‘प्रजातान्त्रिक खतरा बढ्यो’

बुटवल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय प्रजातन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् । उनले सबैभन्दा खतरा कम्युनिस्ट पार्टी र अहिलेको सरकारबाट भएको बताए ।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा आयोजना गरेको प्रदेश–५ स्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले विस्तारै प्रजातन्त्र नै खतरामा पर्ने देखिएकाले विरोधी शक्तिलाई कांग्रेसले नछाड्ने बताए । उनले सरकारले जनअपेक्षाका केही काम गर्न नसकेको आरोपसमेत लगाए ।

देउवाले सरकाले आफ्ना कार्यकर्तालाई ठेक्कापट्टा दिने, उपभोक्ता समितिका नाममा बजेट छरेर कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाए ।
सभापति देउवाले पार्टीलाई बलियो शक्ति बनाउन र आगामी निर्वाचनमा पहिलो दल बनाउन सुशासन जरुरी रहेको जनाए । उनले चुनावका वेला पार्टीलाई भोट नहाल्ने जोकोही पार्टीमा बसिरहन आवश्यक नरहेको औँल्याए ।

त्यस्ता कार्यकर्तालाई कारबाही गरेरै छोड्ने उनको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले मुलुकमा काण्डैकाण्ड मच्याएको आरोप लगाए । उनले सरकारले ठूला भ्रष्टाचार काण्ड निरुपण गर्न नसकेको बताए । पौडेलले सरकारबाट लोकतन्त्रमाथि नै प्रहार भइरहेको दावी गरे । उनले सरकार समावेसिताको सिद्धान्तबाट भागेको बताए । पौडेलले सरकारले संविधानलाई नै समाप्त पार्न खाजेको आरोप लगाउँदै त्यसको रक्षाका लागि कांग्रेस सधँै लडिरहने जनाए ।

पौडेलले पार्टीका कार्यकर्ताहरू अब यो वा त्यो गुटका आधारमा विभाजित नभई एकताबद्ध भई अघि बढ्नुपर्ने बताए । एकताबद्ध, सुशासन र पारदर्शिता कांग्रेसको सिद्धान्त र चरित्र भएको उनले जनाए । पौडेलले विधानबाट सबैभन्दा बढी पार्टीको माथिल्लो तहको कमिटी र नेता नै बाँधिनुपर्नेका जोड दिए । कार्यक्रममा पार्टी उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छेदारले अब पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य बालकृष्ण खाँण र पम्फा भुसालले बोल्दै हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा सम्भव भएको बताउँदै पार्टी बलियो भए लोकतन्त्र बलियो हुने दावी गरे । दुई दिनसम्म चल्ने प्रशिक्षणमा सहभागी हुन प्रदेश–५ का १२ जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि भैरहवा आएका छन् ।

प्रतिक्रिया