किसानलाइ धान रोप्न हतारो

फोटो सौजन्यः डेबिड ओझा, पाँचथर

पाँचथर । जिल्लाका किसानलाई अहिले धान रोप्ने चटारो परेको छ । खेतीयोग्य खेतमा १५-२० दिन अगाडि नै रोपाइँ सकिनुपर्नेमा लामो खडेरी परेकाले अहिले चटारो परेको हो । असारको तेस्रो सातादेखि पानी पर्न थालेकाले खडेरीमा फूर्सदिला बनेका किसान अहिले व्यस्त छन् ।

असार मसान्तसम्ममा यहाँ ६० प्रतिशत रोपाइँ सकिन्थ्यो । अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी नरहरि निरौलाले बताए । अहिले नागीन, भारापा, फिदिम, फाक्तेप, लिम्बा, आङ्सराङलगायत क्षेत्रका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ । धान रोप्ने किसान २० असारसम्म वर्षा नहुँदा धान रोप्न नपाइने हो कि भन्ने चिन्ताले पिरोलिएका थिए ।

ढिलै भए पनि भएको वर्षाले किसान धेरै खुसी देखिन्छन् । पाँचथरका माथिल्लो लेक क्षेत्रमा १५ जेठदेखि मसान्तसम्ममा रोपाइँ सकेर किसान गोडमेलमा व्यस्त हुन्थे । धेरै खेत रहेका मध्य भागमा, साउन मसान्तसम्ममा सक्नुपर्नेमा अझै धेरै क्षेत्रमा बाँकी छ । यसै क्षेत्रका किसानलाई चाँडै रोपाइँ सक्ने हतारो परेको हो ।

एकैपटक धेरै किसानको रोपाइँ हुँदा कृषि श्रमिकको अभाव सिर्जनासमेत भइरहेको छ । यहाँको औल क्षेत्रमा साउनको तेस्रो सातासम्म रोपाइँ हुने गरेको छ । पाँचथरमा ९ हजार २ सय ३ हेक्टरमा १३ हजार ५५ किसानले धान खेती गर्ने गरेका छन् । गत वर्ष पाँचथरमा १९ हजार ७ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसपाली लामो खडेरीका कारण मकैबालीमा ह्रास आएको छ । साउनमा साना खोलाहरूमा बाढी आउने गरी पानी नपरेमा अधिकांश किसान रोपाइँबाट वञ्चित हुने देखिएको अधिकांश किसानको भनाइ रहेको पाइन्छ ।

प्रतिक्रिया