एनआरएन कोरिया अध्यक्षका उम्मेद्वार गुरुङकाे ६ बूँदे एजेण्डा

दक्षिण कोरिया । समाजसेवी, ब्यवसायी एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष विपिनकुमार गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आफू एनआरएन कोरियाको बरिष्ठ उपाध्यक्ष भएको हैसियत, विगतमा काम गरेको अनुभव र आफ्नो योग्यताका आधारमा पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी स्वाभाविक रहेको बताए ।

उनले आगामी सेप्टेम्बर २१–२२ मा हुने निर्वाचनमा ‘समाजसेवा र पारदर्शिता आजको आवश्यकत’ भन्ने नाराकासाथ उभिने जानकारी दिए । झण्डै दुई दशकदेखि कोरियामा ब्यवसाय गर्दै आएका उनि एनआरएन कोरियाको सदस्य हुँदै उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदसम्म पुगेका हुन् ।

उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘मैले कोरियामा सामाजिक कामको साथसाथै सकारात्मक सोच र पारस्परिक सहयोगका आधारमा थुप्रै राम्रा काम गर्दै आएको छु, अध्यक्षमाम निर्वाचित हुन सके यो भन्दा निकै राम्रा काम गर्नेछु । निरन्तर समाज सेवामा लाग्नेछु । त्यसैले मलाई सबैको साथ र सहयोग चाहिएको छ ।’

एनआरएन दक्षिण कोरियाको ७औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार वरिष्ठ उपाध्यक्ष गुरुङले निर्वाचनको तयारी स्वरुप ६ बूँदे एजेण्डाहरु अगाडि सारेका छन् । यस्ता छन् गुरुङका ६ बूँदे एजेण्डा ।

१– एनआरएन दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने ।

सर्वप्रथम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने । दर्ताका लागि धेरै प्रकृया अगाडि बढीसकेको । संस्थालाई कानुनीरुपमा कोरियन सरकारमा दर्ता गरेर हाम्रो समूहले विगतमा भन्दा धेरै र भिन्न प्रकारका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्ने ।

२– कानुनी, आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने

कोरियामा रहेका विभिन्न संघसंस्थाहरु, एनआरएनएका क्षेत्रिय पदाधिकारी, बुद्धिजिवी, श्रमजिवी, विधार्थी, व्यवसायी तथा सम्पूर्ण सञ्चारकर्मीहरुसंग मिलेर यहाँ रहेका नेपालीहरुको हकहित, कानुनी समस्या, तनाव तथा विरामीहरुको उपचारार्थ आर्थिक तथा कानुनी सहयोग र समस्या समाधान गर्ने ।

दूतावास र कोरियन सरकारसँग मिलेर हामी सबै एकजुट भएमा धेरै राम्रा कामहरु गर्न सकिन्छ । यसमा मेरो विशेष जोड रहनेछ । कोरियामा नेपालीहरुको संख्या वृद्धि भएसंगै प्रत्येक महिनामा विभिन्न घटानाहरु भइरहेका छन् । र यसको समाधान गर्नका लागि उपयोगीमूलक कार्यक्रमहरु र परामर्श सेवा प्रदान गरिने ।

३– अक्षयकोष स्थापना

दुई बर्षीय कार्यकालमा नेपालमा रहेका पीडित, असक्त, वृद्ध, पिछडिएका वर्ग, गरिब तथा जेहेन्दार विधार्थीहरुलाई सक्दो सहयोगका लागि आर्थिक संकलन, आवश्यक सहयोग र यसका लागि ५० लाखदेखि १ करोडसम्मको अक्षयकोष निमार्ण गरिने छ । साथै यसबाट आएको ब्याजले नेपालमा रहेको दुःखी पीडितको सहयोग गरिने ।

४– एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

एनआरएनए कोरियाले एनआरएनए र आईसिसिसँगको सहकार्यमा पहिलो पटक ऐतिहासिक एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने । त्यसका लागि कोरियामा रहेका संघ संस्थाहरुका प्रतिनिधिहरुसंग सहयोग र सल्लाह लिइने ।

५– स्वदेशमा लगानीको वातावरण बनाउने

कोरियामा आर्जन गरेको शिप र पूजींबाट आफ्नै देशको समृद्धिको लागि एउटा बृहत सेवामूलक तथा आयमूलक कोरियन परियोजना निर्माण गरि नेपालीहरुको जीवनस्तर माथि उकास्न पहल गर्ने । यसका साथै संसारभरि छरिएर रहेका एनआरएनएका अति सफल तथा विशिष्ट व्यक्तिहरुसंग मिलेर नेपालको कृषि, पर्यटन, होटल व्यवसाय तथा हाइड्रोपावर जस्ता आयमूलक परियोजनामा कोरियाबाट पनि लगानी गर्नका लागि सेमिनारहरुको आयोजना गर्ने । साथै आफ्नो लगानी निश्चित रुपमा नफस्ने ग्यारेन्टी हुने गरी निती नियमहरु बनाउने ।

६– संस्थाको गतिविधि पारदर्शी बनाउने

एनआरएन कोरियाको गतिविधिहरु तथा हिसाब किताबलाई पारदर्शी बनाईने । साथै संस्थाको वेवसाइट तथा फेसबुक पेजद्वारा अपडेट गराईने । संस्थालाई कसरी स्वच्छ र मर्यादित बनाउने भन्ने विषयहरुमा गम्भीर भएर अगाडी बढ्ने । यस संस्थामा रहेर विगतमा गरेका आफ्ना केहि राम्रा कामहरुलाई थप निरन्तरता दिदै यस संस्थाको गरिमालाई उच्च कायम बनाइ राख्न अझ अगाडि बढ्ने ।

यसका लागि एनआरएनका पूर्व अध्यक्षहरु, आईसिसि प्रतिनिधिहरु, डिआरसी, एसिया प्यासिफिक प्रतिनिधि एवं वर्तमानका सम्पूर्ण कार्यसमिति र कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुबाट सहयोग प्राप्त हुने विश्वास गर्दै उनिहरुको आवश्यक सल्लाह लिने ।

प्रतिक्रिया