‘श्वेतपत्र’ नियाल्दा

‘मानिषाद प्रतिष्ठात्वं मगम शाश्वतिः समा
यत् क्रौञ्च मिथुनादेक मवधीः काममोहितम्’

संस्कृतका आदिकवि वाल्मीकि क्रौंञ्चबधको आहत स्वर सुनेर र त्यसबाट प्रभावित र प्रेरित भएर अकस्मात उनको मुखबाट माथि उल्लेखित श्लोकको प्रस्फूटन भयो र उनले वाल्मीकि रामायण लेख्न पुगे जुन कालजयी कृतिको रूपमा विश्वविख्यात् भयो । अतः कुनै काव्यकृतिको प्रणयनको प्रभाव एवं प्रेरणाको स्रोत कहीं न कहींबाट हुने गर्दछ । नेपालीभाषी कवि खेमनाथ दाहाल पनि आफ्नो काव्यकृति ‘श्वेतपत्र’ को प्रभाव एवं प्रेरणाको स्रोत एकान्तमा बसेर गफिने तीन बहिनीको संवादबाट सुरु भएको स्वीकार्नु हुन्छ । उहाँको स्वीकारोक्ति यसरी स्पष्ट रूपमा अभिव्यक्त भएको छः–
‘जब थाले म यो लेख्न सोचे धेरै कुराहरू
अतीव गोप्य यो वार्ता भंग गर्दा झनै अरु
दारा किटेर यी माथि दागा धर्नेहरू कन
हुन सक्नेछ यो काव्य गतिलो थप इन्धन ।’

समीक्ष्य काव्यलाई काव्यकारले महाकाव्य भनेका छन् । अतः महाकाव्यको बारेमा केही कुरा भन्न यहाँ प्रासंगिक नै होला । संसारको साहित्यमा महाकाव्य लेखनको लामो परम्परा भएता पनि अचेल महाकाव्य लेखन प्रचलन धेरै कम हुँदै गएको छ । मित्रराष्ट्र भारतमा पनि महाकाव्य लेखनको मात्रा अहिले कम हुँदै गएको छ । तर, नेपाली साहित्यमा महाकाव्य लेखन परम्परा अद्यापि अभिनन्दनीय कुरा हुन सक्दछ । यस परम्पराको निर्वाहमा खेमनाथ दाहालको नाम आदरका साथ लिन सकिन्छ ।

महाकाव्यको तीन श्रेणी मानिएको छ (१) महाकाव्य (२) खण्डकाव्य तथा (३) मुक्तककाव्य । छैठौँ शताब्दीमा दण्डीले आफ्नो ‘काव्यादर्श’ मा महाकाव्यको लक्षणमाथि यसरी प्रकाश पार्नुभएको पाइन्छः–

सर्गबन्धो महाकाव्यमुच्यते तस्य लक्षणम्
आर्शीनम स्क्रियावस्तु निर्देशो वपि तन्मुखम्
इतिहास कथोद्भू तमितरद्वा सराश्रयम् ।
चर्तुवर्ग फलायन्तं चतुरोदान्तनायकम् ।
नगरार्णवशैलर्तु चन्द्रार्कोदय वर्णनैः ।
मन्त्रदूत प्रमाणा जि नायकाभ्युदयैरपि ।
अलंकृतम संक्षिप्तं रसभाव निरन्तरम् ।
सर्गैरनति विस्तीर्णैः श्रव्यवृतैः सुसंधिभिः ।
सर्वत्र भिन्न वृत्तान्तैरूपेतं लोकरंजनम्
काव्यं कल्पान्तरस्थायि जायते सदलंकृतिः ।

यसको आशय के हो भने महाकाव्य ठूलो ठूलो सर्गमा विभक्त हुनुहुँदैन । यसको आमुखमा आर्शिवाद, देव नमस्कार अथवा ग्रन्थको कथावस्तुलाई सुसूचित गर्ने खालको पद्य हुनुपर्दछ । यसको कथानक इतिहास, कथा अथवा अन्य सदवृन्तमाथि आश्रित हुनुपर्छ । महाकाव्यमा धर्म, अर्थ, काम तथा मोक्षचार पुरुषार्थहरूको उल्लेख हुनुपर्दछ । यसको नायक चतुर र उदात्त हुनुपर्दछ ।

अर्थात् धीरोदात्त नायक हुनुपर्छ । नगर, पर्वत, श्रृतु चन्द्रोदय तथा सूर्योदयको रूपमा प्रकृति वर्णन होस्, बगैँचा विहार, जलक्रीडा र मधुपान आदिको रूपमा चाडपर्वको वर्णन होस्, विप्रलभ्भ, विवाह, कुमार जन्म आदिको रूपमा पारिवारिक जीवनको चित्रण होस् तथा सर–सल्लाह, दूतप्रमाण, युद्ध नायकाभ्युदय आदिको रूपमा सामाजिक अथवा राजनैतिक जीवनको चित्रण होस् । महाकाव्य आकारप्रकारमा सानो हुनुहुँदैन । अलंकार, रस तथा भाव हुनु आवश्यक छ, किनकी लोकरञ्जन उसको मुख्य लक्षण हो ।

लगभग यो सबै लक्षण अग्निपुराण, काव्यालंकार र सरस्वती कन्दाभरण आदिमा दिइएको छ तर सविस्तार यसको निरूपण पन्ध्र्राँै शताब्दीमा विश्वनाथले आफ्नो ‘साहित्य दर्पण’ मा दिनुभएको छ । यसमा सर्ग संख्या न्यूनतम आठ दिइएको छ तर, इशान संहितामा न्यूनतम सर्ग संख्याको अतिरिक्त अधिकतम संख्या पनि दिइएको छ र पद्यसंख्या पनि तीसदेखि दुई सयसम्म निश्चित गरिएको पाइन्छ । अचेल महाकाव्य लेख्ने परिपाटी परम्परागतको साथैसाथ अप्पनातन हुन गएको छ । अहिले पौराणिक र ऐतिहासिक विषयवस्तुको निर्वाह पनि गरिन्छ महाकाव्यमा किनभने अचेल राजनीति नै सबैथोकको निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

समीक्ष्य महाकाव्य राजनीतिमा केन्द्रित छ त्यसमा पनि छिमेकी मुलुकहरूको राजनैतिक व्यवस्था र नीतिसित असहमति जनाउनमा यसको कथानकको बनौट गरिएको छ । यसलाई पन्ध्र्रसर्गमा विभक्त गरिएर यसको कथावस्तुलाई अग्रसारित गरिएको छ । यी सर्गहरू हुन् सर्ग एकमा आपस्तका कुराहरू सर्ग दुईमा उद्भव र संस्कारका कुराहरू सर्ग तीनमा सिक्किमे गुनासो सर्ग चारमा नेपालको उक्तिसर्ग पाँचमा नेपालका वेदनाहरू सर्ग छमा सिक्किमको भनाई सर्ग सातमा राजतन्त्रका कुरा सर्ग आठमा सिक्किमे सन्तानको प्रश्न सिक्किम आमासँग, सर्ग नौमा सिक्किम आमाको प्रत्युत्तर, सर्ग दशमा सन्धिको दुर्गन्ध सर्ग एघारमा भुटानी शरणार्थीको सन्देश भुटान आमालाई सर्गबाह्रमा भुटानी आमाको सन्देश शरणार्थी सन्ततिलाई सर्ग तेह्रमा सिक्किम विलयको कथा सर्ग चौधमा हिमालयको कथा सर्ग पन्ध्रमा उद्घोषण रहेको छ ।

महाकाव्यकारलाई आफ्नो देश नेपाल र अन्य देशजस्तो भूटान र सिक्किम राज्यको राजनीतिक व्यवस्था, परिस्थितिजन्य दुरावस्था तथा त्यहाँका शासकको बानी व्यहोरासित गुनासो छ । यसै गन्थनमन्थनमा यस ग्रन्थको कलेवरको निर्माण गरिएको छ । खेमनाथ दाहालको साहित्यिक तथा राजनैतिक चिन्तनमननको प्रतिफल हो महाकाव्य । महाकाव्यकारको मानसिकतामा राजनैतिक संचेतना घनीभूत भएको प्रष्ट पाइन्छ । राजनीतिको रसरंगमा पनि होइन राजनीतिको नीरस विषयवस्तुको प्रतिपादनमा उहाँको लेखनी व्यस्त भएको पाइन्छ ।

नेपाल, भूटान र सिक्किम तीन पात्रहरूको सृजना गरेर महाकाव्यकार यिनीहरूको गुनासो र गन्थनलाई अभिव्यक्त गर्नु नै महाकाव्यकारको मुख्य उद्देश्य रहेछ । भूटानका वर्तमान राजवंशभन्दा तीन सय वर्ष पुरानो अहिलेका शरणार्थीको बसोबास रहेको कुरो यहाँ सिद्धगर्ने कोसिस गरिएको छ । तिनीहरू नै त्यहाँका आदिवासी हुन् भनेर किटान साथ महाकाव्यकारले भूटानलाई भनेको भित्रीकुरालाई यहाँ उजागर गर्ने कोसिस गरिएको छ । यद्यपि, यसको कुनै ऐतिहासिक साक्ष्य दिइएको छैनः–

‘यो वाङचुक राजाको वंशानुगत राजको
उदय हुनुभन्दा त झण्डै त्रिसय वर्षको
इतिहास पुरानै छ नेपाली मूलको यहाँ
आदिवासी तिमीनै हौ सत्यवात यथार्थमा ।’

भूटानी शरणार्थीको बिलौना हृदयस्पर्शी छ । शरणार्थीको वास्तवमा कुनै देश हुदैन । तसर्थ शरणार्थी शरणागत भएको आफ्नो परतन्त्र परिस्थितिको पर्दाफास गर्नका लागि विवश हुन्छन् र अन्त्यमा प्रण गर्दछन् कि हामी तिम्रो काख छाडेर आफ्नो देशमा छिटो फर्किन्छौ । महाकाव्यकारको सहानुभूति पनि स्वतः यी शरणार्थीप्रति अभिव्यक्त भएको छः–

‘आमा नेपाल थाहै छ हामी आएर दुःखमा
तिम्रा साथ बसेका छौँ शरणार्थी निवासमा
तिमीमाथि छ यो बोझ यो कुरा पनि बुझ्दछौ
यथाशक्य छिटो आमा फर्कने प्रण गर्दछौँ ।’

महाकाव्यकारको कथनसित सहजै सहमत हुन सकिन्छ । उहाँको विचार स्पष्टरूपमा यी पंक्तिहरूमा व्यक्त भएको छ कि यी तीनवटै मुलुकलाई राजतन्त्र किन फाप्दै फापेन जस्तोः–

‘किन फापेन राजको छत्रछाया कतै पनि
लाग्यो मात्र सदा सेप ठूला यो वृक्षको मुनि
जहिले पनि हामी नै दरिद्र देशका भयाैँ
खाली यो भेगका हामी निरपेक्ष दुःखी भयौँ ।’

महाकाव्यकारलाई राजनैतिक चेतनाको साथसाथै ऐतिहासिक चेतनाको ज्ञान पनि प्रशंसनीय छ । राजतन्त्रको उद्भव विकास र अन्त्यको पनि ज्ञान छ । एसिया र युरोपमा राजतन्त्रको इतिहासको आदि र अन्त्यको कथा पनि उहाँलाई पूरा थाहा छ । अधिक देशमा राजतन्त्रको छत्रछायाँ छताछुल्लरूपमा व्याप्त थियो तर अचेल राजतन्त्र नासिन थालेको छ ।

छिटो गतिमा र जहाँ राजतन्त्रको बिगबिगी थियो त्यहाँ लोकतन्त्रको लालिमा छाउन थालेको छ किनभने राजतन्त्रले विश्वलाई विभक्त गरेको धेरै पुरानो इतिहास हामी समक्ष छ । महाकाव्यकारलाई महाआशा छ कि भूटानमा पनि एक न एक दिन राजतन्त्रको अवसान अवश्य नै हुनेछ किनभने तिनीहरू अस्तित्वमा रहेसम्म जनता सुखी र सम्पन्न हुन सक्तैनन् ।

‘रक्त पिपासु मान्छेका नाइके तिनको अझै
बाहुल्य रहँदासम्म हुन्न मुक्ति कहीँकतै
कुठाराघात गर्ने ती निर्दयी निष्ठुरीहरू
अस्तित्वमा रहेसम्म सुखी हुन्छन् कहाँ अरू ।

महाकाव्यकार दाहाल भूटानमा मानव अधिकारको सघन उल्लघंन दिनानुदिन हुँदै गएकोमा पनि कुपित एवं क्रोधित हुनुहुन्छ । जुन देशमा मानव अधिकारको हनन, मानवीय मूल्य र मान्यताको ह्रास तीव्र गतिमा हुन थाल्दछ त्यस देशमा क्रान्तिको लहरलाई कसैले रोक्न सक्तैन । यसका लागि महाकाव्यकार आशावादी हुनुहुन्छ अनि यसरी अभिव्यक्ति दिनका लागि बाध्य एवं विवश हुनुभएको छ ।

‘सीमाभित्र सबै पर्ने मानव अधिकारका
संघ सस्थाहरूद्वारा पारित व्यवहारका
सबै मूल्य र मान्यता पूरा हुन्न भने यदि
अवश्य क्रान्तिका लागि ढोका खोलून् यहाँ पछि ।

सिक्किमको विलयमा तीन महिलाहरूको व्यामोहलाई महाकाव्यकारले व्यक्त गरेको देखिन्छ । महिला शासक पनि धेरै महत्वाकांक्षी हुन्छन् भनेर उहाँले स्पष्ट शब्दमा उद्घोष गर्नुभएको छ । शासक महिला हुन् अथवा पुरुष सबै सत्ताको स्वाद लिनमा माहिर हुन्छन् । यहाँसम्म कि तानाशाह पनि हुने गर्दछन् । इतिहास यसको सही साक्षी भएको छ । अतः महाकाव्यकार दाहालले यिनीहरूको महत्वकांक्षालाई यसरी मुखरित गर्नुभएको छः–

‘इन्दिरा, इलिसा, होप यी तीन महिलाहरू
लालयित थिए साह्रै राज गर्न ममा अरू
संयोग तीन स्त्रीको यो जुटायो कालखण्डले
यिनको कृत्यको चर्चा बिर्सिदैन यो देशले ।’

महाकाव्यकार दाहाल नेपाल र सिक्किममा राजतन्त्र किन नाश भए त्यसको खुलासा गर्नु हुन्छ । यसमा शासन गर्ने राजाहरू आफ्नो मानमर्यादा र महत्व बुझेनन् र जनतालाई दु ःख दिनुबाहेक केही गरेनन् । तसर्थ, यिनीहरू पदच्युत र सत्ताच्युत हुन पुगे । उहाँको अभिव्यक्ति यस सन्दर्भमा हेरौः–

‘सिक्किम अनि नेपाल दुवै हामीहरू पनि
केही बखतमा भन्थ्यौ प्रिय भूपाल छन् भनी
टिकेनन् तर ती आफँै सत्ताच्युत भए अनि
बुझेनन् तिनले आफ्नो मर्यादा मान यो भनी’

महाकाव्यकार दाहालको अभीष्ट एवं अभिप्रेत के छ भने हिमालका तीन छोरीहरू नेपाल, सिक्किम र भूटान सबै एकआपसमा मिलेर हिमाली गणतन्त्रको स्थापनार्थ कृतसंकल्प होऔँ कटिबद्ध होऔँ, प्रतिबद्ध होऔँ अनिमात्र सबैको स्वत्रन्त्रता सुरक्षित रहन सक्तछ । उहाँको मुख्य उद्देश्य र सन्देश हो हिमाली गणतन्त्र । प्रत्येक महाकाव्यकारको आफ्नो एउटा सन्देश हुन्छ र उहाँको पनि यही सन्देश छ जसलाई पाठकसमक्ष संप्रेषित गर्नका लागि उहाँले श्वेतपत्रको संरचना गर्नुभएको छ । उहाँको शब्दमाः–

‘भरिसक्के सबै आओ हिमाली गणतन्त्रमा
नभए पनि मौलाओ बचाई स्वत्व माझमा
त्यसैले अब ती तिम्रा दिदी बैनी दुवैकन
सम्झाऊ बात मेरा यी एक–एक गरी कन ।’

प्रतिक्रिया