छापाचित्रणमा डा. सीमाको योगदान

डा.सीमा शर्मा शाह नेपाली ललितकला क्षेत्रमा परिचित नाम हो । समसामयिक नेपाली चित्रकलामा डा. शर्माले आफ्नै शैली र सीपमा कला रचना गर्दै आउनुभएको छ । नेपालमा कला विषयमा पिएचडी गर्ने प्रथम महिलाका रूपमा परिचित डा. शर्मा छापाचित्रणमा दख्खल राख्नुहुन्छ । उहाँले बनाएका छापाचित्रणमा नेपाली संस्कृति र सम्पदाको सिंगो इतिहासलाई उधिनेको पाइन्छ । नेपाली संस्कृति तथा सम्पदालाई चित्रमा जीवन्त राख्न उहाँ सफल हुनुहुन्छ ।

छापाचित्रमा सिधै ब्रस र रङको प्रयोग हुँदैन । यो त धातुको पाता, काठ, लिथोग्राफ या यस्तै अन्य विविध माध्यममा चित्र बनाई त्यसबाट प्रिन्ट निकालिन्छ । कागज जस्तोसुकै भए पनि निस्किएको प्रिन्ट तथा काम गर्ने प्रोसेसलाई ग्राफिक्स प्रिन्ट (छापाचित्र) भन्ने गरिन्छ ।

नेपालमा छापाचित्र बनाउने कलाकार पछिल्लो समय निकै बढेको पाइन्छ । तर, यसैमा आफूलाई समर्पित गरेका कलाकार भने निकै कम छन् । तिनै कममध्येका पनि अग्रणी कलाकारको रूपमा डा. शर्माको नाम अगाडि आउँछ । डा. शर्माको कलाप्रतिको तीन दशकभन्दा लामो यात्रामा थुपै्र उदाहरणीय कार्य हुन सकेका छन् । हुन त सुरुमा डा.शर्माले भारतीय भूदृश्य चित्र, तथा अन्य कला शैलीमा चित्र बनाउनुभयो ।

जब एमएफए (ललितकलामा स्नातकोत्तर) ग्राफिक प्रिन्ट विषय लिएर अध्ययन गर्नुभयो त्यसपछि उहाँका कलामा नयाँपन देखिन थाल्यो । छापाचित्रण कलाका माध्यमबाट डा. शर्माले कलामा सांस्कृतिक यथार्थ र समयको युग चेतनालाई उतार्नुभएको छ । सन् १९९० को दशकदेखि शर्माका कलामा नेपाली संस्कृति र सम्पदाको प्रयोग बिम्बात्मकरूपमा भएको पाइन्छ । जुन समसामयिक नेपाली कलामा मूलधारका रूपमा स्थापित हुन पुग्यो ।

उहाँको जन्म सन् १९६६ मा भारतको वनारसस्थित सिद्धेश्वर गल्लीमा भएको हो । बुबा ओमप्रकाश शर्मा र आमा कुशुम शर्माका सुपुत्री डा. शर्मा सानैदेखि कलामा रुचि राख्नुहुन्थ्यो । सन् १९९५ मा जनकपुर निवासी कलाकार उमाशंकर शाहसँग प्रेमविवाह भएपछि डा.सीमा शर्मा शाह हुन पुग्नुभयो । वनारसका साडी व्यापारीकी छोरी सीमा र जनकपुरका उमाशंकर शाह एउटै कलेजका सहपाठी हुनुहुन्थ्यो । कलेजमै प्रेम भएपछि विवाह गर्नुभएको हो ।

सानैदेखि कलामा गहिरो अभिरुचि राख्नुहुने डा. शर्माले बिएफए चित्रकलामा १९८८ (२०४५ साल) मा वनारस हिन्दू विश्वविद्यालयबाट गर्नुभयो । सोही विश्वविद्यालयबाट प्रिन्टिङ मेकिङ विषयमा गोल्ड मेडलसहित ०४७ सालमा एमएफए सक्नुभएको थियो । उहाँले सन् १९९८ (०५५ साल) मा सोही विश्वविद्यालयबाट प्रिन्टिङ मेकिङ (छापाचित्र) मा विद्यावारिधि गर्नुभयो ।

