बाख्रा चराउन जाँदा भालुको आक्रमणबाट गम्भीर घाइते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए । भालुको आक्रमणमा परी गम्भीर घाइते भएका साउदलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिए ।

उनले भने, ‘भालुको आक्रमणबाट साउद अचेत अवस्थामा थिए, जिल्लामा उपचार हुन नसक्ने भएपछि बयलपाटा लगिएको हो ।’ डोटीमा जङ्गली भालुको आक्रमणमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने करीब २४ जना घाइते भएको प्रहरीले जनाएको छ । पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट वर्षेनी जङ्गली भालुलगायतका अन्य जनावरहरु गाउँघरमा आहारको खोजी गर्दै आउने र स्थानीयवासीलाई आक्रमण गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया