नाकाबन्दीले पारेन कतारलाई असर ?

विक्रम संवत् २०७२ सालमा भारतबाट लगाइएको पाँच महिने नाकाबन्दीमा नेपालको सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा निकै जटिल प्रभाव परेको थियो । नाकाबन्दीका कारण अर्थतन्त्र त लगभग शून्य वृद्धिदरमै झरेको थियो । केही खाडी मुलुकले कतारमाथि लगाएको नाकाबन्दीले नेपालेको त्यो दिन सम्झाउने गर्छ । तर, नेपालले भूकम्पपछि बेहोरेको उक्त भारतीय नाकाबन्दीलाई खाडी मुलुक कतारमाथि हाल जारी नाकाबन्दीसँग तुलना गर्न नसकिने अर्थविद्हरूले बताएका छन् ।

नाकाबन्दीको सामना गर्न कतारले तत्काल चालेका कदम र अवलम्बन गरेको नीतिबाट नेपालले पाठ भने सिक्न सक्ने अर्थविद् चन्दन सापकोटाको बुझाइ छ । आतंकवादलाई सघाएको भन्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारमाथि नाकाबन्दी गरेको दुई वर्ष नाघिसकेको छ । यो दुई वर्षमा उसले विभिन्न समस्या झेल्दै आएको छ ।

सन् २०१७ को जुन महिनादेखि नाकाबन्दीमा रहेको कतारले आफूमाथि लगाइएको आरोपलाई सशक्त रूपमा अस्वीकार गर्दै आएको छ । आतंकवादलाई सघाएको भन्दै लगाइएको नाकाबन्दी वाहना मात्रै रहेको उसको बुझाइ छ । कतारले आफूले कुनै पनि आतंकवादलाई नसघाएको समेत बताएको छ ।

चारवटा प्रभावशाली एवं शक्तिशाली छिमेकी मुलुकले एकसाथ कतारमाथि नाकाबन्दी गरे पनि कतारमा त्यसको खासै असर नदेखिएको अर्थविदहरू बताउँछन् । कतारको अवस्था हिजो जे थियो आज पनि उस्तै रहेको उनीहरूको बुझाइ छ ।

उनीहरूका अनुसार नाकाबन्दी हुँदाहुँदै पनि कतारी अर्थतन्त्र धर्मराउन नसक्नुको तीनवटा प्रमुख कारण देखिन्छ । अर्थविद् स्वर्णिम वाग्लेका अनुसार पहिलो कुरा कतारको आर्थिक सामथ्र्य हो । जसले कतारलाई डगमगाउन दिएको छैन । ‘कतारको प्रमुख निर्यात नै प्राकृतिक ग्याँस हो । र, प्राकृतिक ग्याँसको स्वभाव नै के हुन्छ भने त्यसका क्रेताहरूसँग १०, १५, २० वर्षसम्मको सम्झौता पहिले नै गरेको हुन्छ ।’ ‘दीर्घकालीन सम्झौताका कारण उसको आर्थिक सामथ्र्य दह्रो छ र आर्थिक बचत पनि धेरै छ,’ उनी थप्छन् ।

त्यसप्रति सहमति जनाउँदै अर्का अर्थविद् विश्व पौडेल भन्छन्, ‘उसले निर्यात गर्ने चिजको संसारभरि बजार छ ।’ जसलाई नाकाबन्दीले कुनै पनि असर पु¥याउँदैन । यस्तै कतार विश्वकै सबैभन्दा बढी एलपीजी ग्याँस निर्यात गर्ने देश पनि हो । सन् २०१७ मा मात्रै उसले आठ करोड १० लाख टन ग्याँस निर्यात गरेको थियो जुन विश्वको कुल आपूर्तिको झन्डै एकतिहाइ हो ।

लन्डनस्थित अनुसन्धान कम्पनी क्यापिटल इकोनोमिक्सका मध्यपूर्व अर्थतन्त्र मामिलाका जानकार जेसन टुभीले गत जनवरीमा भनेका थिए, थप ग्याँस निकालेरै पनि कतारीहरू बाँच्न सक्छन् ।’ कतारलाई बाच्नैका लागि अरू कसैको भर पर्नु नपर्ने उनले बताए ।

अर्थविद् वाग्लेका अनुसार कतारले लन्डन, न्यूयोर्क सहरसहित पश्चिमा मुलुकहरूमा रणनीतिक लगानी पनि गरेको छ । ऊसँग सोभरेन वेल्थ फन्ड भनिने रणनीतिक राष्ट्रिय बचत खर्बौँ बराबर छ । उनका अनुसार नाकाबन्दीबाट कतार गल्न नसक्नुको अर्को कारण उसको भौगोलिक अवस्था पनि हो । वाग्ले भन्छन्, ‘कतार भूपरिवेष्टित देश होइन । उसको समुद्रसम्म पहुँच भएकोले भूपरिवेष्ठित नेपाललाई जस्तो जोखिम उसलाई भएन ।’ समुन्द्रका कारण उनी उसलाई ती देशहरूले लगाएको नाकाबन्दीले गलाउन नसकेको उनको बुझाइ छ ।

अर्थविद्हरूका अनुसार केही मुलुकले गरेको सहयोगका कारण पनि नाकाबन्दीसँग जुध्न कतारलाई सघाउ पुगेको छ । समुद्रसँग पहुँच रहेको कतारलाई टर्की र मध्यपूर्वको एउटा शक्ति देश इरानले सहयोग गरेको छ । दूधको मागलाई मध्यनजर गर्दै कतारले विमानमार्फत दशौँ हजारको संख्यामा इरानबाट गाई आयात ग¥यो । जसले त्यहाँको दूधको मागलाई पूरा गरिरहेको छ ।

हुन त त्यसलाई कतिपय अर्थविद्ले राजनीतिक नाटक पनि भन्ने गरेका छन् भने कतिपयले आफू जुनसुकै अवस्थाको सामना गर्न सक्षम रहेको कतारको सन्देशको रूपमा लिने गरेका छन् । तीबाहेक वास्तविक कतारीको जनसंख्याको आकार पनि नाकाबन्दीको असर नपर्नुको एउटा कारण भएको अर्का अर्थविद् विश्व पौडेल बताउँछन् । थोरै जनसंख्या भएका कारण पनि कतारलाई उति साह्रो समस्या नपरेको हो ।

पौडेल भन्छन्, ‘वास्तविक कतारीलाई त्यहाँ समस्या हुने स्थिति नै थिएन । तीन लाख जनसंख्या छ । त्यहाँ भएका दश जनामा एकजना मात्र कतारी नागरिक हुन् ।

हाल जापानमा रहेका अर्थविद् चन्दन सापकोटाका अनुसार नाकाबन्दीसँग जुध्न कतारले विशेषगरी दुईवटा आर्थिक रणनीति अपनाएको देखिन्छ । पहिलो कुरा बजारमा खाद्य पदार्थ तथा अरू सामानको अभाव हुन नदिन तत्कालका लागि पर्याप्त आयात ग¥यो । जस्तैः इरान र टर्कीबाट जोसँग उसको सम्बन्ध राम्रो छ । अनि आफ्नो आन्तरिक उत्पादन क्षमता बढाउन लगानी पनि बढायो ।’ जसका कारण कतारमा खाद्यान्नको अभाव भएन ।

यस्तै दोस्रो कुरा निजी लगानी बढाएर कतारले आर्थिक वृद्धि गर्न निजीकरणका साथै अरू आर्थिक उदारीकरण ग¥यो । उत्पादन बढाउँदै आत्मनिर्भर हुने, आयात प्रतिस्थापन गर्ने र आफ्नो उत्पादन निर्यात पनि गर्ने खालको रणनीति लियो र धेरै हदसम्म यो सफल पनि भएको छ ।’

नेपालले कतारबाट के सिक्न सक्छ ?
एउटा सानो खाडी मुलुक भएर पनि कतारले नाकाबन्दीको दृढतापूर्वक सामना गरेको उदाहरण नेपालमा पनि दिने गरिन्छ । यो नेपालका लागि सिक्न लायक विषय हो । कतार र नेपालको आर्थिक तथा भौगोलिक अवस्था तुलना गर्ने किसिमको नभए पनि केही कुरा सिक्न सकिने कतिपयको तर्क छ ।

अर्थविद् सापकोटा भन्छन्, ‘नेपालले पनि उत्पादन बढाउँदै आत्मनिर्भर हुने, आयात प्रतिस्थापन गर्ने र आफ्नो उत्पादन निर्यात पनि गर्ने खालको रणनीति लिनुपर्छ । कृषि प्रशोधन गरेको सामान, सस्तो र भरपर्दो बिजुली, पर्यटन, र तीव्र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ यसो गर्दा बाह्य देशमा पर निर्भर हुन नपर्ने देखिन्छ ।

सापकोटाका अनुसार खाद्य सामग्रीको सुनिश्चितता गर्न अरू देशका कृषि उत्पादन र प्रशोधन गर्ने कम्पनीमा लगानी गरेको थियो जसले आत्मनिर्भर हुन महत्त्वपूर्ण भूमिका निर्वाह ग¥यो । त्यसबाहेक सरकारी खर्चको मात्रा र गुणस्तरमा सुधार, कर्मचारीतन्त्र र राजनीतिक स्तरमा हुने ढिलासुस्तीका साथै नचाहिँदो हस्तक्षेप बन्द गर्नुपर्ने उनको सुझाव छ । यसले मुलुकलाई बलियो बनाउने देखिन्छ ।

सापकोटाका अनुसार जुन तरिकाले सरकारले आफ्नो र निजी क्षेत्रको लगानी बढाउन केन्द्रीय भूमिका खेल्नुपथ्र्योे, त्यो नेपालमा देखिँदैन । यसले पनि नेपालले त्यस्ता अवस्थामा समस्यासँग झेलिनु पर्ने देखिन्छ ।

उनी भन्छन्, ‘सरकारले आर्थिक उदारीकरण गर्दै निजी लगानी बढाउन भन्दा पनि निजी लगानीको नियन्त्रणमा धेरै ध्यान दिएको देखिन्छ । बोली धेरै, काम कम भएको छ ।’ कतारी लगानी कोष अल रयानका वरिष्ठ निर्देशक अकबर खानले गत जनवरीमा भनेका थिए, ‘नाकाबन्दीले हाम्रो भावनामा त असर पारेको छ, तर हाम्रो व्यापार गर्ने क्षमतामा चाहिँ होइन ।’

बाहिरी दुनियाँले हेर्दा कतारमा लगाइएको नाकाबन्दीले भावनात्मक असर पारेको देखिन्छ । खानले भनेजस्तै कतारको नाकाबन्दी बाहिरी दुनियाँको लागि हाउगुजी भए पनि उनीहरूका दैनिकी र भोगाइमा त्यसको असर देखिदैन । कतारको उक्त अवस्थालाई हेर्दे नेपालले पनि आफूलाई बलियो र आत्मनिर्भर बनाउने हो भने त्यस्ता समस्या आइपरे पनि केही फरक न पर्ने देखिन्छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया