वागमतीमा स्वच्छ पानी बगाउने सपना

काठमाडौं । नेपाली सभ्यताको परिचायकका रूपमा रहेको वागमती नदी मानवीय अतिक्रमणका कारण ढलमा रूपान्तरण भएको भन्दै चौतर्फी आलोचना भई नै रहन्थ्यो । मानवीय अतिक्रमणलाई रोक्नेतर्फ यसअघि खासै प्रयास पनि भएको थिएन । ‘कुराले चिउरा भिज्दैन’ भन्ने नेपाली उखान जस्तै वागमतीको सुधारका लागि भाषण होइन काम जरुरी थियो ।

वास्तवमै काम गर्ने सोच राख्दै काठमाडौंवासीमा जनचेता जगाउनसके वागमतीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने चाहना मुखरित हुनु आवश्यक थियो । केही वर्षदेखि वागमतीमा सफाइ अभियान पनि नचलेको होइन तर, त्यसले समस्या समाधानका लागि बीसको उन्नाइस मात्रै गर्न सक्यो । मुख्य कुरा वागमतीमा बस्तीबाट सीधै जोडिएको ढल नै प्रदूषणको प्रमुख कारण थियो । त्यसलाई नरोक्दासम्म जतिसुकै सुधारको काम गर्दासमेत त्यसले सफलता पाउने अवस्था थिएन । सफाइ अभियानले सार्थकता पाउने अवस्था पनि थिएन, किनकी मुख्य कारण अर्कै थियो ।

सरकारले त्यसका लागि नदीमा बहने पानी र ढलको छुट्टाछुट्टै प्रबन्ध गर्ने योजना बनायो । ढल व्यवस्थापन गरेपछि मात्रै वागमतीमा स्वच्छ पानी बगाउन सकिन्छ भन्ने ध्येयका साथ सुरु गरिएको परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको गुह्ेश्वरीमा निर्माणाधीन वागमतीको फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिए । आयोजनाको काम आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

आयोजना प्रमुख ढकालले भने, ‘हामीले फोहर पानी प्रशोधन केन्द्रको काम ९५ प्रतिशत सम्पन्न गरिसकेका छौँ । बाँकी काम आगामी पुस मसान्तभित्र सम्पन्न गरी वागमतीमा सफा पानी बगाउँछौँ ।’ आयोजनाको पछिल्लो अवस्थाका बारेमा शनिबार खानेपानी मन्त्री बीना मगर, सचिव माधव बेलवासेलगायत टोलीले स्थलगत निरीक्षणसमेत ग¥यो । सरकारले केही गरेको छैन, केवल गफ मात्रै गरेर बसेको छ भनेर गरिने आलोचनाको जवाफसमेत गुह्येश्वरीमा निर्माण भइरहेको प्रशोधन केन्द्र पनि आफैँमा एउटा जवाफ हो ।

वागमतीसँग जोडिएको मानव सभ्यता र त्यसको सांस्कृतिक पक्षलाई जोगाउने लक्ष्यका साथ सुरु भएको परियोजना सम्पन्न भएपछि सो नदीमा पौडी खेल्न सकिने आयोजनाको विश्वास छ । स्थलगत निरीक्षणमा पुगेकी मन्त्री मगरसहितको टोलीलाई आयोजनाबारे जानकारी गराउँदै आयोजना प्रमुख ढकालले भने, ‘प्रशोधन केन्द्रको काम सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिन्छ र वागमतीमा स्वच्छ पानी बग्न थाल्छ ।’

नेपालका मात्रै नभई विश्वका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको पशुपतिनाथ र आसपासका क्षेत्रमा समेत स्वच्छ पानी बहन थाल्ने र बिना हिचकिचाहट पौडी खेल्न तथा नुहाउन सकिने उनको भनाइ छ । वागमतीको मुहार फेर्ने सरकारको लक्ष्यलाई एसियाली विकास बैंकले सहयोग गरेको छ । सो आयोजनाका लागि दुई अर्ब ५५ करोड रुपैयाँ खर्च गरिएको छ । आयोजना सम्पन्न भएपछि एक सेकेन्डमा तीन सय ९० लिटर फोहर पानी प्रशोधन गर्न सकिनेछ । त्यस आधारमा दिनभरमा तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन हुनेछ ।

यस्तै सोही आयोजनाको अर्को स्वरूपमा रहेको ऊर्जा उत्पादन कक्षबाट प्रतिघण्टा तीन सय २० किलोवाट विद्युत्समेत उत्पादन हुनेछ । आयोजनाको अर्को पनि फाइदा रहेको छ । प्रत्येक दिन सात टन कम्पोस्ट मलसमेत उत्पादन हुनेछ । सो मलको प्रयोग गरेर खेती उब्जनी बढाउनसमेत सहयोग मिल्नेछ । कृषि पेसाका लागि उक्त प्रशोधन केन्द्रबाट उत्पादन हुने मल असाध्यै प्रभावकारी हुने विश्वास लिइएको छ ।

कम्पोस्ट मल अन्नबाली तथा तरकारीखेतीका लागि उपयुक्त हुने काठमाडौं उपत्यका फोहर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिए । यस्तै ग्याँस उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेस्टर’ जडान भएको छ । सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पानी प्रशोधन गरिनेछ । प्रशोधन भएको पानी पिउन योग्य नभए पनि नुहाउनसम्म हुनेछ ।

यस्तै स्वच्छ पानी बग्न थालेपछि वागमतीमा माछा खेलेको हेर्ने काठमाडौंवासीको सपना पूरा हुनेछ । जलचर मानव समुदायका लागि नजिकको मित्र भएकाले त्यसको संख्यामा बढोत्तरी हुने विश्वास आयोजनाको छ । काठमाडौंका नदीबाट दैनिक १३ करोड लिटर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्त्रालयका सचिव माधव बेलवासेले जानकारी दिए । वागमतीको मुहान छेउ धापमा पानी संकलन केन्द्र बनाइएको र हिउँदमा त्यो पानी नदीमा बगाइने तथा अन्य नदी सफाइका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

कामको गति र आयोजनाको प्रगति सुनेपछि खानेपानी मन्त्री मगरले खुसी हुँदै भनिन्, ‘ऐतिहासिक महत्व बोकेको वागमती नदीलाई सफा राख्ने यो महत्वपूर्ण कामलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ । कुनै पनि हालतमा तोकिएको समयमा आयोजना पूरा हुनुपर्छ ।’ उनले कुनै समस्या वा जटिलता भए त्यसलाई समाधान गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाइन् ।

विगत चार वर्ष पहिलेदेखि सुरु भएको सो आयोजनाले गोेकर्णदेखि गुहु्ेश्वरीसम्म पानी प्रशोधन गर्न सक्नेछ । यस्तै ललितपुरको धोबीघाट तथा बालकुमारीमा पनि पानी प्रशोधन केन्द्रको निर्माण थालिएको छ । धोबीघाटमा यो परियोजना लागि मात्रै ६ सय रोपनी जग्गा प्रयोग गर्न लागिएको छ । धोबीघाटको योजना सम्पन्न गर्न झन्डै पाँच अर्ब बजेट लाग्नेछ । मन्त्री मगरले पशुपति क्षेत्रमा सफा पानी बगाउने सरकारको लक्ष्य सफल तथा नजिक पुगेको बताए ।

प्रतिक्रिया