पानीको समस्या झेल्दै खाँडाचक्र

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–५ ढाडगाउँ बस्तीका ५६ घरधुरी खानेपानीको समस्यामा छन् । स्थानीय करिब एक घण्टाको दुरीमा रहेको ढुंगेधाराको पानी खाइरहेका छन् । १४ किलोमिटर माथि रहेको चुलिमालिका मन्दिरको फेदबाट स्थानीय उपभोक्ता समिति गठन गरी खानेपानी गाउँसम्म पु¥याए पनि अहिले प्रत्येक ठाउँमा पाइप टुट्दा खानेपानीको समस्या हुने गरेको हो ।

वडा–५ का घोडेना, ब्युरी, कार्कीवाडा र ढाडगाउँ बस्तीका स्थानीयलाई खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभावले घरपरिवारको अन्य सदस्यभन्दा महिला सदस्यहरूलाई धेरै दुःख हुने गरेको खाँडाचक्र नगरपालिका–५ ढाडगाँउकी कल्पना चौलागार्इंले बताइन् । उनका अनुसार ‘बिहानको झिसमिसे उज्यालोमा ढुंगेधारा गए पनि धारामा धेरैको लाइन हुने गरेको छ ।

एकातिर बाटो लामो हुँदा डरसमेत लाग्छ तर मनमा डर भएर पनि धारोबाट पानि नल्याएपछि घरपरिवारलाई खाना पकाउन, पिउनसमेत पानीको जटिल समस्या हुन्छ ।’ चौलागार्इंले भावुक हुदै सुनाइन् दूधखाने छोरीलाई काखबाट टाढा राखेर पानी लिन जाँदा र आउँदा बालबालिकाहरू भोकाएका हुन्छन् । हामी थाकेका हुन्छौँ । समयमै खान नपाएपछि बालबालिकाहरूमा कुपोषणको समेत समस्या देखिने उनले बताइन् ।

ढाँडगाउँकी कल्पना मात्रै होइन कार्कीवाडा, ब्युरी, घाडेना लगायतका वस्तीका महिलाहरूलाई खानेपानी ल्याउनुपर्ने डरले पिरोलिरहन्छ । स्थानीय नन्दशोभा चौलागार्इंले भनिन्, ‘घरमा भर्खरै गाइले बाछो पाएको छ, गाइलाई, घरपरिवारलाई पानीको जोहो गर्न बिहान गएर १० बजुन्जेलसम्म दुई÷तीन चक्कर पानी लिएर राख्छु’, उनले भनिन्, ‘पानीका ग्यालेन पिठिउँमा बोकेर आउँदा पाठेघर खस्ने समस्याले चिन्ता लाग्छ । गाउँमा एउटा पनि पानीको धारा छैन । विगतका दिनदेखि नै पाइपबाटै पानी आउँथ्यो तर अहिले त्यही पाइपहरू पनि बाटोमै टुट्दा, फुट्दा पानी रोकियो । ढाडगाउँका ५६ घरधुरीले विगत दुई महिना यता ढुंगेधाराको पानी प्रयोग गरिरहेका छन् ।

प्रतिवद्धता भुल्दै जनप्रतिनिधि
स्थानीय तहको निर्वाचन हुँदा पानीलाई मुख्य प्राथमिकता दिने, सडक पु¥याउने भन्दै आश दिएर चुनाव जितेका नगरप्रमुख र सम्बन्धित वडाध्यक्ष भने यस विषयमा मौन देखिएका छन् । तर, स्थानीयले अहिलेसम्म त्यही पाइपलाई हेदै पानी भर्ने भाँडाकुडा पाइप नजिकै छोडेको देखिन्छ ।
‘गाउँमा पानी आउँदा पनि स्थानीयलाई अपुग हुन्थ्यो, दिनदिनै एकआपसमा झडप हुन्थ्यो’, स्थानीय जयकृष्ण चौलागार्इंले भने । उनले भने, ‘गाउँ विकास समितिको कार्यालय दाहाँ हुँदा खेरी चुलिमालिकाको फेदमा पर्ने ‘बाँध’ भन्ने स्थानबाट साविकको दाहाँ गाविसलाई पानी पुग्ने गरी पञ्चवर्षीय योजना पनि बन्यो तर लाखौँ रुपैयाँ हिनामिना भयो । हामीले काम गरेको ज्यालासमेत पाएनौँ ।’

स्थानीय तह कार्यान्वयन भइसकेपछि पनि उक्त योजनालाई रकम विनियोजित गरियो । तर, केही समय पानी आए पनि अहिले भने फेरी उस्तै समस्या देखिएको स्थानीयको गुनासो छ । खाँडाचक्र नगरपालिका–५ का वडाध्यक्ष खडानन्द चौलागार्इंले भने अब नयाँ आवको बजेटबाट उक्त योजना मर्मत सुधार गरी खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेका छन् । ‘पानी जिन्दगानी’ भन्ने मूल नारालाई आत्मसात गर्दै वडाले अब खानेपानीका विभिन्न योजनाहरू सञ्चालन गरी खाँडाचक्र नगरपालिका–५ का सबै वस्तीहरूमा पानीको सास्ती हुन नदिने पनि चौलागार्इंले बताएका छन् ।

प्रतिक्रिया