कुलुङ जातिको पर्व ‘नीङ दोङ चाक्चाकूर’

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो ‘–कुलुङ ।’ तापनि नेपाल सरकार र नेपालमा कार्यरत केही आइएनजिओ÷एनजिओले भने हालसम्म कुलुङ जातिलाई अन्य जातिसरह अलग्गै जातिका रूपमा मानीसकेका छैनन् । अर्थात् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) अनुसार कुलुङ जातिलाई हालसम्म सूचीकृत गरेको छैन, नेपाल सरकारले ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दुफा दुई (क) अनुसार आदिवासी जनजातिमा सचीकृत नभएसम्म कसैले पनि अलग्गै जाति भनी नचिन्ने भएकोले कुलुङ जातिलाई पनि प्रतिष्ठान ऐन (तत्कालीन जनजाति विकास समिति) २०५८ को दफा दुई (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत गरियोस् भनी कुलुङ जातिका अगुवाहरूले ०५७÷५८ देखि आन्दोलन सुरु गरे । २०६५ चैतमा नेपाल सरकारले डाक्टर ओम गुरुङको संयोजकत्वमा ‘उच्चस्तरीय आदिवासी जनजाति अध्ययन तथा पुनः सूचीकरण कार्यदल’ गठन ग¥यो ।

कार्यदलले अध्ययन गरी सिफारिस र थप गरेको २५ वटा नयाँ जातिको सूचीमा भने कुलुङ जातिलाई पनि समावेश गरेको छ । तर सो कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन र सिफारिस सरकारलाई बुझाएको पनि लगभग ८ वर्ष भइसकेको छ । तापनि, कुलुङलगायत थप भएका जाति सूचीकृत हुन सकेका छैनन् ।

सो कार्यदलले अध्ययन गरी सिफारिस र थप गरेको २५ वटा नयाँ जातिको सूचीमा भने कुलुङ जातिलाई पनि समावेश गरेको छ । तर, सो कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन र सिफारिस सरकारलाई बुझाएको पनि लगभग ८ वर्ष भइसकेको छ । तापनि, कुलुङलगायत थप भएका जाति सूचीकृत हुन सकेका छैनन् । जनगणना २०८ मा उल्लेख भए अनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० रहेको छ ।

उता कुलुङ जातिको मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ का महासचिव इन्द्र होनीत्ती कुलुङको भनाइअनुसार कुलुङ जातिको जनसंख्या एकलाख ६० हजारभन्दा बढी छ । उनका अनुसार कुलुङ जातिको उत्पत्ती थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) जस्तै छेस्खाम, बुङ, गुदेल, सोत्तो, पावै, संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाण्डौ लगायत जिल्लामा बाक्लो वस्ती रहेको छ भने धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, कास्की, ललितपुर, भक्तपुर, उदयपुर, सर्लाही, मुस्ताङ, मनाङ, बागलुङ सुर्खेतलगायत जिल्लामा पातलो वस्ती रहेको छ ।

यसरी नेपालका २७ भन्दा बढी जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम, नागाल्यान्ड, मणिपुर, देहरादुन अनि म्यानमार, भुटान, हङकङ, बेलायत, अस्ट्रेलिया, क्यानडालगायत देशमा पनि कुलुङहरू रहेको भेटिएको छ ।

कसैले स्वीकारे पनि नस्वीकारे पनि नेपालको वास्तविक चिनारी भनेकै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि नै हो । त्यसैले त नेपालको भगौलिक एकीकरणका अभियन्ता मानिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले समेत नेपाललाई ‘चार जात र छत्तीस वर्णको साझा फूलबारी हो ।’ भनी सकारेका थिए ।

हुन पनि कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै लगायत साविकका गाविसलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै विशिष्ट खालको जीवनचक्र, जातीय संरचना, भाषा, धर्म, संस्कार, संस्कृति, चाडबाड, रीतिरिवाज, भेषभूषा, गरगहना आदि छ ।

कुलुङ जातिले मनाउने विभिन्न चाडबाड, पर्व र उत्सवहरूको कुरो गर्दा कुलुङ जातिको नयाँ वर्ष अर्थात् ‘नीङ दोङ’को पहिलो महिना ‘चाक्चाकुर’को अवसरमा मनाइने मिनारी–दाचाम् पनि एक प्रमुख चाड÷पर्व हो । ‘चाक्चाकुर’ भनेको अंग्रेजी महिनाको जनवरी, नेपाली महिनाको वैशाख भने जस्तै कुलुङ जातिको जीवनचक्रअनुसार नयाँ वर्ष सुरु हुने पहिलो महिनाको नाम पनि हो । यसरी विक्रम संवत्को हरेक पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष ‘यले दोङ ’सुरु हुन्छ ।

‘नेपाल किरात कुलुङ भाषा संस्कृतिथ उत्थान संघ (कूलू गूसखोम)’ ले २०६१ र २०६८मा सुनसरी जिल्लाको धरानमा आयोजना गरेको पूर्खा सम्मेलनमा भेला भएका कुलुङ पूर्खाहरूका अनुसार प्राचीन कालमा कुलुङ समुदायले चाक्चाकूरको अवसरमा ‘मिनारी–दाचाम्’ चाड मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोम राखी बाँसको खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो ।

यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । विक्रम संवत् अनुसार पुस १५ गते कुलुङ समुदायको नयाँ वर्ष सुरु हुन्छ भन्ने त माथि उल्लेख भएको छ । खासमा १५ गते नयाँ वर्षको पहिलो दिन गोरु काट्ने (महाकुलुङ लगायत कुलुङ समुदायको बाक्लो बस्ती भएका क्षेत्रहरूमा), दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न÷भित्र्याउने÷भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई कुलुङ भाषामा ‘मिनारी–दाचाम्’ भनिन्छ ।

त्यस्तै कुलुङ जातिमा चाक्चाकूरको अवसरमा मनाइने मिनारी–दाचाम् चाडको अवसरमा पहिलो दिन आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही खाएर मनाउने गरिन्छ भने दोस्रो दिन चेलीबेटीहरू माइतीहरूको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरू ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।

हरेक जातजातिले मनाउने चाडपर्वको सुरुवात कसरी भयो ? भन्नेबारेमा विभिन्न किम्बदन्ती वा विश्वासहरू रहने गरेको छ । त्यस्तै कुलुङ जातिले मान्ने ‘मिनारी–दाचाम्’ चाड अर्थात् ‘चाक्चाकूर’ मनाउने सम्बन्धमा कुलुङ जातिमा रहेको किम्बदन्ती र विश्वास अनुसार ‘कुलुङ जातिका विभिन्न आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ र एक छोरा खोक्चिलीप गरी तीन सन्तान थिए । यिनीहरू सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) खायो । ती दिदीबहिनीले सानैमा भाइ खोक्चिलीपलाई छाडेर गए ।

खोक्चिलीपले आपूm ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । एक दिन खाक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरू पनि भएको बताए । त्यसो हो भने दिदीहरूलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलीप आफ्ना दिदीहरू खोज्न गए । नभन्दै भाइ र दिदीहरूको भेट भयो ।

तर, दिदीहरूले भाइ मरिसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरू आश्चार्यमा पर्नुका साथै भाइलार्ई बेवारिसे बनाएर सानैमा छाडेर गएकोमा पश्चाताप पनि गरे । तापनि भाइको आग्रहमा भाइको घरमा गएर नयाँ अन्न–बालीबाट पाकेको÷बनेको मिठो÷मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरेर विदावारी भए ।’ कुलुङ जातिमा सोही दिनदेखि चाक्चाकूर मनाउन थालियो ।

हाल आएको जातीय चेतनासँगै ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घना वस्ती भएका विभिन्न जिल्लाहरू जस्तै भोजपुर, संखुवाशभा, इलाम, सुनसरी, मोरङ, झापा, र पातलो वस्ती रहेको तेह्रथुम, ताप्लेजुङ, धनकुटा, उदयपुर, काठमाडांंै, भक्तपुर, ललितपुर, कास्की लगायत जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकूर’ मनाउने क्रम बढेको छ ।

तर राज्यले जाति मान्नु र नमान्नुमा कति फरक छ भने पुस १५, १६ र १७ मा पर्ने कुलुङ जातिको चाड÷उत्सव चाक्चाकूरको बारेमा भने, नेपालका कुनै पनि प्रकारका मिडियाहरू (अनलाइन, प्रिन्ट, रेडियो, अडियो, टिभी आदि) ले प्रचार प्रसार गर्दैनन् । तै बिसेक त्यही समयमा पर्ने गुरुङ जातिको चाड ल्होसारको अवसरमा आयोजित नाचगान (समाचार नदिए पनि, हुन त गत केही वर्षदेखि केही पत्रपत्रिकाले समाचार पनि दिन थालेका छन् ।) को फोटोसम्म प्रकाशित गर्छन्, तर, कुलुङ जातिको चाड÷उत्सव चाक्चाकूरको बारेमा भने थाहै नपाए झैं गर्छन्, नेपाली मिडियाहरू ।

त्यसैले ‘के गर्नु र खै ? तिमी हाँस पो म बसौँला रोई ’ भने झैं भएको छ, कुलुङ जातिका लागि, नेपाली मिडियाहरू । काठमाडांैमा रहेका कुलुङ समुदायबीच भने हरेक वर्षको पुस १५, १६ र १७ गते विभिन्न सांस्कृतिक कार्यक्रम र नाचगानसहितको औपचारिक कार्यक्रम गरेर नयाँ वर्ष चाक्चाकूर मनाउने गरिएको छ ।

गत वर्ष यले दोङ–०७९ को अवसरमा महकुलुङका कुलुङ जनसमुदायले बृहत् रूपमा राष्ट्रिय कलाकारहरूको गीत संगीत प्रस्तुति र कुलुङ समुदायसँग सम्बन्धित सांस्कृतिक प्रदर्शनी आदि कार्यक्रमसहित ‘महा कुलुङ महोत्सव’को आयोजना गरी ‘नीङ दोङ चाक्चाकूर–५०७९’ छेस्खाममा मनाएका थिए भने यो वर्ष काठमाडांैमा बसोवास गर्ने कुलुङहरूले यले दोङ–५०८० को अवसरमा गोकर्ण नगरपालिका–३ स्थित बन्दै गरेको आप्mनै भवनमा धुमधामका साथ मनाए ।

प्रतिक्रिया