१५ वर्षपछि नयाँ घरमा सर्दै माझीहरू

सिन्धुपाल्चोक । ‘यस्तो घरमा बस्न पाइएला भन्ने त सोचेको पनि थिइनँ’, सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–५, प्यूघरका ७६ वर्षीया आइते माझीले बन्दै गरेको आफ्नो घर हेर्दै भने, ‘सपनाजस्तै लागेको छ, हामीलाई त दुःखैदुःखले थिचेको, अब मर्ने वेला शान्तिको सास फेर्न पाउँछुजस्तो लागेको छ ।’

उनीजस्तै भएको जग्गामा बाढी पसेर घर भत्किएको पीडामा भूकम्पको थप पीडा भोगेका प्यूघरका माझीहरू १५ वर्षपछि आप्mनै घरमा बस्न पाउने भएपछि खुसी देखिएका छन् । आफ्नो जग्गामा बस्न नमिल्नेगरी इन्द्रावती नदीले बस्ती बगाएपछि साविक बाँडेगाँउ गाविस, प्यूघरका माझीहरू सामुदायिक वन फँडानी गरेर बसोवास गर्न थालेका थिए । त्यसको १० वर्ष पुग्नैलाग्दा भूकम्पले सो घर पनि भत्काएपछि कष्टकर जीवन बाँच्न बाध्य भएका ३६ घर माझी परिवारले नयाँ घर पाउन लागेका हुन् ।

उनीहरूलाई नयाँ घरमा बस्न पाउने अवसर इन्द्रावती गाउँपालिकासहित महिला आत्मनिर्भर केन्द्र र अक्सफामले जुटाइदिएको हो । पुनर्निर्माण प्राधिकरणबाट जग्गा खरिदको लागि प्राप्त प्रतिपरिवार दुई लाखमा सोही ठाउँको भदौरेमा जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण भएपछि उनीहरू आफ्नै घरमा बस्न पाउने भएका हुन् ।

नेपाल सरकारको अनुदान सहयोग एवं गैरसरकारी संस्थाबाट आर्थिक सहयोग र गाउँपालिकाले पनि केही सहयोग गरेर बस्ती निर्माण भएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए । बाढी र भूकम्पले पटकपटक पीडित बनेका उनीहरूलाई अहिले भने स्थायी रूपमा सुरक्षित स्थानमा बसाउन सकिएको तामाङले बताए ।

माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी परिवार नदीभन्दा निकैमाथि आएर बसोवास गर्न थालेकाले अब उनीहरूको जीविकोपार्जनका लागि आपूmहरूले सहयोग गर्ने सो वडाका अध्यक्ष दुर्गाबहादुर लामाले बताए । उनीहरूको सीपको प्रोत्साहन गर्दै आयआर्जनका लागि पर्यटन विकास गराउन वडाको तर्फबाट आवश्यक सहयोग गर्ने उनले बताए ।

स्थानीयहरू टहरोमा निकै कष्टका साथ बस्दै आएकोमा नयाँ घर निर्माण भएसँगै सुरक्षित साथ बस्न पाउने विश्वास गर्छन् । बाढीले विस्थापित भएर सार्वजनिक जग्गामा बस्न पुगेकामा त्यहाँबाट पनि भूकम्पले भत्काएपछि अहिले भने नयाँ घर बन्न थाले पनि आपूmहरूलाई खुसी लागेको स्थानीयहरूको भनाइ छ ।

बस्ती निर्माणका लागि गाउँपालिका र संघसंस्थाबाट सहयोग पाएको र त्यसकै कारण आपूmहरू नयाँ घरमा बस्न पाउने वातावरण बनेको माझी बस्ती निर्माण समितिका अध्यक्ष शर्मिला माझीले बताइन् । करिब २५ रोपनी जग्गामा दुई ब्लकमा गरी ३६ वटा घर निर्माण भएको र यसबाट आपूmहरू सुरक्षित घरमा बस्न पाएकोमा धेरै खुसी लागेको उनले बताइन् ।

बस्ती निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । पटकपटक विस्थापित बनेका उनीहरू यो बस्ती निर्माण सम्पन्न भएपछि भने दिगो रूपमा स्थापित हुन सक्नेमा विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया