सुशासनसम्बन्धी जनप्रतिनिधिलाई तालिम

कालीकोट । असल शासन, कुशल प्रशासन नै सुशासन हो । म को हुँ, मैले गर्ने काम के हो ? समाज रूपान्तरणमा मेरो भूमिका के रहन्छ भन्दै खाँडाचक्र नगरपालिका–१ देखि ११ सम्मका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई सुशासनसम्बन्धी तालिम दिइएको छ ।

सहकर्मी समाज नेपालको आयोजनामा जनप्रतिनिधिलाई तीन दिने तालिम दिइएको हो । सुशासनमा नागरिक सहभागिता कार्यक्रमअन्तर्गत जनकेन्द्रित विकास प्रणालीसम्बन्धी बुधबारदेखि तालिम दिएको हो । जनकेन्द्रित विकास र सुशासनमा नागरिकको प्रत्यक्ष सहभागिता र समुदायस्तरमा स्थानीयलगायत जनप्रतिनिधिले गर्नुपर्ने मुख्य कार्यहरूबारे तालिम दिइएको हो । सकहर्मी समाजका अध्यक्ष रत्न गाहा मगरले समाजका कतिपय मानिसहरूलाई सुशासन र विकासीय बजेटको बारे थाहा नभएको कुरा सुनाउँदै अब जनप्रतिनिधिले नागरिकबीच पारदर्शी तरिकाले जुनसुकै काम गर्न आग्रहसमेत गरेका छन् ।

यस्तै सहकर्मी समाज नेपालका कार्यकारी निर्देशक अमरब अयरले स्थानीय तहबाट दिइने सेवा सुविधाहरू कतिको पारदर्शी छन् । सेवाग्राही सन्तुष्ट छन् या छैनन् । आगामी दिनमा जनप्रतिनिधिले गर्नुपर्ने मुख्य कार्य र जनकेन्द्रित विकास एवं सुशासनका क्षेत्रमा जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहनु आवश्यक रहेको बताएका छन् ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रमका सुुशासन अधिकृत पंकज शाहीले विगतमाजस्तै कर्मचारीतन्त्र नभएकाले अहिले आफ्नै जनप्रतिनिधिको भरोसा नागरिकले लिएको भन्दै सूचनाको हकलाई मध्यनजर गर्दै नागरिकलाई सुशासनमा अग्रसर गर्नुपर्ने सुनाए । साथै शाहीले विकट कालीकोटका नौ वटा स्थानीयतहले आफ्ना नागरिकहरूले मागेको सूचना प्राप्त गरिदिनुपर्ने भन्दै नागरिकलाई पारदर्शी रूपमा सेवा दिनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले आफ्नो पालिकाभित्र रहेका सबै नागरिकहरूलाई विगतमा जे जस्तो भए पनि अब आगाडि दिनमा सुशासनमा झन् प्रष्ट पार्ने भन्दै तालिमको आयोजना गर्ने सहकर्मी समाजलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । कार्यक्रममा खाँडाचक्र नगरपालिका–१ देखि ११ सम्मका जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया