
काठमाडौं । सञ्चारकर्मी तथा कलाकार चिरञ्जिवी सापकोटाको गीत ‘जात’ सार्वजनिक भएको छ । उनले पश्चिम रुकुमको सोती घटनापछि मुलुकमा जातीय विभेदविरुद्धको संघर्ष चलिरहेका बेला गीत ल्याएका हुन् । गीतमार्फत् उनले जातीयरुपमा गरिने विभेदलाई उजागर गरेका छन् ।
गीतमा सापकोटासँगै गायक प्रताप दास र प्रवीन भट्टको आवाज रहेको छ । ललित पौडेलको शब्दमा रहेको उक्त गीतमा ओम सुनारको संगीत छ । गीतको भिडियोमा पत्रकार रवीन्द्र सुवेदी, अवि सुनार र गीता ढुंगानाको अभिनय छ । आहा टिभीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतले सामाजिक जागरण ल्याउने आशा राखेको सापकोटाले बताए ।
उनले गीतमा २१औं शताब्दीमा पनि जातका आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेकाले आममानिसलाई जागरुक बनाउने र विभेदविरुद्ध कडा कानुनी कारबाही गर्नुपर्ने जिकिर गरे । उनले आममानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको सुनाए ।
प्रतिक्रिया