उपनिर्वाचनः अधिकांशको नतिजा सार्वजनिक

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनका अधिकांश स्थानको परिणाम सार्वजनिक भएका छन् । सार्वजनिक परिणाममा सत्तारुढ नेकाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्चस्व देखिए पनि प्रतिपक्षी कांग्रेस पनि पहिलेभन्दा कमजोर देखिएको छैन ।

सार्वजनिक भएका भएका परिणाम मध्ये प्रतिनिधिसभा सदस्यका लागि भएको एक स्थान मात्रको निर्वाचनमा नेकपाकी विद्या भट्टराई निर्वाचित भएकी छन् । कास्की –२ बाट निर्वाचित तत्कालीन पर्यटन मन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको हेलिकोप्टन दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा नेकपाले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । विद्याले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् ।

उपनिर्वाचन भएका ३ प्रदेशसभा मध्ये भक्तपुरको नतिजा सार्वजनिक भएको छ जहाँ कांग्रेसका कृष्ण भँडेल निर्वाचित भएका छन् । यसअघि तत्कालीन नेकपा (एमाले)ले जितेको सो प्रदेसभा सिटमा भएको उपनिर्वाचनमा प्रतिपक्षी नेपाली कांग्रेसले जितेको हो ।

अन्य सार्वजनिक भएका परिणाममा सत्तारुढ दल नेकपाले २३ स्थानमा जित हात पारेर अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ वडा अध्यक्षमा जित हात पारेको छ । त्यस्तै समाजवादीले ४ र राजपाले ३ वडा अध्यक्षमा जित हात पारेका छन् । एक स्थानमा नेकपाका बागी उम्मेदवारले जित हात पारेका छन् ।

त्यस्तै उपुचनाव भएका ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षमध्ये दुई गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् भने एक गाउँपालिकाको उपाध्यक्षमा नेकपाले जितेको छ । अब पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षको मत परिणाम आउन बाँकी छ ।

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल निर्वाचित भएका छन् भने महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रुपा शाही निर्वाचित भएकी छन् ।

जित्ने को कहाँ ?
पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, संखुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौं दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रूरू क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्युठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका छन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएका हुन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भए ।

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वा्चित भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभातर्फ भक्तपुर १ क मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

चर्चाको शिखरमा भक्तपुर
भक्तपुर १ (क) मा नेकपाको पराजयले चर्चा शिखरमा रहेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर अहिले नेकपा बनेको हो । ढकालको पराजयलाई लिएर केहीले पार्टी मिले पनि मन नमिलेकाले पराजयको कारण भएको चर्चा थालेका छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का हरिशरण लामिछानेले १२ हजार ७ सय ८० मत प्राप्त गरी विजयी भएका थिए भने नेपाली कांग्रेसका विजय खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । ०७४ मा देशभर राप्रपाले कांग्रेससँग तालमेल गरे पनि यो निर्वाचन क्षेत्रमा गरेको थिएन । तत्कालीन अवस्थामा राप्रपाले यो प्रदेशसभा क्षेत्रमा ५ हजार १ सय ९८ त ल्याएको थियो । हाल राप्रपा विभाजित हुँदा यो मत पनि विभाजित भएको र राप्रपा (संयुक्त) ले कांग्रेसका उम्मेदवारलाई सघाउने घोषणा नै गरेकाले कांग्रेसको जित निश्चित गरेको एकथरीको भनाइ छ ।

अर्काथरी नेकपाभित्रको अन्तर्घातका कारण पराजय व्यहोर्नु परेको तर्क गर्छन् । ढकाललाई उम्मेदवारै बनाउनु हुन्न भन्ने आवाज भक्तपुर नेकपामा व्यापक उठेको थियो । ढकालले टिकट पाइसक्दा समेत केहीले पार्टी कार्यालय तलाबन्दी गरेर टिकट फिर्ताको माग गरेका थिए । ढकाल नेकपाका अध्यक्ष प्रचण्डका निकट मानिन्छन् । हाल पनि उनी ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव हुन् । सो निर्वाचन क्षेत्रमै पर्ने नगरकोट सडक वर्षांदेखि अलपत्र पारिदा स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थान र सवारी साधनमा समेत टाँसेर विरोध गरेका थिए । संयोग नै भन्नुपर्छ ती ठेकेदार शारदाप्रसाद अधिकारी प्रचण्डका घरबेटी हुन् । यसको रिस पनि ढकालमाथि पोखिएको कतिपयको तर्क छ ।

जसले शून्य मत पाए
काठमाडौं । शिवराज नगरपालिका–१० मा राप्रपा (संयुक्त) का उम्मेदवार नूर मोहम्मद मनिहारले एक मत पनि पाएनन् । शनिबार भएको उपनिर्वाचनमा उनले शून्य भोटमा चित्त बुझाउनु प¥यो ।शनिबार भएको उपनिर्वाचनमा बाराको बारागढी गाउँपालिका–१ मा स्वतन्त्र उम्मेदवार नरेश पासवानले पनि शून्य मतमै चित्त बुझाए ।

रौतहटको गढीमाई नगरपालिकामा पनि चार जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए । वडा नम्बर २ को उपनिर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका नथुनी पासवान, विनय साह तेली, सकुर मिया, हविब राय भाँटले खाता खोल्न सकेनन् ।

महोत्तरी बलवा नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार सुवोध साहले शून्य मत ल्याए । अर्का स्वतन्त्र उम्मेदवार हेमन्तकुमार साहले १ मत मात्रै ल्याए ।

प्रतिक्रिया