महिला सांसदविनाको देश

विश्वमा धेरै राजनीति र आर्थिक परिवर्तन भए पनि केही यस्ता मुलुकहरू पनि छन् जहाँको संसद्मा एकजना पनि महिला छैनन् । लैंगिक समानताका कुरा गरेर भन्दा व्यवहारमा उतारेर देखाउनुपर्छ । तर, केही मुलुक अहिले पनि महिला विनाका संसद् चलाएर दंग छन् ।

अस्सी टापुसहित दक्षिण प्रशान्तको १३ सय किलोमिटर क्षेत्रमा फैलिएको एउटा देश जसको संसद्मा ५२ सदस्य छन् । तर, सबै पुरुष । एकजना पनि महिलाको उपस्थित संसद्मा छैन । त्यहाँको संसद्ले ५२ पुरुष भित्र्याउँदा एकजना पनि महिलाको आवश्यकता ठानेन् ।

‘यहाँ असामान्य रूपमा महिलाविरुद्धको हिंसाको दर उच्च छ । साथै यहाँ निर्णय प्रक्रियामा महिला सहभागी छैनन्, भानुआटुकी लैंगिक समानतासम्बन्धी अभियानकर्ता यास्मीन ब्योर्नुमले बताइन् । तर, ती सबै पुरुष मात्र छन् । यसका साथै भानुआटु विश्वकै तीन त्यस्ता देशमध्ये पर्छ जहाँ एकजना पनि महिला सांसद छैनन् ।

विश्वमा यस्ता पनि केही देश छन् जहाँ ५० प्रतिशत भन्दा बढी महिला सांसद छन् । तर, त्यस्ता देश विश्वमा केवल तीन वटा मात्रै छन् जहाँ संसद्मा ५० प्रतिशतभन्दा धेरै महिला संसदमा छन् । अन्तर व्यवस्थापिका संघको आँकडा अनुसार ती तीन देश हुन रुवान्डा ६१ प्रतिशत, क्युबा ५३.२५ प्रतिशत र बोलिभिया ५३.१५ प्रतिशत छन्

ब्योर्नुम भन्छिन्, ‘हाम्रा मुद्दा तथा हाम्रा प्राथमिकता देशको उच्चतम निर्णय गर्ने तहमा प्रतिबिम्बित हुँदैनन् ।’ त्यसैले आफ्नो देशका महिलालाई जानकारी दिन तथा अरू प्रेरित भएर सहभागी होउन् भन्ने उद्देश्यका साथ उनले सन् २०१६ मा सिस्टा अनलाइन प्ल्याटफर्म सुरु गरिन् । उनी अहिले महिलालाई संगठीन गरी अधिकारका पक्षमा लाग्न प्रेरित गर्दैछिन् ।

हिल्डा लिनी भन्छिन्, ‘भानुआटुमा हरेक कुरा पुरुषले निर्णय गर्छन्’ । राजनीतिमा आउन चाहने भानुआटुका महिलाले थुप्रै अवरोध सामना गर्छन् । त्यहाँका परम्परागत काउन्सीलहरूले समाजमा ठूलो भूमिका खेल्छन् । तर, महिलाको भूमिकालाई शून्य बनाइन्छ । यी काउन्सिलहरूको नेतृत्व समाजका मुखिया भनिने पुरुषहरूले गर्छन् । साथै यिनले संसद््मा को उठ्ने भनेर सिफारिस पनि गर्छन् ।

‘भानुआटुका सबै राजनीतिक दल पुरुषले नै चलाउँछन् । उनीहरूले उम्मेदवार चयन गर्छन् । तिनै निर्वाचित हुन्छन् । त्यसैले संसद्मा पुरुषको वर्चस्व छ,’ पूर्व सांसद हिल्डा लिनीले भनिन् ।

लिनी भानुआटुकी पहिलो महिला सांसद हुन् । सन् १९८७ मा पहिलोपटक सांसद निर्वाचित भएकी उनले ११ वर्षसम्म तीन कार्यकाल बिताइन् । हालसम्म त्यहाँ जम्माजम्मी पाँचजना महिला सांसद चुनिएका छन् । निर्णायक तहमा महिला नहुनाले देशमा नकारात्मक प्रभाव परेको उनले बताइन् ‘भानुआटुमा परिवार सुरक्षा ऐन ल्याउन नौ वर्ष लाग्यो ।’ यो एक घरेलु हिंसासँग जुझ्ने कानुन थियो जो हालसम्म राम्ररी कार्यान्वयन हुन सकेको छैन । यसले पनि प्रष्ट पार्छ की यहाँ महिलाको अवस्था कस्तो छ भनेर ।

