टी–२० विश्वकप क्रिकेट छनोटमा कतारसँग नेपाल पराजित

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल कतारसँग ४ विकेटले अप्रत्यासित हार बेहोरेको छ । नेपालले खेल खराब सुरुवात गरेको हो । सिंगापुरमा भएको प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै झट्का लाग्यो ।

६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको थियो ।ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्यो ।

कप्तान र उपकप्तानले ५।६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे । उनीहरु आउट भएपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।

जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो । एक समय २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो । त्यतिबेलासम्म नेपाललाई निकै ढिला भइसकेको थियो । मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई चार बल बाँकी छँदा जित दिलाए ।

प्रतिक्रिया