‘यलम्बर’ले हेरे इन्द्रजात्रा

काठमाडौं । नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरू चलिरहेको छ । इन्द्रजात्रा सुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ ।

जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ । नौ दिनसम्म भैरवको मूर्तिलाई बाहिर राखिन्छ ।

एकादशीको दिन आकाशभैरवको मूर्ति राखिने खट तयार गरेर द्वादशीको दिनमा भैरवको मूर्ति सफा गरी बाहिर निकालिन्छ । द्वादशीको दिनदेखि बाहिर निकालिएको भैरवको मूर्ति एकैचोटि दशौँ दिन अर्थात् कृष्ण चतुर्थीका दिनमा मात्रै मूलस्थानमा लगिने आकाश भैरव गुठीका अध्यक्ष शरदकुमार डंगोलले जानकारी दिए । उनका अनुसार १० औँ दिनसम्म विभिन्न विधिबाट भैरवको पूजा गरिन्छ ।

त्यस्तै विधिअनुसार शनिबारअर्थात् पूर्णिमाको दिनमा साइतअनुसार भैरवको मुखबाट पाँच जिउँदो माछा बगाइएको छ । माछा बगाउने दिनमा रथयात्रा माथिल्लो टोलमा हुने गर्छ । माथिल्लो टोलमा रथयात्रा गरिने मार्गमा इन्द्रचोक पनि पर्छ ।

भैरवको मुखबाट लामो जाल बनाएर जालमा जाँड राखेर माछा बगाउने गरिन्छ । मूर्ति राखिएको खटमुनि पर्ने पातालपुरमा रक्सीसँगै माछा बगाउने विधि सम्पन्न भएको छ । भैरवको मूर्तिमा जाँड छर्कने काम गरिन्छ तर श्वेत भैरवको मूर्तिबाट भने जाँड नै बगाएर दर्शनार्थीले खाने गर्छन् । माछा बगाउने समयमा भैरवको मूर्तिमा फूल हुँदैनन् तर रथयात्राका क्रममा फूलैफूलले ढाकिएको हुन्छ । भैरवको गला विभिन्न प्रजाति र रङका फूलले सजाइएको हुन्छ ।

पहिले पहिले फूल पाउन सहज थियो तर आजकल गाह्रो हुने गरेको डंगोलले बताए । उनका अनुसार आफन्तले ल्याएका फूल भैरवको मूर्तिमा सजाइने गरिन्छ । दिनैपिच्छे फरक फरक फूलले मूर्ति सजाउनुपर्छ । एक दिन मूर्तिमा राखिएको फूल अर्को दिनका लागि प्रयोग गर्न मिल्दैन ।

भैरव गुठीमा रहेका ६२ जनामध्येमा प्रत्येक वर्ष हुने जात्रापर्वका लागि आठ आठ जनाको जिम्मेवारी रहने गर्छ । बाहिर निकालिएको भैरवको मूर्तिमा हरेक दिन परम्परानुसार पूजा गरिन्छ । विधि र समयअनुसार बिहान, दिउँसो र राति गरी तीन पटक मूर्तिमा पूजा गरिन्छ ।
यलम्बर र कृष्णको सम्बन्ध

किंबदन्तीअनुसार इन्द्रचोकस्थित आकाश भैरवलाई काठमाडौं उपत्यकाका किरातवंशी राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ । भैरवलाई महादेवको रुद्र रूपमा समेत मान्ने गरिन्छ । गुठीका अध्यक्ष डंगोलका अनुसार यलम्बर र महाभारत युद्धको समेत सम्बन्ध रहेको भन्ने गरिन्छ । यलम्बर अर्थात् भैरव महादेवको रुद्र रूप लिएर महाभारत युद्ध हेर्न आफ्ना सेना र गण सहित कुरुक्षेत्र पुगेका थिए । कुरुक्षेत्र जानेक्रममा यलम्बरको भेट कृष्णसँग भयो । कृष्णसँग भेट भएपछि यलम्बरले महाभारत युद्ध हुँदै गरेकाले हेर्न जान लागेको बताए ।

कृष्णले महाभारतको युद्ध गर्ने कुरा परिकल्पना मात्रै गरेका थिए । यलम्बरको कुरा सुनेर अचम्मित हुँदै युद्धमा कसको पक्ष समर्थन गर्छौ भनी सोधे । यलम्बरले युद्ध हार्नेको पक्षमा समर्थन हुने बताए । युद्धमा पाण्डवलाई जिताउने कल्पना गरेका कृष्णलाई कौरबले हारेमा र यलम्बरले आफ्ना सैनिकसहित युद्धमा सहभागी भएमा अनर्थ हुने भन्दै रोक्ने योजना बनाए ।

यलम्बरलाई रोक्ने योजना बनाएर कृष्णले छल गरे । छल गर्ने क्रममा कृष्णले यलम्बरसँग खेल खेल्दा ‘तिमी त बलवान् रहेछौ, म तिमीलाई वरदान दिन्छु’ भने । यलम्बरले उल्टै ‘म तिमीलाई वरदान दिन्छु, माग’ भने । कृष्णले सोचेजस्तो भएपछि खुसी हुँदै यलम्बरसँग ‘म तिम्रो टाउको छेदन गर्न पाऊँ’ भनीे वर मागे । वाचामा हारिसकेका यलम्बरले कृष्णलाई युद्ध हेर्न पाउने गरी वरदान दिए । कृष्णले यलम्बरको टाउको आकाशमा झुन्डाएर युद्ध हेर्न दिएछन् । युद्ध सकिएपछि त्यही टाउको काठमाडौंमा आएर बसेको र आकाश भैरव रूपमा विराजमान भएको मानिन्छ ।

प्रतिक्रिया