स्वच्छता अभियानका नाममा अनियमितता

लहान । प्रदेश–२ मुख्यमन्त्री स्वच्छन्द योजनाअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–५ स्थित जिझौलमा रहेको चौरीदास बाबापोखरीको सौन्दर्यकरणको नाममा अनियमितता भएको आशंकामा स्थानीयले विरोध जनाएका छन् । पोखरी घेर्न लगाइएको पर्खाल बनिसक्न नपाउँदै चर्कन र भत्कन थालेपछि स्थानीयले सौन्दर्यकरणको काम स्तरहीन भएको भन्दै विरोध गरेका हुन् । पर्खालमा प्रयोग गरिएको इँटा, सिमेन्ट, ग्राबेल गुणस्तरहीन भएकाले पर्खालको जग नै चिरैचिरा भएर फुट्न र भत्किन थालेको छ । पर्खालमा छडको प्रयोग नगरिएकाले पनि पर्खालको जग चर्कन थालेको हो ।

प्रदेश–२ सरकारको ७ करोड ८४ लाख ७ हजार १ सय ५३ रुपैयाँ ५४ पैसा लागतमा गर्न लागिएको पोखरी सौन्दर्यकरण स्थलमा सूचना पार्टी टाँगिएको छैन । अनुगमन आउँदा भने सूचना पार्टी टाँगिने गरिएको स्थानीयले बताए । करिब तीन बिघा क्षेत्रफलमा रहेको पोखरीको स्थानीय कामदारले बास्तविक डिपिआर सार्वजानिक गरेको भन्दै उनीहरूलाई कामबाट निकालेर भारतीय मजदुरलाई लगाइएको छ । निर्माण कार्य प्रभावित हुने भन्दै पोखरी आसपासका बासिन्दालाई पोखरी सौन्दर्यकरणबारे बोल्न बन्देज लगाइएको छ ।

स्टिमेट अनुसार पोखरीको पर्खाल बनाइएको पाइँदैन । पोखरी सौन्दर्यकरणको ठेक्का पाएको एमएस प्रेरा आइएसएनबी जेभी जनकपुरका कन्टेक्टर मेनेजर अजयकुमार यादवले स्टिमेटमा पर्खालको चौडाइ १५ इञ्च र लम्बाई १ सय २० इञ्च भएको बताउँदै स्टिमेटअनुसार नै पर्खाल निर्माण गरिएको दाबी गरे पनि भर्खरै निर्माण सकिएको पोखरीको पर्खालको चौडाइ १० इञ्च र लम्बाइ ३८ इञ्चको मात्रै छ । मुख्यमन्त्री स्वच्छता अभियानका प्रोजेक्ट मेनेजर तथा प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर भगवान् झाले उक्त पोखरीको सौन्दर्यकरण स्टिमेट अनुसार नभई डिजाइनअनुसार भइरहेको जानकारी दिए । उनले पोखरी सौन्दर्यकरणको स्टिमेटर र डिपिआर उपलब्ध गराउन नमिल्ने बताए ।

चौरीदास पोखरी सौन्दर्यीकरण योजनाको नाममा भइरहेको उक्त पोखरी सौन्दर्यकरणको ठेक्का सम्झौता गएको साउन महिनाको १९ गते भएको हो भने सौन्दर्यकरणको काम सम्पन्न ०७७ साउन ९ मा गरिसक्नुपर्ने उल्लेख छ । प्रदेश सरकारको तर्फबाट पोखरी सौन्दर्यकरणको साइड इञ्चार्ज कमलेशकुमार यादव हुन् भने ठेकेदारको तर्फबाट साइड इञ्चार्जका रुपमा अजयकुमार यादव तोकिएका छन् । सौन्दर्यकरणस्थल महेन्द्रराजमार्गबाट करिब १४ किलोमिटर दक्षिण र निर्माणाधिन हुलाकी राजमार्गबाट दुई किलोमिटर उत्तरमा पर्छ ।

ऐतिहासिक पोखरी भएकाले मापदण्डअनुसार पोखरीको सौन्दर्यकरण हुनुपर्ने स्थानियको माग छ । पोखरी निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनी प्रेरा आइएसएनबी जेबी जनकपुर र इञ्जिनियर भगवान् झाको मिलोमतोमा मापदण्ड विपरीत स्तरहीन काम गरिएको स्थानीयको भनाइ छ । पूर्वशिक्षकसमेत रहेका स्थानीय उपेन्द्र यादवले भने, ‘पर्खालमा दुई नम्बरी स्तरहीन इँटा प्रयोग गरिएको चाल पाएपछि हामी स्थानीयले विरोध गरेका हौँ ।’ स्थानीयले इञ्जिनियर झासँग पोखरी निर्माणको स्टमेट माग्दा झाले जसलाई पाए त्यसलाई स्टमेट देखाउन नमिल्ने बताएको उपेन्द्रको भनाइ छ । काम बन्दै गर्दा लगानी र मापदण्डबारे सार्वजानिक रूपमा सबैले देख्ने गरी राख्नुपर्ने होर्डिङ बोर्ड पनि सर्भे टोलीआउँदा मात्रै टाँगिने गरिएको छ । उनले भने, ‘सर्भे टोलीआउँदा टाँगिने होर्डिङ बोर्ड उखलेर कसले लान्छ भन्ने हामी गाउँलेलाई थाहा हुँदैन ।’ ६ महिनाअघि प्रदेश–२ का योजना तथा अर्थमन्त्री विजय यादवले तामझामका साथ पोखरी सौन्दर्यकरणको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया