सामुदायिक विद्यालयको प्राविधिक शिक्षामा जोड

दैलेख जिल्लाको पश्चिम क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयले गाउँमै दक्ष तथा प्राविधिक उत्पादनमा जोड दिएपछि यहाँका विद्यार्थी खुसी भएका छन् । जिल्लाको पश्चिम क्षेत्र भैरवी गाउँपालिका–६ घुम्नेखालिमा अवस्थित आदर्श माध्यामिक विद्यालयले स्थानीय स्तरमै दक्ष प्राविधिक उत्पादन गर्न प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिएको हो । विद्यालयलाई बहुप्राविधिक विद्यालय बनाउने योजना रहेको र त्यसै अनुरूप काम भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र शाहीले बताए ।

दैलेख पश्चिम क्षेत्र अझै पनि विकट नै छ । यहाँ अझै पनि पक्की सडक, विद्युत् र सञ्चारको सुविधा सहजै उपलब्ध हुन सकेको छैन । उक्त सामुदायिक विद्यालय रहेको स्थान स्थानीय तह भैरवी गाउँपालिकाको केन्द्रसम्म विद्युत् पुगेपनि विद्यालयसम्म भने पुगेको छैन । ‘स्थापनाकालदेखि नै जिल्लामा फरक अस्तित्व बनाउँदै आएको विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षामार्फत आउने दिनमा अझै प्रभावकारी रूपमा अघि बढाई दक्ष प्राविधिक उत्पादनतर्फ लागि परेको छ ।

हाल विद्यालयमा सीटीईभिटी को सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत तिन वर्षे वालिविज्ञान सञ्चालन हुँदै आइरहेको छ ।’ विद्यालयका प्रधानाध्यापक शाहीले भने, ‘अघिल्लो शैक्षिक वर्षदेखि जिल्ला भित्रका करिब ३० जना र अन्य जिल्लाबाट थप विद्यार्थीले विद्यालयमा प्राविधिक शिक्षा लिइरहेका छन् । त्यसै गरी भखरै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सीटीइभीटी बाट डिप्लोमा तहको तिन वर्षे पशुविज्ञान विषयको समेत अनुमति पाएको छ । उक्त विषयको अध्यापन यसै शैक्षिक सत्रदेखि नै सुरु भइरहेको ।’

भैरवी गाउँपालीकाको वडा नं. ६ र ७ मा बसोबास गर्ने स्थानीय जनताको मुख्य पेसा कृषि रहेको छ । यस्तै भैरवी गाउँपालिकामा कृषि प्राविधिकको उत्पादनका लागि तिनवर्षे कृषि बालिविज्ञान कार्यक्रम सञ्चालन भईरहेको छ । यतिमात्र होइन विद्यालयले यसै वर्षदेखि स्थानीयको मागअनुसार डिप्लोमा तह तिनवर्षे पशु विज्ञान पनि सञ्चालन गर्न लागेको कृषि बालीविज्ञान इन्चार्ज धीरेन्द्र बहादुर चन्दले जानकारी दिए । ‘हाल विद्यालयमा शिक्षाशास्त्र र मानविकी संकायमा कक्षा ११ र १२ मा अध्यापन हुदै आईरहेको छ । निकट भविष्यमा नै विज्ञान संकाय र व्यवस्थापन संकाय पनि सञ्चालन गर्ने उद्देश्य विद्यालयको रहेको छ ।’ इन्चार्ज चन्दले भने, ‘विद्यालयमा हाल करिव ३० भन्दा बढी विद्यार्थीहरू प्राविधिक शिक्षा लिइरहेका छन् ।’

त्यसै गरी वालिविज्ञान अध्ययन गर्ने विद्यार्थीको संख्या पनि त्यो भनदा बढी नै रहेका छन् । यस्तै पशुविज्ञानमा पनि २५ जनाभन्दा बढी विद्यार्थिहरूले गाउँको प्राविधिक शिक्षा लिइरहेका छन् । विद्यालयका अनुसार यहाँ अध्यन गर्ने विद्यार्थीले अत्यन्तै न्युन शुल्कमा तीनवर्षे कोर्ष अध्ययन गरिरहेका छन् । विद्यालयले आपूmहरूले देशभरकै सस्तो शुल्कमा प्राविधिक शिक्षा दिइरहेको दाबी गरेको छ । अब पनि विद्यालयले तीनवर्षे पशुविज्ञान सोही अनुसारकै देशकै सर्वाधिक सस्तो शुल्कमा अध्यापन गराउने दाबी गरेको छ ।

साधारण शिक्षा लिने विद्यार्थी पढाइ सकाएर बेरोजगार भइ खाडी मुलुकमा वैदेशिक रोजगारीको लागि जान बाध्य हुन थालेपछि प्राविधिक शिक्षाको महत्व बढेको हो । प्राविधिक शिक्षा लिए पछि के गरी खान सहज हुने भएकाले पनि त्यसतर्फ विद्यार्थीको आर्कषण बढेको छ । त्यसैले शिक्षासँगै युवाहरूलाई स्वरोजगार वनाउने र स्थानीयस्तर मै व्यवसायिक बनाउने उद्देश्यले प्राविधिक विषयहरू अध्यापन गराउन सुरु गरिएको विद्यालयले जनाएको छ ।

‘गाउँमा एसलएसी तथा एसइइ उत्तिर्ण विद्यार्थीहरू प्राविधिक विषय अध्ययन गर्न सहर जानुपर्ने बाध्यता अन्त्य गर्न यस विद्यालयले प्राविधिक शिक्षालाई जोड दिने प्रयास गरेको हो ।’ विद्यालयको बालीविज्ञानका संस्थापक तथा पूर्व प्रधानाध्यापक यज्ञबहादुर सिंहले भने ‘विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्न स्थानीयले साँझ बिहान घरको काम गरी घरमै बसेर कम खर्चमा शिक्षा हासिल गर्न पाउँछन् ।’

विद्यालयका अनुसार गाउँमा यस्तो कृषि तथा पशु विज्ञानसम्बन्धी अध्यापन गराउँदा विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षामा जोड दिने गरिएको छ । यस ठाउँमा खेती योग्य जमिन पर्याप्त रहेको र सिँचाइको सुविधा भएकाले पनि अध्धयन सकाएर व्यावसायिक खेती गर्न समस्या नहुने उनीहरूको दाबी छ ।

दिन दिनै प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बन्न थाले पछि विद्यालयले टाडाबाट आउने विद्यार्थीलाइ सेवा स्वरूप बस्ने कोठा उपलब्ध गराउन थालेको छ । अन्य गाउँपालिका वा बाहिरी जिल्लाबाट आउने विद्यार्थीका लागि छात्रावासको व्यवस्था नभएकोले निशुल्क कोठाको व्यवस्था गरिदिएको हो ।

यसले टाडाबाट आउने विद्यार्थीलाई बस्ने समस्या न हुनेर शिक्षाप्रतिको आर्कषण बढने विद्यालयको दाबी छ । टाडाबाट आउने विद्यार्थीको चाप बढन थालेपछि यो वर्षदेखि विद्यालयले घरजग्गा भागामा लिएर छात्रावासको समेत व्यवस्था गरिसकेको विद्यालयका कृषि वालिविज्ञान इन्चार्ज धीरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

दक्ष प्राविधिक उत्पादन गरी स्वरोजगार र कृषिमा स्थानीयलाई आत्मनिर्भर गराई यहाँ उत्पादित बस्तु र निर्यात गर्न सक्ने बनाउने विद्यालयको योजना रहेको छ । परम्परागत कृषि प्राणाली अवलम्बन गर्दै आएका यस क्षेत्रका किसान बारीमा उत्पादन भएको अन्नले वर्षभरि खान नपुग्ने समस्या जीवितै रहेको छ । यस्तो समस्या पूर्णरूपमा अन्त्य गर्नका लागि कृषि प्राविधिक उत्पादनमा जोड दिई आधुनिक शैलीबाट खेती गरी युवा गरिबी अन्त्यको गर्नु विद्यालयको सबैभन्दा ठूलो उद्देश्य रहेको विद्यालयको दाबी छ ।

स्थानीय विद्यार्थीलाई अध्ययनका लागि गाँउबाट सहरमा जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरी सहरबाट गाउँमा व्यावसायिक तथा प्राविधिक शिक्षा लिन आउने व्यवस्थाको सुरुआत गर्नु पर्ने विद्यालका प्रधानाध्यापकले बताए । कृषि बालीविज्ञानको लागि विद्यालयले करिब एक सयभन्दा बढी रोपनी जग्गाको व्यवस्था गरिसकेको छ । विद्यालयप्रति अहिले सबैको सहयोग रहेको छ । विद्यालयलाई स्थानीय तह र अन्य निकायबाट अनुदान पनि प्राप्त भएका छन् ।

विद्यालयमा अध्ययनरत कृषि बालीविज्ञानका विद्यार्थीहरू गाउँमै प्राविधिक तथा व्यावसायिक शिक्षा पढ्न पाँउदा निकै उत्साहित बनेका छन् । प्राविधिक शिक्षामात्र नभई अन्य जुनसुकै गुणस्तरीय उच्चशिक्षा लिन सहर झर्नुपर्ने समस्याबाट हाम्रो अधिकांश ग्रामीण समुदाय पीडित भइरहेको बेला ग्रामीण इलाकामै रोजगारमूलक व्यावसायिक शिक्षालाई सामुदायिक विद्यालयले प्राथमिकतामा राखेर अघि बढाउनु उदाहरणीय कार्य हो ।

प्रतिक्रिया