डा.शर्माले सन १९९० मा एमएफएको अध्ययन सकेपछि वनारस हिन्दू विश्वविद्यालयमा तीन वर्ष जति अध्यापन कार्यमा लाग्नुभयो । विवाहपछि उहाँ काठमाडौं आउनुभयो । उहाँका पति उमाशंकर पनि कलाकारितामै सक्रिय भएकाले कलायात्रालाई सहज ढंगले अगाडि बढाउनुभयो । काठमाडौं आएको केही समयपछि दुवैजनाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस भोटाहिटीमा चित्रकला विषयको अध्यापनमा सक्रिय हुनुभयो । शिक्षणबाहेक उहाँहरू दुवैजना कलाकारिता क्षेत्रमै सक्रियताका साथ लागिरहनुभएको छ ।

सादा जीवन उच्च विचारको जीवन मनपराउनु हुने डा.शर्मा कम बोल्नुहुन्छ । उहाँ आफ्नो विषयमा निकै तर्कपूर्ण विचार राख्नुहुन्छ । पढाई र क्याम्पसका विषयमा सधैँ चिन्तित शर्माले शिक्षाको गुणस्तर राम्रो हुनसकेमा कला क्षेत्रको स्तर राम्रो हुने तर्क गर्नुहुन्छ । शान्त स्वभाव र आफ्नो कामप्रति तीव्र लगाव उहाँका व्यक्तिगत गुण हुन् । सामाजिक जीवन र कलाकारिताको जीवनमा आपूmलाई सहयोगी देखाउन खोज्नु उहाँको अर्को विशेषता हो । डा. शर्मा जीवनलाई संघर्षको एक पाटोको रूपमा हेर्दै आफ्नो कार्यक्षेत्रलाई सम्मान र माया गर्न सक्नुपर्दछ भन्ने भावना राख्नुहुन्छ ।

चित्रमै आफ्नो सम्पूर्ण जीवन र अस्तित्वलाई गाँस्नुपर्दछ भन्ने सोच राख्ने डा.शर्मा शास्त्रीय संगीत सुन्न रुचि राख्नुहुन्छ । उहाँ भारतीय प्रसिद्ध शास्त्रीय संगीतकार रविशंकरका संगीतहरू विशेष रूपमा सुन्नुहुन्छ ।

कलाकार आफ्नो परिचय खोज्न प्रदर्शनीमा जुट्ने गर्दछन् । प्रदर्शनीले कलाकारको सिर्जना पक्ष एवं सोच–विचार र दर्शन पक्षलाई अगाडि ल्याउँदछ । साथै सामाजिक रूपमा स्थापित गराउनसमेत महत्वपूर्ण भूमिका खेल्दछ । कलाकार डा.शर्मा पनि वेला–वेलामा एकल तथा सामूहिक कला प्रदर्शनीमा सहभागी बन्नुभएको छ । डा. शर्माको पहिलो एकल प्रदर्शनी ०४६ साल (सन् १९८९) मा भिजुअल आर्टस फ्याकल्टी वनारस हिन्दू विश्वविद्यालयमा भएको थियो ।

त्यस्तै दोस्रो एकल प्रदर्शनी ललितकला एकेडेमी लखनउमा ०४९ (सन् १९९२) सालमा भएको थियो । ०५२ (सन् १९९५) सालमा काठमाडौंको सिर्जना कन्टेम्पोरेरी आर्ट ग्यालरीमा उहाँको अर्को एकल प्रदर्शनी भयो । यो कला प्रदर्शनीमार्पmत डा.शर्मा देशभित्र र बाहिर परिचित बन्दै जानुभयो । उहाँका कलाकृतिको माग बढ्न थाल्यो । कलामा दर्शकका आँखा खिच्न सफल भएर उहाँले नेपाली ललितकला क्षेत्रमा आपूmलाई सफल रूपमा स्थापित गराउनुभयो ।

