बेहाल सडक हेर्न पर्यटक आउलान् र !

दोलखा । देशभरि नेपाल भ्रमण वर्षको तयारी भइरहेको वेला दोलखाका मुख्य सडकहरू हिलाम्य भएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन के गर्नुपर्छ भन्ने सुझाव दोलखाका व्यवसायीहरूसँग लिने हो भने एउटै जवाफ आउँछ, ‘यस्ता बेहाल सडक हेर्न पर्यटक आउलान् र ?’

दोलखा पर्यटकीय क्षेत्रमा पछिल्लो समय परिचित हुँदै जान थालेको छ । कालिञ्चोक भगवती मन्दिर पर्यटक रोजाइमा पर्दै गएको वेला नेपाल भ्रमण वर्षमा मन्दिर पुग्न नै कठिन बन्ने देखिएको छ ।

लामोसाँघु–चरिकोट ५५ किलोमिटर सडक हेर्दा यस्तो लाग्छ, धान रोप्न तयार पारेको खेतजस्तो देखिन्छ । गाडी चल्नुको त के कुरा जेसिबीले तानेर यातायातका साधन सडक पार गराउनुपर्ने अवस्था रहेको छ । चार वर्षअघि यो सडक स्तरोन्नति गर्न सुरु गरिएको हो, तर अहिलेसम्म सडक खनेर छाडिएको छ, बेहाल सडकका कारण काठमाडाैंबाट चरिकोट पुग्न ८÷१० घन्टा लाग्ने गरेको छ ।

चरिकोट पुगेपछि कालिञ्चोक मन्दिर पुग्ने १७ किलोमिटरको बाटो पनि त्यस्तै छ । कसरी आउँछन् दोलखामा पर्यटक । कसरी पुग्लान् कालिञ्चोक । चिन्ताको विषय रहेको चरिकोटका होटल व्यवसायी पुस्कार अधिकारीले बताए । नेपालको स्विट्जरल्यान्ड मानिने जिरी पनि पर्यटकको रोजाइमा पर्दै आएको छ तर चरिकोटबाट जिरीसम्म पुग्ने ५८ किलोमिटर सडकको अवस्था पनि बेहाल छ । अर्को पर्यटकीयस्थल शैलुङ अनि खरिढुंगामा पनि पर्यटक जान रुचाउँछन् । तर, त्यहाँसम्म पुग्ने सडकको हालत देख्यो भने दिक्क लाग्छ ।

धेरै पर्यटक घुम्ने सूचीमा रहेका दोलखाका पर्यटकीय स्थान खराब बाटोकै कारण ओझेलमा पर्ने र यसले भ्रमण वर्ष सन् २०२० लाई पनि असर पार्न सक्ने जिल्लावासीको डर छ । यस सडकको जिरोकिलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले र २५ किलोमिटरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएका छन् । लामोसाँघु चरिकोट सडकका कारण नै नेपाल भ्रमण वर्षको प्रभाव दोलखामा खासै नपर्ने हो कि जस्तो देखिन्छ ।

प्रतिक्रिया