बालीमा बन्धक युवतीको कथा

अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिनासम्म इन्डोनेसियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाएर पनि उनी अस्ट्रेलिया कहिल्यै पुगिनन् । यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन त ? एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले आफ्नो कथा–व्यथा यसरी सुनाएकी छन् ।

म नेपाल फर्किएको केही दिन भइसकेको छ । तर, मलाई अहिले पनि इन्डोनेसियामा बन्धक नै छु जस्तो लागिरहेको छ । मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर । मेरो जीउ अझै थरथर काँप्छ । म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु ।

सुरुमा अस्ट्रेलिया लैजाने ती दाइलाई डेढ लाख रुपैयाँ बुझाएँ । उनले सेटिङ मिलाएर उडिहाल्ने योजना सुनाए । २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाइ मलेसिया उड्यौँ । त्यहाँबाट हामीलाई (इन्डोनेसियाको राजधानी सहर) जाकार्ता पु¥याइयो । त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए । हामीलाई एउटा होटलमा लगेर राखियो

मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो । नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्वीरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो । १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो । मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो ।

म घरकी जेठी छोरी । अहिले २३ वर्षकी भएँ । घरमा आमा, बुवा र दुई भाइ छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ । काठमाडौंमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाइ भेटिए ।

उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए । मेरो बुबा–आमा गाउँमा सामान्य खेतीकिसानी गर्नु हुन्छ । उहाँहरूसँग त्यति धेरै पैसा थिएन । जसोतसो ऋण खोज्ने कुरा भयो । हामीले घरजग्गा धितो राखेर एउटा बैंकबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ ।

सुरुमा अस्ट्रेलिया लैजाने ती दाइलाई डेढ लाख रुपैयाँ बुझाएँ । उनले सेटिङ मिलाएर उडिहाल्ने योजना सुनाए । २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाइ मलेसिया उड्यौँ । त्यहाँबाट हामीलाई (इन्डोनेसियाको राजधानी सहर) जाकार्ता पु¥याइयो । त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए । हामीलाई एउटा होटलमा लगेर राखियो ।

त्यसपछि हाम्रो दुःख सुरु भयो । अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र सेटिङ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दबाब दिन थालियो । हामीले थप पैसा मगायौँ र बुझायौँ । तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन ।

बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो । त्यतिवेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ । हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह ग¥यौँ । तर तोकिएको भन्दा लामो समय इन्डोनेसिया बसेर ओभरस्टे भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो । उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो

जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाइहरू पनि आउन थाले । हामी १३–१४ जना भयौँ । सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन । हामी छटपटाउन थाल्यौँ । खाने र पिउने बन्दोबस्त पनि भएन । कोठामा थुनेर राखियो ।

हामीलाई थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो । त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ । मैले पटक–पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ । तर, अस्ट्रेलिया जाने दिन कहिल्यै आएन । त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो ।

दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ । त्यहाँ पनि एउटा होटलमा राखियो । जहाँ खान पकाउन मिल्ने सुविधा थियो । तर, हामीलाई राम्ररी खान पनि दिइएन । म रोएर बस्थेँ । नेपाली दाइहरूले नै खाना खोजेर ल्याइदिन्थे ।

बालीमा संसारभरिबाट मानिसहरू घुम्न जान्छन् । हामीलाई कतै घुम्न जान पनि दिइएन । त्यहाँ पनि दिन बित्दै गयो । तर केही भएन । दाइहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ । तर केही भएन ।

बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो । त्यतिवेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ । हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह ग¥यौँ । तर तोकिएको भन्दा लामो समय इन्डोनेसिया बसेर ओभरस्टे भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो । उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो ।

हामीलाई जाकार्ता सहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो । पैसा मगाइदिन्छु नेपाल फर्काइदेऊ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि ग¥यो ।

तर, नेपाली दाइहरूले मलाई बचाउनु भयो । त्यसपछि म साह्रै विक्षिप्त र दुःखी भएँ । रोएर दिन र रात बिताउन थालेँ । कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ । तर, नेपाली दाइहरूले आड भरोसा दिइरहनु भयो । दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए । ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ । पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ ।

मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ । एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाइ र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ । उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनु भयो । त्यसपछि म केही आशावादी भएँ ।

भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनु भयो । रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो । उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु प¥यो र धेरै खर्च गर्नु भयो । भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनु भएछ ।

उहाँले नै ती भारतीय दलालसहित हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो । लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन् । अहिले म न्यायको पर्खाइमा छु । मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु ।

मैले जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ । मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुःख पाउन सक्थे ।

नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छः तपाईंहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस् । इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस् । सबै कागजपत्र र बिल भर्पाइ लिनुहोस् । अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्तामा जाल वा पासोमा नपर्नुहोस् ।

प्रतिक्रिया