घटेन वीरेन्द्रचोकको भिड

सुर्खेत । विगत एक महिनादेखि वीरेन्द्रनगर–६ वीरेन्द्रचोकमा भर्खरै बनेको भवनअगाडि ठूलो भिड लागिरहेको छ । सडकबाट उक्त भवनसम्म नै लाइन देखिन्छ । लाइन बिहान पाँच बजेदेखि साझँसम्म लाग्छ । त्यो लाइन सस्तोमा सामान पाइने भएपछि उपभोक्ताहरूको हो ।

कपडा तथा अन्य सामान हरेक सामान पाँच सयमा पाइने भएपछि उपभोक्ताहरूको भिड लागेको हो । गएको कात्तिक अन्तिम सातादेखि बिक्री शुरु गरेको तेन्जिन लमु क्लोथिङ स्टोरले हरेक सामान पाँच सयमा बिक्री गर्ने भएपछि ग्राहकको ठूलो भिड लागेको हो । पसलले ग्राहकको भिड थेग्न नसकेर प्रहरीको सहायताले सामान बिक्री गर्दै आएको छ । बजारमा दुई हजार सम्ममा बिक्री भइरहेका सामना ६ सयमा पाइने पसल सञ्चालकले बताए ।

सामान किन्न टोकन सिस्टम बनाइएको छ । तैपनि दैनिक करिब पाँच सयभन्दा बढी ग्राहक आउने भएकोले कति त सामान किन्न नपाएर ग्राहक खाली हात फर्किने गरेका छन् । पसलमा बिहान ५ बजेदेखि राती ९ बजेसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ । उक्त पसलमा ग्राहक सस्तो मूल्यमा फेन्सी तथा रेडिमेट र घरायसी अन्य सामान पाइने भएपछि भिड लागेको हो पसलले ग्राहकलाई बिल पनि दिने गरेको छ ।

चिसोे सिजनका लत्तापकडा र घरायसी प्रयोेगका सबैजसो समाग्री ६ सय रुपैयाँमा पाइने पसलमा ग्राहकको भिड अनियन्त्रित भएपछि टोकन लागू गरिएको हो । पसल सञ्चालकले सात वर्षका लागि घरभाडा सम्झौता गरिसकेका छन् । दाङको तुल्सीपुरमा मुख्यशाखा रहेको तेन्जिन लमु क्लोथिङ स्टोरको वीरेन्द्रनगरमा बिक्री शाखा खोलिएको हो । स्थानीय बजारको महँगी थेग्न नसकेका उपभोक्ता सस्तो मूल्यमा सामान किन्न पाइने भएपछि लाइन लागेका हुनसक्छन् । कतिपय त तीन÷चार दिन लगाएर कपडा र सामान किनेर लगेका छन् ।

उपभोत्ताहरूले यस्ता पसल सुर्खेत बजारमा कम्तिमा २० वटा खुलेमा सहज हुने बताए । अन्यथा एउटा पसलले उपभोत्ताको त्यो भिड थेग्न नसक्ने उनीहरूको भनाइ छ । वीरेन्द्रनगर–१ देखि सामान ६ सयमा पाइन्छ भन्ने सुनेर आएका एक उपभोत्ताले आपूm तीनपटक पसल आउँदा सामान किन्न पाएको गुनासो गरे । ‘राइस कुकर र अन्य परिवारलाई कपडा किन्न सस्तो पसलमा आएको पहिलो दिन पनि पालो आएन, दोस्रो दिन पनि भिडमै हराएँ तेस्रो दिन सामान किनेर लगेँ । तीन दिन दुःख गरेर भए पनि सस्तो मूल्यमा राम्रो सामान लिन पाउँदा खुसी छु’, उनले भने ।

पसलको अगाडिको भिड वीरेन्द्रचोकको सडकसम्म पनि पुग्ने गरेको छ । ६ सयमा दुई हजारसम्म पर्ने सामान किन्न पाएपछि ग्राहकहरू निकै उत्साहित छन् । लाइन लागेर दिनभर लगाएर भए पनि सस्तोमा सामान किन्न पाउँदा निकै उत्साहित भएको गोठिकाँडाबाट सामान किन्न आएका एक ग्राहकले बताए । ‘सस्तोमा सामान किन्न पाइन्छ भन्ने थाहा पाएर आएको हुँ । लाइन लागेरै दिनभर कुरेर भए पनि परिवारका लागि सामान लैजान पाउँदा निकै आनन्द लागेको छ।,’ उनले भने, ‘सुर्खेतमा यस्ता पसल धेरै खुल्नुपर्ने थियो । तर, एउटै पसलले पनि धेरैलाई राहत मिलेको छ ।

प्रतिक्रिया