो कार्यक्रममा लेखक तथा कलाकार बज्राचार्यले पहिले कलाकार सबल हुनुपर्ने बताउँदै यसको व्यवसायिक विकासमा जोड दिए । उनले नेपालमा कलालेखनका सन्दर्भमा दस्तावेजको अभाव रहेको जिकिर गरे । उनले भने, ‘नेपालको प्राचीनकालदेखि अहिलेसम्मका कलाकृतिको सहज दस्तावेजीकरण हुन सकेको छैन ।

पहिला यसमा काम हुनुपर्दछ तब कलालेखन तथा समीक्षाको विकासले गति लिन्छ ।’ त्यस्तै, थुम्केलीले संस्कृति नीतिको आवश्यकता रहेको बताउँदै नेपालमा कलाको शैक्षिक विकाससँगै खोज अनुसन्धानमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘कलाको विषयलाई विद्यालय स्तरका पाठ्यक्रममा समेटिनुपर्दछ । त्यसैगरी, विश्वविद्यालय, प्रतिष्ठानहरु, गैरसरकारी संस्था, व्यक्ति तथा व्यापारिक प्रतिष्ठानले खोज अनुसन्धान एवं प्रवद्र्धन, विकास र संरक्षणमा ध्यान दिनुपर्दछ ।’

नेपाली सञ्चार जगतले कलालेखन तथा पत्रकारितामा विशेष स्थान दिएको सञ्चारकर्मी श्रेष्ठले बताइन् । उनले नेपालमा खासगरी सञ्चार माध्यमले कलालाई प्रशंसायोग्य बनाउन महत्वपूर्ण सहयोग गरेको विचार व्यक्त गरिन् । सो कार्यक्रम तारागाउँ म्युजियमका निर्देशक तथा कलाकार रोशन मिश्रले सहजीकरण गरेका थिए । तारागाउँले यसअघि कलासँग सम्बन्धित विविध तीन विषयमा बहस गरिसकेको निर्देशक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया