पटकथा कार्यशाला

काठमाडौं । नेपाली चलचित्रमा व्यवसायिक र कलात्मक बनाउने लक्ष्यका साथ पटकथा कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीको आयोजना बुधबारदेखि तीन दिने कार्यशाला हुन लागेको हो । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा हुने उक्त पटकथा लेखन कार्यशालामा बलिउडका चलचित्र लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ पुगेका छन् ।

कार्यशालाको उद्घाटन गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले राज्यले नेपाली चलचित्रका लागि आवश्यक लगानी र महत्व नदिएको बताए । उनले चलचित्रले समाजलाई सचेत ढंगले अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘फिल्म समाजको प्रतिबिम्ब हो । यसले सांस्कृतिक संरक्षणमा मद्दत पु¥याउँछ ।

तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ । हामी यो गुनासो सम्बोधन गर्न सकारात्मक छौँ ।’ उनले दोलखामा फिल्मसिटी बनाउने कार्यलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले थपे, ‘कला र संस्कृतिको विकासबिना राज्य बलियो हुन सक्दैन । त्यसैले सरकारले फिल्ममार्फत नेपाली कला र संस्कृतिको प्रचार प्रसार तथा विकासमा ध्यान दिने विश्वास दिलाउन चाहान्छु ।’

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्रको विकास र पहिचानका लागि कार्यशाला सहयोगी हुने बताए । उनले भने, ‘कार्यशालाले नेपाली चलचित्रलाई प्राज्ञिक पहिचान दिलाउन सहयोग पु¥याउँछ ।’ उनले नेपालमा विदेशी चलचित्रलाई स्वदेशी चलचित्रले लगभग विस्थापित गरिसकेको जिकिर गरे । उनले भने, ‘अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् तैपनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौँ । यस्ता कार्यशालले नै त्यो पहिचान दिलाउन सहयोग पु¥याउने हो ।’

नेपाली चलचित्रको शैली र चिन्तनमा परिवर्तन ल्याउनका लागि पटकथा सुधार महत्वपूर्ण पक्ष भएको बताउँदै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले कार्यशालाले चलचित्रकर्मीलाई प्राज्ञिक ज्ञान दिने बताए । उनले भने, ‘पटकथा फिल्मको मेरुदण्ड हो । यो बलियो भएन फिल्म बलियो हुनसक्दैन ।’ उनले कार्यशालामार्फत नेपाली चलचित्रमा नयाँपन आउने विश्वास आफूले बताए । उनले भने, ‘म बोर्डबाहिर रहँदा पनि पटकथा लेखन एकदमै महत्वपूर्ण महशुस गर्थें । यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो त्यसैले अहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो ।’

कार्यशालामा सहभागी प्रशिक्षक भट्टले ७० बढी बलिउड चलचित्र लेखेका छन् । उनका ‘बाजीगर’, ‘कृष’, ‘ओमकारा’, ‘चेन्नई एक्सप्रेस’ ‘चलते चलते’ लगायतका चलचित्र निकै चर्चित छन् । भट्टले भने, ‘नेपाल आउने रहर पहिलेदेखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा साँच्चिकै उत्साहित छु ।’

त्यसैगरी हलिउड पटकथा लेखक जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा प्रध्यापन कार्यमा संलग्न छन् । कार्यशालामा भट्ट र जेफले नेपाली लेखकलाई पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउने आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा चलचित्र लेखकको कमीलाई महशुस गरी कार्यशाला गरिएको बताउँदै भने, ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौँ ।’  कार्यशालामा सहभागी सबैले एउटा पटकथा लेख्नुपर्ने आयोजकले जनाएको छ । तीमध्येबाट एक जना बिजेतालाई छोटो फिल्म बनाउनका लागि एक लाख नगद दिने अध्यक्ष पाठकले जनाए । कार्यशाला १० भदौसम्म चल्नेछ ।

प्रतिक्रिया