०५४ (१९९७) सालमा जे.आर्ट ग्यालरी, ०५७ (२०००) सालमा सिद्धार्थ आर्ट ग्यालरी, ०६० (२००३) मै ‘एक्सप्लोरेसन अफ दि म्याजिकल रियालम’ शीर्षकमा अर्को एकल प्रदर्शनी सम्पन्न भएको थियो । त्यस्तै ०६२ सालमा ‘मिस्टीकल सङ’ शीर्षकको सातौँ एकल प्रदर्शनी पार्क ग्यालरीमा भयो । ०६३ मै सिद्धार्थ आर्ट ग्यालरीको आयोजनामा सम्पन्न ‘सेक्रेड रियालम’ शीर्षकको आठौँ एकल प्रदर्शनी काठमाडौंमै भयो । सोही वर्ष जुनो आर्ट ग्यालरी डेगु सिटी, दक्षिण कोरियामा उहाँको अर्को प्रदर्शनी भयो ।

त्यस्तै ०६४ (२००८) मा सिद्धार्थ आर्ट ग्यालरीको आयोजनामा लन्डनमा उहाँको प्रदर्शनी भइसकेको छ । हाल उहाँको एकल प्रदर्शनी जहाँगिर आर्ट ग्यालरी मुम्बईमा पनि भइसकेको छ । उहाँले देशविदेशमा दर्जनौँपटक एकल प्रदर्शनी गरिसक्नुभएको छ । त्यस्तै, उहाँ नेपाल तथा विश्वका थुप्रै देशमा भएका सामूहिक कला प्रदर्शनी तथा कार्यशालामा सहभागी हुनुभएको छ । उहाँ सयौँ सामूहिक कला प्रदर्शनीमा सहभागी भएर आफ्नो कलासँगै नेपालको सांस्कृतिक वैभवलाई विश्वमा चिनाउन सफल हुनुभएको छ र यो क्रम निरन्तर चलिरहेको छ ।

कलाकार डा.शर्माले सन् १९८९ र १९९० मा मेरिट छात्रवृत्ति प्राप्त गरी बिएचयुमा अध्ययन गर्नुभएको थियो । त्यस्तै १९९० देखि १९९२ सम्मका लागि भारतको युपी राज्य सांस्कृतिक छात्रवृत्ति लखनउबाट प्राप्त गर्नुभयो । त्यस्तै, अध्ययन अनुसन्धानका निम्ति १९९२ देखि १९९४ सम्म फेलोसिप अफ इन्डियन काउन्सिल अफ हिस्ट्रिकल रिसर्च न्यु दिल्लीबाट प्राप्त गर्नुभएको थियो ।

त्यस्तै वार्षिक कला प्रदर्शनी अवार्ड १९८४, वार्षिक कला प्रदर्शनी अवार्ड बिएचयुबाट सन् १९९० मा सम्मानित हुनुभएकी डा.शर्माले सन् १९९० मा जवाहरलाल नेहरू मेमोरियल अवार्ड न्यु दिल्लीबाट प्राप्त गरी सम्मानित हुनुभयो । त्यस्तै बेस्ट एक्जिबिट अवार्ड, अल इन्डिया एक्जिबिसन अफ आर्टस् अमृतसारबाट पुरस्कृत हुनुभएको छ । त्यस्तै ०५४ सालमा काठमाडौंमा भएको राष्ट्रिय कला प्रदर्शनीमा उहाँले पदकप्राप्त गर्नुभएको थियो ।

डा.शर्माले विभिन्न संघसंस्था तथा महत्वपूर्ण प्राज्ञिक क्षेत्रमा संलग्न भई काम गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी संकायमा रहेको ललितकला क्याम्पसको चित्रकला विषय छनौट समिति र काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस्को सेन्टर फर आर्ट एन्ड डिजाइनको विषय छनौट समितिमा रही कार्य गरिसक्नुभएको छ ।

त्यस्तै, नेपालमा पहिलोपटक त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला केन्द्रीय विभागको प्रमुख भएर काम गर्नुभएको छ । साथै नेपालमा प्रिन्टकलालाई शैक्षिकरूपमै व्यवस्थित ढंगले स्थापित गर्नमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैगरी उहाँ त्रिवि प्राध्यापक संघको सदस्य भएर काम समेत गर्नुभएको छ । नेपाल कलाकार समाज र तराई कलाकार समाजको सदस्य डा. शर्माले यी संघसंस्थामार्पmत आफ्नो कला क्षेत्रमा सक्रिय सहभागिता देखाइरहनुभएको छ ।

कला एक अध्ययन भ्रमणबाट सिकिने विषय पनि हो । आपूmले सिर्जना गरेका कलाकृतिको स्वदेश तथा अन्य देशमा चलेका शैली, सीप, विचार, दर्शन र चिन्तनसँग कत्तिको मेल खान्छ आदि जान्न र प्रत्यक्ष बुझ्नका लागि भ्रमण अति आवश्यक छ । यही सन्दर्भमा डा. शर्माले विदेश भ्रमण गरी विभिन्न संग्रहालय तथा आर्ट ग्यालरीको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । उहाँले भारत, दक्षिण कोरिया तथा थाइल्यान्ड लगायतका देशको भ्रमण गर्नुभएको भने सोहीक्रममा कला प्रदर्शनीसमेत गर्नुभएको छ ।

कला रचनाका साथै उहाँले कलासम्बन्धी लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्नुभएको छ । विभिन्न कार्यशालाको संयोजन तथा सहभागी भएर उहाँले कलाको आयामलाई फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यस्तै कलाका विषयमा अध्ययन–अनुसन्धान तथा विचार गोष्ठीमा सहभागी भएर उहाँले आफ्नो सहभागिता जनाउनुभएको छ ।

मानिसको आफ्नो कर्मप्रतिको लगाव, स्वभाव, कर्तव्य र पु¥याएको योगदानका आधारमा मानवीय व्यक्तित्व बन्छ । त्यही व्यक्तित्वका कारण समाजमा उसको दायित्व र कर्तव्य बढ्दछ भने प्रख्यात पनि बनिन्छ । कलाकार डा. शर्माको नेपाली समाजमा दुईखालको व्यक्तित्व बनेको छ । सामाजिक चेतना, सांस्कृतिक वैभवलाई कलामा उतार्दै आउनुभएकी कलाकार डा. शर्माको सामाजिक तथा कलाकारिताको व्यक्तित्वले परिचित बनाएको छ । यी व्यक्तित्व यसप्रकार रहेका छन् ।

कलाकार डा.शर्माको प्रारम्भिक काल स्वतन्त्र र कलाप्रति अभिरुचि राख्ने खालको थियो । अध्ययन कालमा उहाँले आपूmलाई कलामा समर्पित गर्दै कडा परिश्रम गर्नुभयो । कलाकार बन्ने तीव्र चाहना र चित्रमार्पmत समाजमा आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने अभियानमा उहाँले आपूmभित्रको प्रतिभा परिमार्जित गर्दै अघि बढ्नुभयो ।

कलाकारिता क्षेत्रमा लागेपछि कलाकारको प्रत्यक्ष सहभागिता सामाजिक परिवेशमा हुन सक्दैनन् । तर, कला र सिर्जनाका माध्यमबाट कलाकारले सामाजिक व्यवस्था र गतिविधिलाई उतार्दछन् । डा.शर्मा पनि आफ्ना कलाकृतिमार्पmत समाजका गतिविधिलाई बाहिर ल्याउने कार्य गरिरहनुभएको छ । हुन त उहाँले कलासम्बन्धी विभिन्न संघसंस्थामा कलाको उत्थानका निम्ति लाग्नुभएको छ ।

प्रिन्टमेकिङ कलाकार, तराई कलाकार समाज भनौँ या त्रिवि ललितकला क्याम्पसमार्पmत उहाँले आफूलाई समाजमा स्थापित गर्दै आउनुभएको छ । समाजका लागि केही गर्नुपर्दछ भन्ने मान्यता राख्नुहुने कलाकार डा.शर्माले कलाकारलाई वेलाबखत सरसहयोग गर्दै आउनुभएको छ । समाजमा डा. सीमाको सामाजिक व्यक्तित्वको निर्माण पनि कलाकारिताकै कारण बनेको हो ।

समाजमा मानिसको आफ्नै विशिष्ट भूमिका रहेको हुन्छ । भूमिकाविना समाजमा मानिस एक्लै र विचारविहीन बन्न पुग्दछ । समाजप्रति मानिसको दायित्व हुन्छ । समाज निर्माणमा सबै क्षेत्रका व्यक्तित्वका साथै कला क्षेत्रका व्यक्तिको पनि अहम् भूमिका रहन्छ । यही परिवेशमा कलाकार डा.शर्माले आपूmलाई लगाउनुभएको छ । उहाँले कला सिर्जनामार्पmत आपूmलाई कलाकारको परिचय दिन सफल हुनुभएको छ । उहाँले सांस्कृतिक बिम्ब, अर्थात् धर्म र संस्कृतिका विषयलाई आफ्ना कलाका विषय बनाई कला सिर्जना गर्दै आउनुभएको छ ।

कलाकारिताको व्यक्तित्व निर्माण हुन निरन्तरको कलायात्रा, सिर्जनात्मक अभिव्यक्ति र त्यसभित्रको दर्शन एवं विचारले नै भूमिका खेलेको हुन्छ । दर्शन र विचारले समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कलाकारका लागि सिर्जनामार्पmत निर्माण हुने दर्शन र विचार नै कला हो । यस कार्यमा डा. सीमा सफल हुनुभएको छ । उहाँको सिर्जना यात्रामा नेपाली कला र संस्कृतिले यथेष्ट स्थान पाएका छन् र त्यसमा एउटा सिंगो दर्शन निर्माण भएको छ । तसर्थ उहाँका कला प्रदर्शनी तथा कलात्मक जीवन यात्राले नै कलाकारिताको व्यक्तित्व निर्माण भएको हो ।

नेपाली कलाक्षेत्रकी इमानदार प्रतिभाका रूपमा डा. सीमालाई चिनिन्छ । उहाँको कला यात्रामा ३० वर्ष अगाडिदेखि सुरु भएको हो । तीन दशकदेखि कलाका सबैजसो गतिविधिमा संलग्न रही आउनुभएका कलाकार डा.सीमाको परिचय छापाचित्रणमा नै बनेको छ ।

०४० को दशकदेखि निरन्तर कलायात्रामा सक्रिय शर्माले सुरुका दिनमा मुहारचित्र, संरचनागत चित्र, स्थिर वस्तुचित्रण, दृश्यचित्र तथा अन्य चित्राकृति बनाउनुभएको छ । ०३५ सालदेखिका सामाजिक जीवन, सांस्कृतिक जीवन तथा धर्म संस्कृतिका चित्रहरू बनाउँदै हाल आफ्नै शैलीमा कलाकृति रचना गर्दै आउनुभएकी कलाकार डा.सीमाले थुपै्र कलाकृति बनाइसक्नुभएको छ ।

डा.शर्माले नेपाली कला क्षेत्रमा प्रवेश गरेको छोटो समयमै थुप्रै उपलब्धि हासिल गर्न सफल हुनुभएको छ । नेपाली कला र संस्कृतिबाट प्रभावित उहाँका कलामा काठमाडौं उपत्यकाको संस्कृति तथा पुरातात्विक महत्व राख्ने सम्पदालाई लिएको पाइन्छ । उहाँले आफ्ना सिर्जनामार्पmत नेपालको धर्म, संस्कृति तथा प्रकृति र भूगोललाई उतार्नु भएको छ । उहाँका कलालाई दुई धारबाट नियाल्न सकिन्छ ।

(१) धार्मिक दृष्टिकोण
(२) संस्कार एवं सांस्कृतिक दृष्टिकोण

(१) धार्मिक दृष्टिकोण
कलाकार डा. शर्माले काठमाडौं उपत्यकाका धर्मकर्मसम्बन्धी विषयलाई चित्रमा उतार्नुभएको छ । हिन्दू र बौद्ध धर्मको संयोजनमार्फत उहाँले चित्रमा मार्धुयतासँगै कलाचेतसमेत भर्न सफल हुनुभएको छ । विभिन्न देवीदेवता, मठ–मन्दिर, टुँडाल, स्तूपा, चैत्य, विहार र तिनका द्वार आदिलाई बडो कलात्मक ढंगले छापाचित्रमा उतार्नुभएको छ । कलामार्फत उहाँले नेपाली समाजको धार्मिक सहिष्णुताको भावनालाई जागृत गराउन सफल हुनुभएको छ ।

(२) संस्कार एवं सांस्कृतिक दृष्टिकोण
डा.सीमाले काठमाडौं उपत्यकाका जात्रा पर्व एवं अन्य संस्कारसम्बन्धी कार्यलाई चित्रमा उतार्नुभएको छ । कुमारीको रथारोहण, सम्यक जात्रा, तथा अन्य काठमाडौं उपत्यकाका जात्रा तथा रीतिरिवाजलाई सिर्जनात्मकरूपमा छापाचित्रमार्पmत प्रस्तुत गर्नुभएको छ । उहाँका यी कलामा नेवार समुदायको संस्कृति झल्केको पाइन्छ । यसमा डा. शर्माले नेपाली संस्कृतिको परिचय दिन सफल हुनुभएको छ । मिथकीय बिम्बको प्रयोग अधिक रहेका उहाँका कलाकृतिले नेपालको धार्मिक, सांस्कृतिक तथा परम्परागत संस्कारको उजागर गरेको पाइन्छ ।

उहाँले क्याम्पस अध्ययनका क्रममा पूरै एकेडेमिक कामहरू गर्नुभयो । त्यसपछि दृश्यचित्रण, केही मुहारचित्रण तथा सामाजिक जीवनसँग सम्बन्धित कलाकृति रचना गर्नुभयो । मैथिली, थारु संस्कृति तथा पूर्वी नेपालका तराई–मधेस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक परिवेशका कलाकृति निर्माणमा समेत हात चलाउनुभएकी कलाकार शर्माका कलाले नेपालको मौलिक विषयलाई उधिनेको पाइन्छ । उहाँका कलाकृतिमा आएको परिवर्तन पनि काठमाडौं प्रवेश पछाडि नै हो । तर, जेजति देखिएका शैली र सीप छन् तिनको प्रस्तुति बेग्लै र सीमाको आफ्नै विशिष्टपना झल्कने खालका छन् ।

उहाँका कलाकृतिमा पाइने रङ, विषय संयोजन तथा प्रस्तुति निकै प्रभावकारी र उद्वेगपूर्ण भएको पाइन्छ । विशेष गरी न्यानो रङका चित्रमा उहाँले सांस्कृतिक वैभव र तिनको कलात्मक संयोजन गरेको देखिन्छ ।

उहाँ चित्रमा प्रयोग गर्ने रङको मनोविज्ञान पनि सांस्कृतिक, धार्मिक तथा सामाजिक परिवेशसँग मिलेको पाइन्छ । रङको सालिन प्रयोग र त्यसको अर्थपूर्ण प्रस्तुति उहाँका कलाको महत्वपूर्ण विशेषता हो । कलाले मानव जाति र समाजको मौलिकतालाई गहिरो गरी उठान गर्नुपर्ने तर्क राख्ने डा. शर्माका कलाले नेपालको पहिचानलाई चिनाउन सकेका छन् । समाज रूपान्तरणमा कलाको भूमिका अहम् हुनेभएकाले यसको विकास, संरक्षण र प्रवद्र्धनमा राज्यले उचित सम्बोधन गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया