प्रदूषण नियन्त्रणका लागि फोहर जलाउन मिल्ने डस्टबिन

फिदिम । बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेसनल क्लब पाँचथरले ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । बढ्दो जनसंख्याका कारण हेंवाघाटमा शवदहन गर्ने संख्या बढिरहेको छ । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेको पाइएपछि फोहर जलाउन मिल्ने फलामको डस्टबिनको व्यवस्था गरिएको क्लबका मिलन विश्वकर्माले जानकारी दिए ।

हेंवाघाट र घाट नजिकै खाजा बाँड्ने स्थानमा एक÷एक डस्टबिन तथा सूचनापाटी स्थापना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा क्लबले यी सामग्री फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा प्रदेश–१ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले युवाहरूले रूपान्तरण र सुधारका लागि नवीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् । क्लबले पाँचथरमा स्थानीयस्तरका समस्या समाधान, मानवीय सहयोग तथा जागरणका काम गरिरहेको पाइएको भन्दै सभापति थेबेले खुसी व्यक्त गरिन् ।

गत दीपावलीमा देउसीभैलो खेलेर संकलित रकमबाट उक्त डस्टबिनको प्रबन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेको भनाइ छ । यो क्लबले पाँचथरमा ‘जीवित रगत बैंक’ स्थापना गर्न लागेको जनाएको छ । हेंवाघाटमा सरकारी लगानीविना नै यहाँ नागरिक तथा जातीय संघसंस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् । घाटमा पूर्वाधार निर्माणमा सक्रिय हेटनारायण श्रेष्ठका अनुसार यहाँ शव जलाउने घाट नेवाः दयदबु पाँचथरले निर्माण गरेको छ भने मलामी बस्ने चौतारो नेपाल मगर संघ पाँचथरले निर्माण गरेको छ । समाजसेवी मित्रप्रसाद काफ्लेले यहाँ स्वच्छ खानेपानीको प्रबन्ध मिलाएका छन् । दैनिक प्रयोग हुने घाटमा पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया