सागका खेलाडी नगर परिक्रमा : तन निथ्रुक्क, मन फुरुंग

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेपबाट सुरु भएको थियो । सुरुआतमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेभ दि मिसन पिताम्बर तिम्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य(सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहित टोली न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटिमण्डपसम्म पैदल गएको थियो ।

पैदल नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको व्यान्ड टोली थियो । भृकुटिमण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए । भृकुटिमण्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो । पूर्व निर्धा्रित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।

मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको थियो । सन् १९९९ मा नेपालमै भएको आठौँ संस्करणमा पनि नेपाल दोस्रो भएको थियो । त्यसवेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।

प्रतिक्रिया