राज्यपक्षले चर्चा गर्न नचाहेका प्रथम सहिदः लखन थापा

इतिहासकार प्रमोदशमशेर राणाको भनाइलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेख अनुसार जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफै श्री ३ बाट श्री ५ हुन लागेका थिए । तर लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै–कसैले बोर्लाङका थापा क्षेत्रीहरू) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको शिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाण्डौ फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए

हरेक वर्ष झैँ यस वर्ष पनि कर्मकाण्डीय हिसावले सहिद सप्ताह वा भनौं सहिद दिवस मनाइयो । हुन् त सहिद दिवस वा सहिद सप्ताहको कुरो गर्दा राज्यको हालसम्मको परिभाषा अनुसार गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द यी चारजना नेपालका प्रथम सहिदहरू हुन् भने टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतचाहिँ जिउँदा सहिदहरू हुन् !

जे होस्, स्वर्गीय धर्मरत्न येँमीले आफ्नो किताब ‘नेपालका कुरा’मा भने झैं ती जिउ“दा सहिदहरू पनि त्यो बेलाको कानुनमा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न÷मार्न नपाइने’ भएकाले मात्रै उनीहरूले जिउँदा सहिद हुने अवसर पाएका हुन् भन्नेमा शंका रहेन । जे भए पनि मरेर जाने सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द जिउँदा सहिदहरू टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतले एकसय चारवर्षे राणाशासन विरूद्ध विगुल फुकेका थिए । तर, एक सय चारवर्ष लामो राणा शासनका सुत्रधार जंगबहादुर राणालाई । आजभन्दा १३३ वर्षअघि नै जंगबहादरलाई हाँक दिदा एकजना लगन थापामगर भन्ने मान्छेले सहादत प्राप्त गरेका थिए । के उनी नै नेपालका प्रथम सहिद होइनन् र ?

अब लागौँ को हुन् लखन थापामगर ? उनी किन र कसरी नेपालका प्रथम सहिद हुन् ? कहाँ जन्मेका थिए ? के गर्थे ? किन सहिद भए ? आदिका बारेमा केही जान्ने÷चर्चा गर्नेतर्फ । गोर्खा जिल्लाको बुङकोटमा जन्मिएका लखन थापामगरको खास जन्म मिति थाहा नभए तापनि उनी स्वयम पनि विक्रम संवत् १९११ मा २० वर्षको उमेरमा उनका पिता पुर्खाले जस्तै मगरहरूको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भए ।

भनिन्छ, उनले परिवारसँगै भारतको अल्मोडामा रहँदा उतै औपचारिक अध्ययन गरेका थिए । उनी घोडचढी, अस्त्रशस्त्र, कलाकौशल आदिमा पनि निपूर्ण थिए भने तान्त्रिक विद्यामासमेत पोख्त थिए । शासन सत्तामा जानलाई अनेकौं गुट÷उपगुटहरूबीच अनेक खालका काण्ड र षड्यन्त्रहरू भइरहने त्यो बेला लखन थापामगरले पनि कोतपर्व, भण्डारखालपर्व लगायतका अनेकौं काण्ड र षड्यन्त्रहरू प्रत्क्षय देखे÷भोगेका थिए ।

यसै क्रममा सन् १९१४ मा भारतमा बेलायतीहरूले खडा गरेको कम्पनी सरकारको अंग्रेज सैनिकविरूद्ध भारतीय सैनकहरूले ठूलो विद्रोह गर्यो । अंग्रेज सैनिकविरूद्ध भारतीय सैनिकले गरेको यो विद्रोहलाई अंग्रेज सैनिकहरूले मात्रै दवाउन नसकेपछि नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्र ३ महाराज रहेका जंगबहादर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर भारतको लखनऊतर्फ लागे ।

जसमा मगरहरूको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरूङलगायतका सैनिक अधिकृतहरू पनि सामेल थिए । यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोस् जनताहरूलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लट्ने क्रममा देखिएको उश्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी, भारतीय जनताहरूको भारतलाई बेलायतीहरूको पन्जाबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे । भलै आफैँसमेत संलग्न नेपाली सेनाले ती भारतीय सेना र निर्दोष जनताहरूको चाहनालाई अमानवीय ढंगले दबाउनु परेको थियो ।

अहिलेको २१ औं शताब्दी भनिएको समयमा त अन्धविश्वास व्यापक छ भने त्यो बेला त झन् कस्तो थियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि अशिक्षित र धर्मभीरू समाज । स्वभावैले जनताहरू बढी नै धर्मकर्ममा विश्वास गर्थे÷राख्थे ।

अतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरूद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । यस क्रममा लखन थापामगरले ‘जंगेले नेपाललाई म्लेच्छ (गोरा) लाई बेच्यो । त्यस्तै दुनियालाई त्राही–त्राही पारेको छ । जातपात छूवाछूत झनै बढाएको छ अब जंगेलाई हटाएर नेपाल आमालाई यो पापको बोझबाट हल्का पार्न पर्छ । यसका लागि मलाई मनकामना देवीले वरदान दिएकी छन् ।

भाइ हो तयार हौँ ।’ भनी गाउँलेहरूलाई ठाऊँ–ठाऊँमा भेला गर्दै चेतना फैलाउन थाले । यसरी केन्द्र (काठमाडाैं) मा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा उता लखन थापामगरले भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार हालको भाषामा (प्रधानमन्त्री) बने भने जयसिंह चुमीमगरलाई सेनापति (जनरल) बनाए । उनले अन्य सहयोगीहरूमा हालको लमजुङ जिल्लाका सुकदेव गुरूङ, हालको ओखलढुंगा जिल्ला रूम्जाटारका ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए ।

यसै क्रममा उनले आफ्नै नेतृत्वमा २ हजार सेनासमेत संगठीत गरेका थिए । ती सेनालाई गोरखाको बुङकोटमा रहेको काहुले भङ्गारमा ठूलो किल्ला र, किल्लाभित्र तीनतले दरबार, पिटी र परेड खेल्ले मैदान (टुँडीखेल) समेत बनाएका थिए । साथै उनले आवश्यक हातहतियार पनि जम्मा गरेका थिए । यस सम्बन्धमा आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरले इतिहासकार प्रमोदशमशेर राणाको भनाइलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेख अनुसार जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफै श्री ३ बाट श्री ५ हुन लागेका थिए ।

तर लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै–कसैले बोर्लाङका थापा क्षेत्रीहरू) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको शिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाण्डौ फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए । अतः जंगबहादुरको आदेश तामेल गर्न आएको काठमाण्डौको सेना र लखन थापामगरको सेनाबीच बुङकोटमा घोर–घमासान युद्ध भयो । अन्तमा काठमाण्डौको सेनाले विजय हासिल गरेपछि लखन, जयसिंहलगायत उनीहरूका सहयोगीहरूलाई तत्कालै नमारेर पाता कसेर, बाँसको पिँजडामा हालेर काठमाण्डौ ल्याए ।

त्यसपछि तत्कालै निर्णय गरेर लखन थापामगरलाई मृत्युदण्ड दिइयो । तर, लखनले आफ्नै दरबारमा मर्ने इच्छा व्यक्त गरेपछि त्यही लगेर, झन्ड्याएर मार्ने आदेश दिइयो । भनिन्छ, यसरी आदेश दिनासाथ जंगबहादरकी रानी मूच्र्छा परिन् ! र, तत्कालै प्रायश्चित गर्दै जंगबहादुरले ‘म बाट ठूलो भूल भयो, लखन थापालाई नमार्नू ।’ भनेर सैनिकमार्फत खबर पठाए ।

तर जंगबहादुरले ‘लखन थापालाई नमार्नू ।’ भन्ने खबर सैनिकमार्फत पठाउँदैछ भन्ने थाहा पाएपछि जैसी बाहुन र थापा क्षेत्रीहरूले मर्साङदी नदी तर्ने बेनीघाटमै आएर घाटे (नाउ चलाउने) हरूलाई डरत्रास देखाउँदै रकम दिएर आफ्नो पक्षमा पारे । यसरी जंगबहादुरले पठाएका सैनिकहरू तीनदिन ढीला पुग्दा लखन थापालाई उनकै दरबार अगाडि खिर्राको बोटमा झुन्ड्याइएर मारिसकिएको थियो । यसरी लखन थापालाई मारिसकेको खबर पाउनसाथ जंगबहादुर आफैँ बुङकोट गएर लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हँुदै काठमाण्डौ फर्किएका थिए ।

भनिन्छ, उनले मर्नुअघि यसो भनेका थिए, ‘–म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुन्ड्याएको बेला कोही पनि नरूनू र पीर नर्गनू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो–सानो भइ झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदै छ भनेर जान्नु । मलाई झुन्ड्याएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउने छु ।’यसरी उनलाई झुन्ड्याएर मारेको दिन थियो –विसं १९३३, फागुन २ गते ।

हो, यसरी हेर्दा निर्विवाद रूपमा लखन थापामगरलाई राजनैतिक रूपमा नेपालको प्रथम सहिद मान्नङमा कसैले कनै कन्जुसाईँ गर्नु पर्ने कारण देखिदैन । हुन त यसका लागि मगर जातिको आधिकारिक जातीय संस्था ‘नेपाल मगर संघ’ले २०४६ सालको राजनैतिक परिवर्तन लगत्तैदेखि प्रयास थालेको हो । र, फलस्वरूप २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई नेपालको प्रथम राजनैकि सहिद घोषणा गरेको पनि हो । तर उक्त घोषणालाई विविध कारणले गर्दा कार्यन्ययनमा ल्याउनै चाहेन, नेपालका कर्मचारीतन्त्रले ।

मूलधारका भनिएका मिडियाहरूले पनि सो बारे समाचार नै दिएन । आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरका अनुसार २०६२÷२०६३ को तेस्रो जनआन्दोलन पछिको परिवर्तनपछि पनि नेपाल मगर संघले लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गरियोस् भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुनः ज्ञापनपत्र बुझाउन जाँदा ठाडै अस्वीकार गरिएको थियो । तर, पछिल्लोपटक नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालको पालामा फेरि लखन थापामगरलाई नेपालका प्रथम सहिद भनी घोषणा गरियो । यो वर्षको सहिद दिवस वा भनौं सहिद सप्ताहबारे लेख्ने कनै पनि लेखकहरूले लखन थापाबारे एक शब्द पनि उच्चारण गरेको÷लेखेको देखिएन ।

प्रतिक्रिया