बिजुली बलेपछि स्थानीय हर्षित

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँका स्थानीयवासीले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । वडा–१ हेक्पा गाउँमा निर्माणाधीन धुनीतुङ्चा लघु जलविद्युत् सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् ।

निर्माण भएको पाँच वर्षपछि बुधबार काम सम्पन्न भई बत्ती बल्न सुरु भएको वडा–१ हेक्पाका अध्यक्ष पेमा लामाले जानकारी दिए । २० किलोवाट क्षमता भएको धुनी लघुजलविद्युत् परियोजनाको सबै काम सम्पन्न भएर गाउँलाई अन्धकारमुक्त गरिएको उनले जानकारी दिए ।

यहाँका स्थानीयवासीले बत्ती नहुँदा अँध्यारोमा सल्लाको दियालो बाल्दै आएका हेक्पावासीले पहिलोपटक बत्ती बल्दा खुसियाली मनाएको स्थानीयवासी अटोक लामाले बताए । पावर हाउसमा केही दिन अगाडि उत्पादित विद्युत्को परीक्षण कार्य सफल भएपछि गाउँमा बुधबारदेखि बत्ती बाल्न सुरु गरेको लामाले जानकारी दिए । धुनी लघुजलविद्युत् परियोजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको उनले जानकारी दिए ।

निर्धारित समयको डेढवर्षपछि विद्युत् परियोजनाको निर्माणकार्य सम्पन्न भएको हो । हेक्पा र ताङ्नि गाउँका १ सय ४५ घरधुरीका बासिन्दा यसबाट लाभाविन्त भएका छन् । बत्ती आएपछि हेक्पा, ताङ्नि गाउँमा २४ घण्टासम्म गाउँ नै झिलिमिली गरिएको वडाध्यक्ष लामाले जानकारी दिए ।

यातायातको असुविधाले मेसिन तथा अन्य उपकरण पावरहाउससम्म पु¥याउन समस्या भएपछि परियोजनाको निर्माण कार्य ढिलो भएको अध्यक्ष लामाले बताए । वैकल्पिक ऊर्जा र नाम्खा गाउँपालिकाको विद्युत् परियोजनाका लागि १ करोड २० लाखको लागत लागेको उनले जानकारी दिए । बत्ती सञ्चालन भएपछि दुई गाउँमा काठ तथा अन्य उद्योग प्रयोगमा ल्याउन सकिने भएको छ ।

प्रतिक्रिया