बहसमा कला शिक्षा

काठमाडौं । नेपालमा कला शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ को ३९औँ शृंखलामा ‘कला शिक्षाको अवस्था र चुनौती’ विषयक बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । उक्त बहसमा काठमाडौं विश्वविद्यालय कलाका विभागका सहप्राध्यापक सुजन चित्रकार तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेलले सहभागी भएका थिए ।

उनीहरुले नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आ–आफ्ना धारणा राखे । भर्चुअल संवादमार्फत गरिएको उक्त बहसमा उनीहरुले समय सान्दर्भिक रुपमा कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्नुपर्नेमा विचार व्यक्त गरे । नेपाली माटो सुहाउँदो कला शिक्षा हुनुपर्नेमा जोड दिँदै डा पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यान दिइ आागामी दिनमा पठनपाठन बनाउनुपर्ने चुनौती थपिएको बताए ।

उनले भने, ‘कोरोना भाइरसका कारण लगाइएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ । प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरु छलफलमै छौं ।’ आगामी दिनमा नेपालमा मौलिक कला र संस्कृतिका विषयलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राख्दै डा.पोखरेलले विश्वविद्यालयसँगै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कलाको महत्वलाई ध्यान दिइ कार्यक्रम ल्याउनुपर्ने जिकिर गरे । उनले नेपालमा खुलेका सबै विश्वविद्यालयले कला विषय अध्यापन गराउनुपर्ने बताए ।

त्यस्तै, सहप्रा. चित्रकारले कला शिक्षा समयापेक्ष हुनुपर्ने भनाइ राख्दै नेपालमा कला शिक्षालाई जटिल नबनाइ सरल दक्ष बनाउनुपर्ने बताए । उनले कला शिक्षालाई पहिलेको जस्तो जटिल नबनाइ सहज र व्यवहारिक बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रुपमा विद्यार्थी उनीहरुको रुचिलाई मार्गनिर्देशन गर्नुपर्दछ ।’ सह.प्रा. चित्रकारले काठमाडौं विश्वविद्यालयले दक्षिण एसियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको सुनाए ।

उनले भने, ‘पश्चिमी तथा पूर्वीय मान्यतामा आधारित कलाका विविध पक्षलाई ध्यान दिएर पाठ्यक्रम बन्नुपर्दछ । जसले हामीलाई सीमित नराखी खुल्ला र दक्ष बनाउन महत्वपूर्ण सघाउँ पुर्याउँछ ।’ नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको अध्यक्ष केशव राज खनालले बताए । उनले कला शिक्षालाई विद्यालय तहदेखि लागु गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण सघाउँ पुर्याउने जिकिर गरे । समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा भएको सो कार्यक्रमलाई आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया