
बेजिङ । कोरोना भाइरसका कारण चीनका ४० प्रतिशतभन्दा बढी सिनेमाघरहरू बन्द हुन सक्ने समाचार सार्वजनिक भएको छ । कोरोनाले निम्त्याएको विषम आर्थिक कारणले अधिक हल बन्द हुने स्थितिमा पुगेको चिनियाँ चलचित्र संघले सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वैश्विक महामारीको रुप लिएको कोरोनाका कारण हाल अस्थायी रूपमा बन्द रहेका हलमा दर्शकलाई जान प्रेरित गर्न संघर्ष गर्नुपर्ने संघले जनाएको छ । पछिल्लो समय इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रिमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले भर्चुअल माध्यममार्फत् चलचित्र हेरेर मनोरञ्जन लिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यसले अधिकांश सिनेमाघर स्थायी रूपमै बन्द हुनसक्ने एक चिनियाँ व्यापारविज्ञले आँकलन गरेका छन् । एक अनुसन्धान संस्था आइबिआइएस वल्र्डले जनाएअनुसार चीनमा हाल १२ हजारभन्दा बढी सिनेमाघर छन् । हलमा पुगेर चलचित्र हेर्ने प्रवृत्ति बढेसँगै पछिल्लो दशकमा दुई गुणाले सिनेमाघरको संख्यामा वृद्धि भएको अनुमान छ ।
कोरोना भाइरसपछि चिनियाँ चलचित्र संघले गरेको सर्वेक्षणले प्रत्येक १० वटामध्ये चारवटा सिनेमाघर छिट्टै बन्द हुने अनुमान गरेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण लगाइएको लकडाउन विस्तारै हटाउँदै लैजाने क्रममा सबैभन्दा अन्त्यमा सिनेमाघर खुल्ने जनाइएको छ । चिनियाँ सरकारका अनुसार निश्चित बुकिङ गर्न दिएर सिनेमाघरसहित अन्य मनोरञ्जनस्थल पुनः खोल्न पाइन्छ ।
संघले सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमाघरको आम्दानीमा ठूलो गिरावट आएको उल्लेख गरेको छ । यसबाट पाँच सयभन्दा कम सिट क्षमताका साना सिनेमाघरहरू बढी प्रभावित भएका छन् । गत वर्ष सोही अवधिमा उनीहरूले गरेको आम्दानीको १० प्रतिशतमात्रै अहिले कमाउन सकेका छन् । गत वर्ष चिनियाँ सिनेमाघरले टिकट बिक्रीबाट ६४.२ अर्ब युआन कमाएका थिए ।
प्रतिक्रिया