संयोगवश, संसद्मा महिला प्रतिनिधित्व शून्य भएका अन्य दुई देश पनि प्रशान्त महासागरकै टापु देश हुन्स् माइक्रोनेसिया संघीय राज्य तथा पपुआ न्यूगिनी हो । त्यहाँ पनि महिलाको अवस्था पुरुषको भन्दा निकै पछाडि छ ।

यति हुँदा हुँदै पनि अब भानुआटुका महिलाले सामाजिक तथा आर्थिक असमानता अन्त्य गर्न प्रयास थालेका छन् । ‘हामीमा गहिरो क्रिस्चियन मूल्यमान्यता छ । पुरुषलाई आफू घरको मुखिया र महिला दोस्रो दर्जाको भन्ने विश्वासले जरो गाडेको छ,’ ब्योर्नुमले भनिन्, ‘संसद्मा पनि महिलाविरुद्ध निकै कुरा हुन्छन् ।’

उक्त क्षेत्रको भ्रमण गरेका बिबिसी संवाददाता भन्छन्, ‘त्यहाँ कुनै पुरुषले महिलाको कमाइ खोसेर लैजानु र आफूसँग राख्नु सामान्य मानिदो रहेछ । महिलाका अधिकार निस्तेज पारिएको छ । हरेक कुरामा पुरुषको वर्जस्व छ त्यहाँ ।’

विश्व बैंकको आँकडाअनुसार त्यहाँ केवल ६० प्रतिशत जनसंख्याको मात्र बिजुलीमा पहुँच छ अनि कुपोषणका कारण एकतिहाइ बालबालिकाको वृद्धि स्वाभाविक छैन । विश्व बैंककै अनुसार देशको समृद्धि तथा भविष्यको निम्ति लैंगिक असमानताको सम्बोधन गरिनु महत्वपूर्ण छ ।

यास्मीन ब्योर्नुम भन्छिन्, ‘संसद्मा शून्य महिला प्रतिनिधित्व र उच्च दरको महिलाविरुद्धको हिंसाबीच गहिरो सम्बन्ध छ । भानुआटुको जनसंख्या करिब दुई लाख ७५ हजार छ र त्यहाँ महिलाविरुद्धको हिंसा दर उच्च छ । ‘प्रत्येक तीनजनामध्ये एकजना किशोरीले १५ वर्षको उमेर अगावै कुनै न कुनै प्रकारको यौन हिंसा भोगेकी हुन्छिन्, ब्योर्नुमले भनिन्, ‘जेलमा रहेका कैदीमध्ये ६० प्रतिशत यौन अपराधको सिलसिलामा जेल परेका छन्, अनि ९० प्रतिशत मुद्दामा पीडित चिनजानकै हुने गरेका छन् ।’

ब्योर्नुमका अनुसार ९८ प्रतिशत यौन हमला अदालतसम्म पुग्दैनन् र जति पुग्छन्, तीमध्ये केही त स्थानीय रूपमा ‘परम्परागत मेलमिलाप’ मार्फत् मिलाइन्छन् । ‘यदि तपाइँले लैंगिक समानताको समर्थन गर्नुहुन्न भने देश कहिले बदलिने छैन । तर, भानुआटुमा गलत प्रकारका परम्पराले एकदम जरा गाडेको छ,’ ब्योर्नुमले भनिन् ।

जब यहाँका किशोरी तथा बालिका भोट हाल्ने उमेरमा पुग्नेछन्, सायद उनीहरूले भानुआटुका निम्ति फरक भविष्य रोज्नेछन् । सायद अब समाज परिवर्तन हुनेछ । यो ब्योर्नुम जस्ता परिवर्तन चाहने त्यहाँका महिलाको विश्वास हो ।

प्रौढ महिलाहरूको एउटा समूह छ, जसले वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले महिला मात्र संगठित भएको एउटा दल स्थापना गरेका छन्ः ‘लेलिओन भानुआ डेमोक्र्याटिक पार्टी’ । उनीहरू उक्त पार्टीमार्फत महिलाका मुद्दा स्थापित गराउन चाहन्छन् ।

हिल्डा लिनीको नेतृत्वमा रहेको सो पार्टीले सन् २०२० मा हुने आम निर्वाचनमा भाग लिँदैछ । सो पार्टीले संसद्को ५० प्रतिशत सिट महिलाको निम्ति भन्ने अभियान थालेको छ । ‘हामीले संविधानमा मौलिक अधिकार लागु गर्नुपर्छ ताकि पुरुष, महिला तथा अपांगता भएका सबैले समानरूपमा सामेल हुन पाउनेछन्,’ उनले भनिन् । उक्त पार्टीले कम्तीमा आधा दर्जन महिला उम्मेदवार उठाउने आशा गरेको छ ।

सामान्यतया कसलाई मत हाल्ने भनेर पुरुषहरूले परिवारका महिलालाई बताउने गर्छन् विगतमा महिलाहरूले परिवारका पुरुषको निर्देशनमा भोट हाल्ने गर्थे । ‘हामी महिलाहरूलाई मतदान गोप्य हुने बताउँछौँ । यो तपाइँको निर्णय हो । तपाइँले यसबारे श्रीमान् वा अन्य कसैलाई बताउन जरुरी छैन,’ लिनीले बताइन् ।

क्यानाडाको ओट्टावास्थित कार्लटन विश्वविद्यालयको एडभान्सिङ विमेन लिडरसिप प्रोग्राममा सामेल क्लेर बेक्टन भन्छिन्, ‘यदि तपाइँ देशका ५० प्रतिशत जनसंख्यालाई बाहिर राख्नुहुन्छ भने तपाइँले कुनै पनि मुद्दामा सही जानकारी पाउन सक्नुहुन्न ।’

विश्वमा यस्ता पनि केही देश छन् जहाँ ५० प्रतिशत भन्दा बढी महिला सांसद छन् । तर, त्यस्ता देश विश्वमा केवल तीन वटा मात्रै छन् जहाँ संसद्मा ५० प्रतिशतभन्दा धेरै महिला संसदमा छन् । अन्तर व्यवस्थापिका संघको आँकडा अनुसार ती तीन देश हुन रुवान्डा ६१ प्रतिशत, क्युबा ५३.२५ प्रतिशत र बोलिभिया ५३.१५ प्रतिशत छन् ।

भानुआटुको मुख्य चुनौती भनेको महिलालाई दोस्रो दर्जामा धकेलिदिएको परम्परागत मूल्यहरूको परिमार्जन हो । भानुआटुका महिला राजनीतिज्ञहरू निर्वाचित हुन चाहन्छन्, त्यसैले उनीहरूले छुट्टै राजनीतिक दल खोलेका छन् ।

स्थानीय पर्यवेक्षकका अनुसार सबै उमेर समूहका महिलाले राजनीति र समाजमा परिवर्तनको पक्षमा विचार दिएका छन् । तर, सुधारको निम्ति नेतृत्वका लागि भने प्रौढ महिला लागिपरेका छन् । ‘उनीहरू परिवर्तनको लागि काम गर्ने तहमा छन् । उनीहरूले युवा उमेरका महिलाहरूसँग पनि सम्बन्ध जोडेका छन्,’ यास्मिन ब्योर्नुमले बताइन् । ‘महिला आन्दोलनको अग्रभागमा प्रौढ महिला हुनु पुरुषका निम्ति पनि ग्राह्य हुनेछ ।’

लिनी ढुक्क छिन् र भन्छिन्, ‘परिवर्तनको समय आएको छ ।’ उनको दृष्टि प्रष्ट छ, ‘संसद्मा ५० प्रतिशत महिला हुनुपर्छ । देशको कानुन बनाउने काममा महिलाको भूमिका हुनुपर्छ ।’ त्यसैल, यहि वर्ष हुने निर्वाचनका लागि उनीहरू लागि परेका छन् । महिला उम्मेदवार तयार गर्ने र निर्वाचित गर्ने अभियानमा । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया